काठमाडौं । ‘तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२५’ (निट फेस्ट) बिहीबारबाट काठमाडौँको थापागाउँ स्थित मण्डला थिएटरमा सुरु भएको छ । आगामी १२ चैतसम्म एक साता चल्ने यो नाटक महोत्सवको बुधवार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेले दमाहा बजाएर उद्घाटन गरिन् ।
रैथाने संस्कृतिको प्रवर्धन गर्ने उद्देश्य सहित आयोजना गरिएको यो नाटक महोत्सवको उद्घाटन समारोहमा स्थानीय कलाकारहरूले नेपाली मौलिक बाजाबाट रैथाने धुनहरू प्रस्तुत गरेका थिए ।
नाटकको उद्घाटन समारोहसँगै मण्डला थिएटरले बुधवार आफ्नै थिएटरको नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन ग¥यो । मण्डला थिएटरकी निर्देशक पशुपति राईको निर्देशनमा मञ्चित यो नाटकमा सोही थिएटरका कलाकारहरूले अभिनय गरेका थिए । यो नाटकमा रैथाने संस्कृतिलाई स्थान दिइएको थियो । नाटकको निर्मातामा विजय बराल रहेका थिए ।
महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले निजी थिएटरबाट यस्तो अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने खुसी कुरा भएको बताइन् । महोत्सवले नेपाली नाटकको विकासमा मद्दत पुग्ने विश्वास उनले व्यक्त गरिन् । यस्ता नाटक महोत्सवले नयाँ रँगकर्मीमा सिक्ने अवसर प्राप्त हुने भनाई उनले राखिन् । एक सातासम्म चल्ने यो महोत्सवमा आफूले पनि समय निकालेर केही नाटक हेर्ने प्रतिबद्धता उनले कार्यक्रममा जाहेर गरिन् । आफ्नो प्रतिष्ठानका तर्फबाट महोत्सवलाई सहयोग गर्ने उनको कथन थियो ।

यस्तै अर्का अतिथि तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तमछालीले आफू नाट्यकर्मी नभएर रंग क्षेत्रको कलाकार भए पनि रंगको नाता नाटकसंग पनि भएको बताए । उनले नेपालका रैथाने संस्कृतिलाई जोगाएर हामीले नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्छ भने । नेपाली चलचित्रमा आफ्नो राम्रो उचाइ बनाएका अभिनेता दयाहाङ राईको निर्देशनमा आयोजना भएको यो अन्तर्राष्ट्रिय नाटक महोत्सव भव्य रूपमा सफल हुनेमा आफू विश्वस्त रहेको कुलपति हार्तमछालीले बताए ।
यस्तै कार्यक्रमका अतिथि नेपाल नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन प्रवर्धनमा रैथाने संस्कृतिको ठुला देन रहेको छ भने । उनले पर्यटकहरू नेपालमा यहाँको रैथाने संस्कृति र जीवनशैली हेर्न आउने भएकाले आफूहरू सोही कारण प्रवर्धकको रूपमा यो अन्तर्राष्ट्रिय नाटक महोत्सवमा जोडिएको उनले बताए ।
महोत्सव निर्देशक दयाहाङ राईले आफू ग्रामीण क्षेत्रबाट रैथाने संस्कृतिमा हुर्किएर यो क्षेत्रमा आएकाले रैथाने संस्कृति प्रति अझै पनि उस्तै प्रेम भएको बताए । यो पटक महोत्सवमा आफूहरूले रैथाने संस्कृतिलाई मध्यनजर राखेर १२ देशका १७ वटा नाटक प्रस्तुत गर्न लागेको पनि उनले जानकारी गराए । यो महोत्सवका लागि चिन, जापान लगायतका देशका कलाकारहरू नेपाल आइसकेको र अन्य देशका कलाकार आउने क्रम जारी रहेको पनि उनले बताए । यो अन्तर्राष्ट्रिय नाटक महोत्सवको पहिलो र दोस्रो भन्दा तेस्रो संस्करणलाई अझ सशक्त बनाउन आफूहरूको प्रयास रहने पनि उनले बताए ।
यो नाटक महोत्सवको संयोजक केदार श्रेष्ठले १० वटा नाट्य संस्थाले संयुक्त रूपमा पहिलो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गरे पनि दोस्रो संस्करणबाट मण्डलाले आयोजना गर्न थालेका बताए । यस पटक यो महोत्सव काठमाडौँसँगै पोखरा, नारायण घाट र बेलबारीमा पनि आफूहरूले एकसाथ आयोजना गरिरहेको महोत्सव संयोजक श्रेष्ठले जानकारी गराए ।

महोत्सवमा नेपालसँगै जापान, भारत, चिन, जर्मनी, ट्युनेशिया, स्पेन, लिथुएनीया, इरान, बेलायत, स्कटल्यान्ड, नर्वे गरी १२ देशका नाटक मञ्चन हुँदै छन् । विभिन्न ११ मुलुकबाट यो महोत्सवका लागि १०० जना भन्दा बढी रंगकर्मीहरू नेपाल आउँदै गरेको पनि आयोजक पक्षले कार्यक्रममा जानकारी गराएको छ ।
यस पटक नाटक महोत्सवमा नाटक मञ्चनसँगै नाटक सम्बन्धी तीन वटा विमर्श र तीन वटा छलफल कार्यक्रम राखिएको छ । महोत्सवमा नेपाली रंगमञ्च र सिनेमाको मितेरी पथ, नेपाली मिडियाको आँगनमा रंगमञ्च, राजनीतिमा कला नीति, सिमली छायामा बसी, गाउँ गाउँमा सिंहदरबार, ठाउँ ठाउँमा थिएटर, लाइट अफ इन्डिजिनियस विजडम जस्ता शीर्षकमा विमर्श र छलफल कार्यक्रम राखिएको छ ।
यस्तै यही महोत्सवमा तीन वटा नाट्य कार्यशाला पनि आयोजना गरिँदै छ । हरेक दिन मञ्चन हुने नाटक हेरेर चित्रकारहरूले चित्रकला सृजना गर्नेछन् । ती चित्रकलालाई महोत्सव स्थलमा प्रदर्शन गरिने भएको छ ।
यसै गरी महोत्सवमा कविता वाचन कार्यक्रम तीन वटा राखिएको छ । कार्यक्रममा कविले कविता वाचन गरिरहँदा नाट्यकर्मीहरूले त्यसमा अभिनय समेत गर्नेछन् ।






