सहकारी ठगीका आरोपी अध्यक्ष भट्टराईलाई उन्मुक्ति

काठमाडौं । काठमाडौंको हनुमान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षलाई महान्यायाधिवक्ता कार्यालयको दबाबमा उन्मुक्ति दिएको पाइएको छ । सहकारी ठगी गरेर फरार रहेका भनिएका अध्यक्ष अस्मिलाल भट्टराईलाई महान्यायाधिवक्ता कार्यालयले राजनीतिक दबाबमा परेर मुद्दा नचलाएको पाइएको हो । प्रहरीको फरार सूचीमा रहेका भट्टराईलाई काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छुटाएको सहकारी पीडितको भनाइ छ ।

– जग्गा धितो राखेर ऋण दिन्छु भनेर हनुमान सहकारी अध्यक्षले ७ करोड ठगी गरेको आरोप

हनुमान सहकारीका अध्यक्ष भट्टराईले ७ करोड रुपैयाँ ऋण स्वीकृत गरिदिन्छु भनी जग्गा धितो राख्न लगाएर रकम नदिएपछि सेयर सदस्य निम्मी थापाले ठगीको आरोपमा प्रहरी कार्यालयदेखि सरकारी वकिल कार्यालय धाउँदासमेत न्याय पाउन सकेकी छैनन् । ७ करोड रुपैयाँ ऋण स्वीकृत गरिदिन्छु भनेर थापाको १७ कट्ठा जग्गा धितोमा राख्न लगाएर अन्त्यमा साक्षी बस्नेले लिएर गएको भनी जवाफ दिएपछि आफू उजुरी लिएर काठमाडौं महानगरपालिकादेखि जिल्ला प्रहरी र सरकारी वकिल कार्यालयमा पुगेको पीडित थापाको भनाइ छ ।

काठमाडौं महानगरपालिकाले सहकारी ठगीमा संलग्न सहकारीका अध्यक्ष भट्टराईलाई कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा पत्रसमेत पठाएको छ । प्रहरीले लामो अनुसन्धानपछि अध्यक्ष भट्टराईलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने रायसहित जिल्ला सरकारी वकिल कार्यालयमा पठायो ।

जिल्ला सरकारी वकिल कार्यालयका रामहरि काफ्लेले भने धेरै अघिको ठगी प्रकरणको विषय रहेछ भनेर मुद्दा दर्ता गर्न अस्वीकार गर्दै आइरहेका छन् । महान्यायाधिवक्ता कार्यालयबाट आएको चर्को दबाबका कारण मुद्दा नचलाएपछि पीडित थापा न्यायको खोजीका लागि हारगुहार गरिरहेकी छन् । बरु उल्टो जिल्ला सरकारी वकिल कार्यालयका काफ्लेले मुद्दा चल्दैन भनेर धम्की दिएको पीडितको गुनासो छ ।

राधादेवी हार्डवेयर सञ्चालनका लागि थापाले ऋण लिन हनुमान बहुउद्देश्यीय सहकारीसँग सम्पर्क गरिन् । ऋण खोजिरहेकी थापालाई सहकारी अध्यक्ष भट्टराईले जग्गा धितो राख्नुस् तीन दिनभित्र ऋण स्वीकृत गरेर खातामा ७ करोड रुपैयाँ जम्मा गरिदिन्छु भनेर आश्वासन दिए । थापाले अध्यक्ष भट्टराईको कुरालाई विश्वास गरेर कागजपत्रमा ल्याप्चे र हस्ताक्षर पनि गरिन् ।

तीन दिन होइन ३५ दिन बित्दा पनि खातामा रकम जम्मा नभएपछि सहकारीमा गएर बुझ्दा अध्यक्ष भट्टराईले तपाईंको साक्षी दिनेश कोइरालाले ७ करोड रुपैयाँ लिएर गइसकेको भनेर जवाफ दिए । साक्षी भनेका कोइराला हाल विभिन्न व्यक्तिको पैसा ठगीको आरोपमा पुर्पक्षका लागि जेल चलान भएका छन् । थापाले व्यवसाय सञ्चालनका लागि सहकारीसँग ऋण मागेकी थिइन् । तर, सहकारीले राधादेवी हार्डवेयरको खातामा पैसा पठाएन ।

अध्यक्ष भट्टराईले नाटकीय रूपमा साक्षीले ७ करोड रुपैयाँ झोलामा बोकेर गएको भनेपछि उनी छाँगाबाट खसेजस्तै बनिन् । ‘त्यसपछि सहकारीका अध्यक्षले आफू पनि ठगीमा परेको र तपाईं पनि ठगिनुभयो भने,’ पीडित थापाले भनिन्, ‘त्यसपछि अब साक्षीलाई भेटेपछि जग्गा फिर्ता हुने आश्वासन दिए ।’ सहकारी अध्यक्ष भट्टराईले प्रतिबद्धता गरेको तीन महिना बित्दा पनि जग्गा फिर्ता भएन । उल्टो सहकारीका अध्यक्षले थापाले पैसा भुक्तानी लिएर गएको भनेर नक्कली कागजात सरकारी कार्यालयमा पेस गरेको पीडितको दाबी छ ।

‘राधादेवी हार्डवेयरको खाता नम्बर नै उल्टो राखेर कागजात पेस भएको छ,’ पीडित थापाले भनिन्, ‘वास्तविक हार्डवेयर पसल पेप्सीकोलामा भए पनि नक्कली ठेगाना बालुवाटार बनाएर कागजात पेस गरेका छन् ।’ आफूलाई दिएको ऋण देखाउन चर्को दबाब दिएपछि रोक्का राखेको १७ कट्ठा जग्गामध्ये अध्यक्ष भट्टराईले १० कट्ठा फिर्ता दिएका छन् । बाँकी ७ कट्ठा भने सहकारीका पूर्वअध्यक्ष वहाव अलीको नाममा नामसारी गरेर अर्कैको नाममा बेचबिखन भइसकेको पाइएको छ । आफ्नो जग्गा बेचेपछि थापाले रोक्का निवेदन दिएकी छन् । हाल सो जग्गा रोक्का राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धरान उपहानगर मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित