सनातन नेपालको अभियानलाई कमजोर बनाउने षड्यन्त्र र भारतको समर्थन

नेपालमा यतिबेला साँच्चिकै मरेको घोडालाई चाबूक लगाएर ब्युँताउने प्रयास हुँदै छ । अन्त्येष्टि सम्पन्न भइसकेको मृत व्यक्तिलाई सशरीर ज्युँदो बनाउँछु भन्ने सरहको नारा दिएर राजतन्त्र पुनस्र्थापित गरिनेछ भन्ने आवाज बुलन्द बनाइँदै छ । यो कति सम्भव छ भन्ने कुरो आफ्नै ठाउँमा छ । कुरो यत्तिकैमा सीमित छैन । त्यो मरेको घोडालाई ब्युँताएर त्यसको पिठ्युँमा शाश्वत एवं सजीव प्राणीलाई चढाएर शोभायात्रा निकाल्ने सपना पनि बाँडिँदै छ । सनातन धर्म भनेको शाश्वत र सजीव हो । राजतन्त्रसँग हिन्दू वा सनातन धर्म स्थापना गर्ने भनिँदै छ । के यो मरेको घोडालाई ब्युँताएर त्यसमा सजीव प्राणीलाई चढाएर सहर घुमाउँछु भने जस्तै भएन र ? वास्तवमा सनातन धर्मलाई कुनै मरेको घोडाको सवारी आवश्यक छैन र आफैंमा स्वच्छन्द ढंगले विचरण गर्न र फल्न फुल्न सक्छ भन्ने कुरो नबुझेको हो वा बुझेर पनि बुझ पचाइएको हो ? त्यो बुझ्नचाहिँ अलि कठिन नै छ । साँचो कुरो के हो भने एक शाश्वत एवं सजीव प्राणी अन्त्येष्टि भइसकेको आत्मासँग जोडिएका कारण त्यो सजीव प्राणीको अस्तित्वाधिकारसमेत गुम्ने डर पैदा भएको छ ।

नेपालमा संघीय लोकतान्त्रिक संविधान जारी हुने समयमा सनातन धर्ममाथि सोह्रै आना ठूलो अन्याय भएकै हो । लगभग ९५ प्रतिशत सनातनी भएको यस मुलुकलाई हठात् धर्मनिरपेक्ष घोषणा गरियो । संविधान निर्माणको समय अत्यधिक बहुमतले प्रस्तुत गरेको सुझावलाई समेत बेवास्ता गरियो । अत्यन्तै जबर्जस्तीका साथ संविधानमा धर्मनिरपेक्ष भन्ने शब्द प्रत्यारोपित गरियो । पहिलो कुरा त, संसारमा कोही पनि धर्मप्रति निरपेक्ष हुनै सक्दैन । धर्म भनेको सत्य र असत्य, सही र गलत वा दैवी र आसुरी शक्तिबीचको भेद हो । अब सत्य र असत्यका बीच कोही निरपेक्ष हुनु भनेको त मानव विवेक पुरै गुम्नु हो । विवेक गुमेको समाजको कल्पना गर्नु भनेको निम्न कोटीको पशु बथानको कल्पना गरेसरह नै हो । अनि बडो ‘लोकतान्त्रिक’ बन्दै राज्यको धर्म हुँदैन भनेर ठूलो प्रगतिशील आवाज आउँछ । राज्यको धर्म हुन्छ ! धर्महीन भयो भने त त्यो राज्य नै हुँदैन । निश्चित रूपमा राज्यले कुनै पन्थप्रति कुनैखाले पूर्वाग्रह वा दुराग्रह राख्नु हुन्न । सायद कथित धरमनिरपेक्षताका पक्षधरले खोजेको चाहिँ धार्मिक स्वतन्त्रता वा पन्थनिरपेक्षता हो । तर, धर्मनिरपेक्ष भनेर राष्ट्र र राज्यलाई परोक्ष रूपमा विवेकहीन घोषणा गरियो । अर्को कुरा झनै गम्भीर छ । सनातन वा हिन्दू राष्ट्रको मुखर रूपमा वकालत गर्ने भनी चिनिएका समूहहरूमध्ये धेरैको निहित उद्देश्य कुत्सीत मनसायले प्रेरित भएको देखिन्छ । हिन्दू राष्ट्र आदि भनेर उफ्रेर यिनीहरूले आफूलाई गैरहिन्दू मान्ने बौद्ध, शिख वा किरातजस्ता ॐकार परिवारका अभिन्न अंग प्रत्यंगलाई अलगथलग बनाएका छन् । माग हुनुपर्ने चाहिँ हिन्दूराष्ट्र होइन सनातनी राष्ट्रको हो । अझ रमाइलो त यी हिन्दूराष्ट्र अभियन्ता भनाउँदाहरू हिन्दूराष्ट्र होइन हिन्दू अधिराज्यको माग गर्छन् । अधिराज्य मात्र भन्दा पनि राजा भएको राज्य भन्ने बुझिन्छ । अझ खुलेरै राजासहितको हिन्दू अधिराज्य नै भने पछि त कुरो स्पष्ट भइहाल्यो । अर्को शब्दमा भन्ने हो भने यिनीहरू हिन्दुत्व वा सनातनी आस्थासँग राजा भन्ने तत्व स्वतः जोडिएको देखाउँछ्न् । अझ किटेर भन्नुपर्दा सनातनी राष्ट्र बन्यो भने स्वतः राजतन्त्र स्थापित हुने हो भन्ने देखाउँछन् । के सनातन वा हिन्दुत्व र राजतन्त्र छुट्टि नै नसक्नेगरी एकअर्कासँग गाँसिएका विषय हुन् र ? सनातनबिना राजतन्त्र त संसारभरि धेरै ठाउँमा छन् । राजतन्त्रबिनाको सनातन सम्भव छैन र ? वैदिक कालमा राजा भन्ने मुखियाको कल्पना नै नगरिएको अवस्थाको गण र समूहमा सनातन हुर्केको बढेको हो । सनातनी हुन कुनै वंश वा कूललाई सर्वोपरी मान्ने राजतन्त्रको पटक्कै आवश्यकता छैन । तर, कथित हिन्दूराष्ट्र अभियन्ताहरूले यससँग राजतन्त्रलाई अभिन्न रूपमा जोडिदिएको हुँदा सनातन राष्ट्र स्थापित गर्ने माग वा अभियान अत्यन्तै क्षीण बन्न पुगेको छ । उदाहरणका लागि म आफू स्वयं सनातनको पुनस्र्थापनाका लागि प्रतिबद्ध छु । तर, सनातनसँग राजा नाम गरेको तत्व स्वतः मिसिन्छ भने सनातनप्रति नै वितृष्णा जाग्न थाल्छ । सारमा भन्ने हो भने कथित हिन्दूराष्ट्रका अभियन्ताहरू वास्तवमा सनातनको पुनस्र्थापना चाहन्नन् । त्यसो भएको हुनाले हिन्दूराष्ट्र भन्दै राजाको नाम भज्छन् । निश्चित रूपमा यिनीहरूलाई थाहा छ राजा जोडिदिएपछि सनातन कमजोर हुन्छ र त्यसकारण पुनस्र्थापित हुँदैन । वास्तविक अर्थमा यिनीहरू सनातनविरोधी हुन् जस्तो बुझिन्छ ।

