काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले घरायसी कामको दौरान काम गर्ने क्रममा दायाँ आँखामा गम्भीर चोट लागेकी यू–१६ महिला फुटबल खेलाडी समीक्षा मगरको सम्पूर्ण उपचार खर्च बेहोर्ने भएको छ ।
एन्फाका केन्द्रीय सदस्य तथा प्रवक्ता किरण राईले समीक्षाको उपचार भइरहेको विराटनगर आँखा अस्पताल पुगेर उनलाई भेटेरै उपचारको सम्पूर्ण खर्च एन्फाले बेहोर्ने घोषणा गरेका हुन् । समीक्षाको गत १२ वैशाखमा काम गर्ने सिलसिलामा ढुंगाले लाग्दा आँखामा चोट बोक्न पुगेको थियो । त्यसयता, उनी उपचाररत् छिन् ।
एन्फाले सुरुवातमा २५ हजार रुपैयाँ मात्रै सहयोग गरेपछि चौतफी विरोध भएको थियो । तर, प्रवक्ता राईले समीक्षाको आर्थिक अवस्था कमजोर रहेको र सुरुवातमा आर्थिक समस्या नहोस् भनेर नै एन्फाले प्रारम्भिक चरणमा २५ हजार रुपैयाँ सहयोग गरिएको र यसलाई केही साथीहरूमा भ्रम परेको बताए । ‘केही साथीहरूमा समीक्षाको उपचारमा एन्फाले २५ हजार मात्रै सहयोग भन्ने भ्रम परेको देखियो । त्यस्तो होइन, समीक्षाको उपचारको सम्पूर्ण खर्च एन्फाले नै बेहोर्नेछ ।’ प्रवक्ता राईले भने, ‘हामीले प्रारम्भमा खर्च चलाउन रकम उपलब्ध गराएको हो ।
यो अन्य खेलाडीमा गराएको थिएन । समीक्षामा नै पहिलोपटक गरिएको हो । उनको परिवारलाई ढुक्क हुन र समीक्षाको शीघ्र स्वाथ्यलाभको कामना गर्दछु ।’ यस्तै, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले अस्पतालमा पुगेरै समीक्षाको उपचारका लागि व्यक्तिगत रूपमा २५ हजार रुपैयाँ सहयोग गर्दै महानगरपालिकाले जुनसुकै सहयोग गर्ने र उनको उपचारमा केही कमजोरी हुन नदिने बताएका छन् । प्रशिक्षक भगवती राना मगरले चिकित्सकका अनुसार समीक्षाको आँखाको दृष्टि फर्कन नसक्ने बताएका छन् । प्रशिक्षक रानाले अहिले समीक्षाको आँखाको घाउको इन्फेक्सनलाई कम गर्ने प्रयास भइरहेको र त्यसपछि अप्रेसनमा लगिने थपिन् । समीक्षाले विद्यालयस्तरीय क्विक्स कप खेलेकी थिइन् ।
समीक्षाको उपचारका लागि एन्फासँगै विराट सांग्रिला स्पोर्टिङ क्लबले समान २५ हजार, नेपाली महिला राष्ट्रिय फुटबल टोली र महिला विभाग प्रमुख तथा महिला राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक हरि खड्का र अफिसियलले संयुक्त रूपमा ५० हजार पुरस्कार दिने घोषणा गरेको थियो । पुरुष फुटबल टोली, पुरुष साग यू–२३ टोली र ‘ए’ डिभजन क्लब मनाङ–मस्र्याङ्दी क्लबले समीक्षाको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । शनिबार र नेपाली राष्ट्रिय महिला टोलीले समीक्षालाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।
यस्तै, नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले ३० हजार रुपैयाँ र १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्णपदक जित्न सफल नेपाली यू–२३ पुरुष टिमले १० हजार रुपैयाँ, ‘ए’ डिभिजनको मनाङ–मस्र्याङ्दी क्लबले ३० हजार रुपैयाँ तथा फुटबल खेलाडी अनिता श्रेष्ठले २६ हजार रुपैयाँ सहयोग गरेका छन् ।






