लोडसेडिङमा पनि ऊर्जामन्त्रीको राजनीति

काठमाडौं । ऊर्जा तथा जलस्रोतमन्त्री दीपक खड्का र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लोडसेडिङजस्तो गम्भीर विषयमा पनि ‘वादविवाद’मा उत्रिएका छन् ।

ऊर्जामन्त्री खड्काले अब साँझको समयमा लोडसेडिङ हुने बताइरहँदा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भने सर्वसाधारणको घरघरमा लोडसेडिङ हुने परिस्थिति नभएको बताएका छन् ।

– साँझको समयमा घरायसी ग्राहकका लागि लोडसेडिङ हुने अवस्था छ : ऊर्जामन्त्री

– उद्योगमा मात्र रातिको समयमा लोडसेडिङ हुन्छ : कुलमान

ऊर्जामन्त्री खड्काले अब घरघरमा लोडसेडिङ हुने बताएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सोको प्रतिक्रिया दिँदै त्यो अवस्था नआउनेमा निर्धक्क हुन उपभोक्तासँग आग्रह गरेका छन् ।

ऊर्जामन्त्री खड्काले बुधबारको राष्ट्रिय सभा बैठकमा लोडसेडिङको अन्त्य भारतले गरेको दोहो¥याएका छन् । उनको यस्तो भनाइपछि सामाजिक सञ्जालमा ऊर्जामन्त्री खड्कामाथिको रोष बढ्दो छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने स्पष्ट पारेपछि लोडसेडिङदेखि आत्तिएका सर्वसाधारण भने खुसी भएका छन् ।

घिसिङले जस्तोसुकै कठिन परिस्थितिमा पनि घरायसी ग्राहकले लोडसेडिङ भोग्नुपर्ने स्थिति आउन नदिने बताउँदै उद्योगहरूको हकमा रातको समयमा लोडसेडिङ हुने परिस्थिति उत्पन्न भएको जानकारी दिएका छन् ।

घिसिङलाई असफल साबित गर्न ऊर्जामन्त्री खड्का लागिपरेको र उनले लोडसेडिङ हुन नदिनेमा सर्वसाधारण निश्चिन्त देखिएका छन् । घिसिङले पनि आफूलाई मन्त्री खड्काले पटकपटक स्पष्टीकरण सोधेको र भारतबाट आयात गर्नका लागि पनि व्यवधान खडा गरेको बताए । मन्त्री खड्काले जतिसुकै अवरोध गरे पनि आफू प्राधिकरणमा रहेसम्म जनताले लोडसेडिङ भोग्नु नपर्ने घिसिङको भनाइ छ ।

कार्यकारी निर्देशक घिसिङले सबै उद्योगमा लोडसेडिङ गर्नुपर्ने अवस्था नभएको तर डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिर्ने उद्योगमा भने आवश्यकतानुसार लोडसेडिङ हुने जानकारी दिए । उनका अनुसार भारतले पिक आवरमा बिजुली नदिएकाले यो अवस्था आएको हो ।

अहिले नदीमा आधारित पावरहाउसबाट उत्पादन कम भइरहेको र भारतबाट बिजुली आयात गर्न बाध्य भइरहेको उनले स्पष्ट पारे । रातको समयमा पावर प्लान्टहरू चलाइरहेकाले घरघरमा लोडसेडिङ नहुने भनाइ घिसिङको छ ।

ऊर्जामन्त्री खड्काले भने भारतबाट बिजुली आयात गरेर कृत्रिम रूपमा लोडसेडिङ अन्त्य गरिएको जिकिर गर्दै अब आयातलाई थेग्न सक्ने अवस्था नभएको दाबी गरे ।

अहिले पनि ८ सय २५ मेगावाट विद्युत् आयात गरेर नेपालको आपूर्ति धानिरहेको बताउँदै ऊर्जामन्त्री खड्काले भारतबाट आयातित विद्युत्का कारण लोडसेडिङ हटेजस्तो भएको जिकिर गरेका थिए ।

उनले भने, ‘हिजो पनि लोडसेडिङ थियो, आज पनि छ, हिजो पनि उद्योगधन्दातिर बत्ती कटौती गरेर घरतिर दिने काम गरिएको थियो, आज पनि त्यही छ, अहिले पनि ८ सय २५ मेगावाट विद्युत् भारतबाट आयात भइरहेको छ ।’

मन्त्री खड्काले उज्यालो नेपालका नायक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नभएको पनि जिकिर गरेका थिए । राष्ट्रिय सभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री खड्काले उद्योगको लाइन काटेर घरमा विद्युत् दिएपछि कुलमानले लोडसेडिङ अन्त्य भएको हल्ला फैलाएको आरोप लगाए ।

‘सरकारको शतप्रतिशत लगानी रहेको विद्युत् प्राधिकरणले ७ सय मेगावाट मात्रै उत्पादन गरेको छ, २ हजार ८ सय मेगावाट विद्युत् निजी क्षेत्रले उत्पादन गरेको छ, आज पनि विद्युत् आपूर्ति हुन सकेको छैन,’ खड्काले भने, ‘त्यसकारण उज्यालोको नायक भनेको उहाँ होइन है ! बरु यो धन्यवाद भारतलाई दिऊँ निजी क्षेत्रलाई दिऊँ, जसले हाम्रो आवश्यकता पूर्ति गरेको छ, त्यता धन्यवाद दिऊँ न भनेर निवेदन गर्न चाहेको हो ।’

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
त्रियुगाकाे प्रमुखमा कांग्रेस र उपप्रमुख एमाले विजयी, गाईघाटमा एमालेलाई कांग्रेसकाे टक्कर