यहाँनेर अहिले यहाँ चलाइएको एउटा अजबको हल्लाका ’boutमा पनि उल्लेख गर्नु प्रासंगिक होला । एकदमै तीव्र हल्ला चलाइएको छ– नेपालमा राजतन्त्र पुनस्र्थापनाको अभियान अत्यन्तै सार्थक रूपमा अगाडि बढेको छ र त्यस अभियानमा भारतको संस्थापन पक्ष वा शासकवर्गको प्रखर समर्थन छ । विशेषगरी उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नाम उछालिँदै छ । सँगसँगै प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारूढ दल भारतीय जनता पार्टीको अघोषित तर प्रभावकारी मातृसंगठन राष्ट्रिय स्वयंसेवक संघको नाम पनि अगाडि ल्याइएको छ र भनिँदै छ पूर्वराजा ज्ञानेन्द्रलाई सिंहासनारूढ गराउन यी सबै पात्रहरू दत्तचित्त छन् । मैले यो कुरोचाहिँ पटक्कै बुझेको छैन । भारतलाई तथानाम गाली गर्नु नै नेपाली राष्ट्रियताको प्रतीक व्यवहार हो भन्ठान्ने महान् राष्ट्रवादीहरू आज ज्ञानेन्द्रको सत्तारोहणका लागि भारतको आशीर्वाद सकार्न कसरी तयार भएका होलान् ! सायद यो रणनीतिक चाल मात्र पो हो कि !

व्यावहारिक पक्षलाई केलाउँदा त उल्लिखित भारतीय संस्था र व्यक्तिहरूले राजा ज्ञानेन्द्रको पुनस्र्थापनाका लागि लागिपर्नुपर्ने कुनै कारण देखिँदैन । हेक्का रहोस्, भारतले वा भारतीय शासकले भारतकै हित सोच्ने हो । कुनै नेपालीको अनुहार राम्रो लाग्नु वा माया लाग्नु उसको दोस्रो प्राथमिकता हुनसक्छ । अब ज्ञानेन्द्र शाह पुनः नेपालका राजा भए भने भारतलाई के फाइदा हुन्छ वा हुनसक्छ ? यदि निरंकुश राजाका रूपमा स्थापित भयो भने नेपालको संप्रभुता आंशिक वा पूर्ण रूपमा बुझाइदिने हो ? के निरंकुश राजा स्थापित गर्न भारत सक्षम छ । छैन भने कथित संवैधानिक राजा भारतका लागि कुन ढंगले वा कसरी उपयोगी हुन्छन् ? बेकारका राजा स्थापित गर्न त भारतलाई चासो हुनै नपर्ने हो !

