सिन्धुली । मौलिक कला संरक्षण गर्ने र कला घर निर्माणको महाअभियानमा हातेमालो गर्ने उद्देश्यले सिन्धुलीमा ‘राष्ट्रिय कला महोत्सव’ गरिने भएको छ । यहि चैत २८ गतेदेखि बैशाख ३ गतेसम्म कलाघर सिन्धुलीको आयोजनामा महोत्सव गर्न लागिएको कलाघर सिन्धुलीले जनाएको छ ।
शुक्रबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै कला घर निर्माण अभियानका संस्थापक एवम् कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिएका छन ।
मौलिक कलाको संरक्षण गर्न, कलाघर निर्माणको महाअभियानलाई सहयोग पु¥याउने, कला सिर्जनाको आविस्कार केन्द्र तथा सांस्कृतिक विद्यालयको रुपमा विकास गर्ने, कलाकारहरुको आश्रमको रुपमा कलाघरलाई विकास गर्ने उद्देश्य सहित महोत्सवको आयोजना गरिएको थापा मगरले बताए ।
थापाले महोत्सवमा रैथाने संस्कृति, रैथाने खाना र रैथाने खेललाई प्रवद्र्धन गर्ने उद्देश्य समेत राखिएको जानकारी दिए ।
नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔं, नेपाली मौलिक कला संस्कृतिमा रमाऔं भन्ने नाराका साथ कमलामाई नगरपालिका वडा नं. ३ चपौलीमा रहेको कलाघर सिन्धुलीमा नै महोत्सवको आयोजना गरिने भएको छ ।
महोत्सवमा १२ जातजातीको कला, संस्कृति, पोषाक, परिकार र झाँकी प्रदर्शन गरिने छ । ती पहिचानसँग फोटो खिच्न पाईने छ । नेपाली मौलिक परम्परा झल्कने घरका नमुना , मौलिक परिकारहरु प्रदर्शनीमा रहनेछन । मौलिक परिकारहरु खान पाईने व्यवस्था गरिने छ ।
यस्तै महोत्सवमा विभिन्न मौलिक खेलकुद प्रतियोगिता गरिने छ । हस्तकला, चित्रकला, मूर्तिकला लगाएतका कलाको प्रदर्शन र व्यापार गरिने छ । कलाघरका अध्यक्ष थापाले विद्यार्थीहरुले निर्माण गरेका विज्ञान तथा कलाहरुलाई समेत महोत्सवमा स्थान दिने बताएका छन ।
यस्तै जिल्लाका विद्यालय स्तरीय नृत्य, गायन, चित्रकला लगाएतका प्रतियोगिताहरु गरिने छ । मार्शल आर्टका विभिन्न खेलहरु हुने छन । स्थानीय कृषि उत्पादनको प्रदर्शनी तथा विक्री वितरण पनि महोत्सवमा गरिने छ ।
राष्ट्रिय कलाकारहरुको प्रस्तुतिहरु पनि राखिने छ । स्थानीय तह, प्रदेश सरकार र संघिय सरकारका प्रतिनिधि, प्रमुखहरुको उपस्थिति रहने छ । कला महोत्सवमा सहभागि हुनेले कलाघर निर्माणमा सहयोग गर्न, कला दान गर्न सक्नेछन । विशेषगरि कलाघर र सिन्धुलीगढीलाई जोडेर प्रचार प्रसारमा समेत सहयोग पुग्ने आयोजकले विश्वास लिएको छ । पाँच दिनमा जिल्ला र जिल्ला बाहिरका गरि १० हजारभन्दा बढी दर्शकले कला महोत्सवको अवलोकन गर्ने आँकलन कलाघर सिन्धुलीको छ । कला महोत्सव हेर्नका लागि १ सयको टिकट राखिने छ । यहाँका कलाहरुको अवलोकन, प्रचार प्रसार र प्रवद्र्धनमा महोत्सव फलदायी हुने विश्वास लिईएको थापा मगरले बताए । उनका अनुसार महोत्सव आयोजना गर्न १० लाख लागत लाग्ने अनुमान गरिएको छ ।
महोत्सव सम्पन्न गर्न जिल्लाका नौ वटै स्थानीय तहसँग समन्वय सहकार्य गरिने छ । स्थानीय संघसंस्था, सुरक्षा निकाय, स्वास्थ्य संस्थाहरु, व्यवसायीहरु, खेलकुद, कलासँग सम्बन्धित संघसंस्थाहरु लगाएतसँग सहकार्य गरिने छ ।
कला महोत्सवमा कलाघरलाई स्थापनाकालदेखि आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्ने संघसंस्था, सञ्चारकर्मी, सरकारी निकायलाई सम्मान गरिने कार्यक्रम रहेको छ । कलाघर निर्माणमा जग्गा खरिद अभियानमा सहयोग गर्ने सहयोगीदातालाई आजिवन तथा विशिष्ट सदस्यता वितरण गरिने पनि थापाले जानकारी दिएका छन ।
यस्तै कला महोत्सवमा कलादान अभियान सञ्चालन गरिने छ । क्षेत्रगत आधारमा सिन्धुली जिल्लामा क्रियाशिल मौलिक झाँकी संस्कृति समूहहरुलाई सम्मान समेत गरिने छ । पुराना मौलिक संस्कृतिको संरक्षण गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गरि महोत्सव गरिने छ ।