निश्चित रूपमा योगी आदित्यनाथको गोरखपुर मठको गोरखनाथ गुफा गोरखासँग पुरानो सम्बन्ध छ । धेरै पहिलेदेखि माघेसंक्रान्तिका दिन गोरखाको गोरखनाथ गुफाबाट गोरखपुर मठमा खिचडी जाने गथ्र्यो । सायद गणतन्त्र आएपश्चात् प्राविधिक कारणले त्यो रोकिएको थियो । तर, हालैको २०८१ को माघेसंक्रान्तिका दिन त्यो परम्परा पुनः सुरु गरिएको छ । खिचडी पुग्नुभन्दा अघि नेपालको राजदरबारबाट केही रकम चन्दा पनि जान्थ्यो । पूर्वराजा ज्ञानेन्द्रले केही लाख रुपैयाँ सायद पु¥याउन थालेका छन् । यसपटक आफैं पुगेर रकम टक्र्याएजस्तो बुझिन्छ । अब एउटा उदार चन्दादातालाई मठका महन्तले ‘नरेश’ भनिदिए होलान् ! मलाई पक्का विश्वास छ महन्त आदित्यनाथले चन्दादाता काशी नरेश वा ग्वालिएरका महारानीलाई पनि तदनुरूपै सम्मान सूचक शब्द प्रयोग गर्छन् । मुख्यमन्त्री आदित्यनाथ त राजशाही वा राजपरम्पराको कट्टर आलोचक र विरोधी पो देखिन्छन् त ! उनको गएको कुम्भमेला परम्परादेखि चलिआएको साधुसन्तको मेलास्थल प्रवेशको जात्रालाई ‘पेशवाई’ भन्न रोकेर ‘छावनी प्रवेश’ भन्न लगाए । त्यस्तै साधुसन्तहरूले गर्ने प्रथम स्नानलाई ‘शाही स्नान’ भन्न रोकेर ‘अमृत स्नान’ भन्ने पदावली सुरु गरे । उनका अनुसार ‘पेशवाई’ र ‘शाही स्नान’ भन्ने पदावलीमा राजा महाराजाको दरबारको झलक आयो । दरबारिया शब्दसमेत मन नपराउने आदित्यनाथले राजा भन्ने पदलाई कसरी मन पराउँछन् होला ! नाथ परम्पराका महान् योगी सन्तहरू त पौराणिक कालमा समेत हठी एवं कुनै राजा इत्यादिलाई पटक्कै नटेर्ने फक्कड जोगी मानिन्छन् ! अब परिवारवाद र वंशवादका कट्टर विरोधी राष्ट्रिय स्वयंसेवक संघ, भारतीय जनता पार्टी एवं प्रधानमन्त्री नरेन्द्र मोदीलाई वंशवादमा आधारित ज्ञानेन्द्रको राजशाही कसरी र किन प्यारो होला र ? हेक्का रहोस्, प्रत्येक निर्वाचनमा र अन्य समयमा पनि मोदी र उनको पार्टीको एक प्रमुख नारा वंशवाद र परिवारवाद हुने गर्छ । राहुल गान्धी र उनको परिवारलाई उनले यही भनेर आलोचना गर्छन् । राहुल गान्धीलाई ‘युवराज’ र ‘राजकुमार’ भन्दै होच्याउने नरेन्द्र मोदीका लागि नेपालका ‘महाराज’ प्यारो भए होलान् र ?

नेपाललाई सनातनी राष्ट्र वा हिन्दूराष्ट्र बनाउने कुरामा चाहिँ उनको चासो वा समर्थन हुनसक्छ वा सायद छ नै । सायद नेपाल हिन्दूहरूको ‘भ्याटिकन’ वा ‘मक्का’ भएको उनी हेर्न चाहन्छन् । ’cause, नेपाल सनातनी राष्ट्रका रूपमा पुनस्र्थापित भयो भने त्यो उनका लागि वा उनको मुलुकका लागि उदाहरणीय प्रस्थान बिन्दु हुन पुग्नेछ । उनले चाहने त भारतलाई नै सनातनी बनाउने होला । त्यो काम अलि सुदूर भविष्यमा मात्र मूर्त हुन सक्ला ! त्यसै भएर गुमिसकेको नेपालको हिन्दूराष्ट्रको पहिचान पुनः कायम गराउन सकियो भने उनका लागि सानो तर महत्वपूर्ण प्रेरक तत्व साबित हुन्छ कि ! नेपाल सनातनी राष्ट्र बन्ने र यसक्रममा ज्ञानेन्द्र शाह हिस्सिने पो हुन् कि !

तपाइको प्रतिक्रिया
(Visited 267 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लोकतन्त्र र आन्दोलन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको चन्द्रकोटमा गठबन्धनका अध्यक्ष/उपाध्यक्ष विजयी