काठमाडौं । नेपालमा सन् २०२६ सम्ममा केन्द्रीय बैंकले विद्युतीय मुद्राको पाइलट परीक्षण गर्ने भएको छ । केन्द्रीय बैंकले विद्युतीय मुद्राको कार्यान्वयन पाँच चरणमा पूरा गर्ने योजनासमेत बनाएको छ ।
नेपाल राष्ट्र बैंक विद्युतीय मुद्रा (सीबीडीसी) विकासका क्रममा प्रथम चरणमा रिटेल, होलसेल वा सीमापार भुक्तानीमा प्रयोग गर्न त्यसको प्रयोग क्षेत्र पहिचान गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । यसका लागि डिजाइन तथा नीतिगत उद्देश्य निर्धारण गर्ने कार्य भइरहेको छ ।
राष्ट्र बैंकले विद्युतीय मुद्रासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न सरोकारवाला निकायहरूसँग गरिएको अन्तक्र्रियाबाट प्राप्त सुझावहरूको विस्तृत विश्लेषण गरी यससम्बन्धी कार्य अघि बढाइएको पनि जनाएको छ । यसका साथै विद्युतीय मुद्रा जारी गर्ने सम्बन्धमा आवश्यक परामर्शका लागि बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राविधिक सहायतासमेत प्राप्त गरेको छ । दोस्रो र तेस्रो चरणको कार्यअन्तर्गत प्रुफ अफ कन्सेप्ट तथा सीबीडीसीको प्रोटोटाइपसमेत तयार भएको छ । सो प्रोटोटाइपका आधारमा चौथो चरणमा सोको पाइलट परीक्षण गर्ने योजना रहेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।
यसका लागि राष्ट्र बैंक विद्युतीय मुद्राको विकासका लागि महाशाखा गठन गरिएको छ । बैंकले सम्पन्न गरेको नेपाल राष्ट्र बैंक विद्युतीय मुद्रा (सीबीडीसी) विषयक अध्ययन प्रतिवेदन, नेपाल राष्ट्र बैंकको रणनीतिक योजना २०२२–२६ र संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागबाट तयार गरिएको प्रतिवेदन, संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनबमोजिम भुक्तानी प्रणाली विभागअन्तर्गत रहनेगरी निर्देशकको नेतृत्वमा नेपाल राष्ट्र बैंक विद्युतीय मुद्रा महाशाखा स्थापना भई प्राविधिक जनशक्तिसमेत खटाइएको बताइएको छ ।
बैंकले सीबीडीसीका सम्बन्धमा विभिन्न अन्तर्राष्ट्रिय निकायहरूसँग प्राविधिक ज्ञान आदानप्रदान गर्दै आएको छ । यसैअन्तर्गत बीआईएस इनोभेसन हब र हङकङ सेन्टरसँग नन डिस्क्लोजर सम्झौतामा हस्ताक्षर गरी सो संस्थाको एमब्रिज परियोजनाको त्रैमासिक अबजरभर मिटिङमा समेत बैंक सहभागी भएको छ ।
बीआईएस इनोभेसन हब र हङकङ सेन्टरको प्रोजेक्ट आरूमको कोड बेस प्रयोग गरी होलसेल सीबीडीसीको प्रोटोटाइप तयार गरिएको राष्ट्र बैंकको भनाइ छ ।
नेपाल राष्ट्र बैंक विद्युतीय मुद्राका सम्बन्धमा विभिन्न अन्तर्राष्ट्रिय निकायहरूसँग प्राविधिक ज्ञान आदानप्रदान गरिएको छ ।
नेपाल राष्ट्र बैंकमा उल्लेख्य प्रगति हासिल गरेका ४९ राष्ट्रको अनुभव समेटी सीबीडीसीको प्रारूप, उद्देश्य तथा यसको अन्तरसम्बन्ध अध्ययन सम्पन्न भएको जनाएको छ । यसका साथै नेपाल राष्ट्र बैंकको नेतृत्वमा सार्क फाइनान्स कोलाबोरेटिभ स्टडीअन्तर्गत प्रोस्पेक्टस अफ सेन्ट्रल बैंक डिजिटल करेन्सी इन द सार्क रिजन विषयक अध्ययन सम्पन्न भएको छ ।
यसैबीच, नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीका विभिन्न उपकरणको प्रयोगमा सर्वसाधारणको पहुँचमा उल्लेख्य वृद्धि हुँदै गएको जनाएको छ । २०८१ माघमा मोबाइल बैंकिङ खाताको संख्या २ करोड ६५ लाख, डेबिट कार्डको संख्या १ करोड ३४ लाख तथा वालेट खाताको संख्या २ करोड ५८ लाख पुगेको छ । मोबाइल बैंकिङ ग्राहकको जनसंख्यासँगको अनुपात २०७७ साउनमा ४० प्रतिशत रहेकामा २०८१ माघमा ८९ प्रतिशत पुगेको छ ।
सो अवधिमा वालेट खाताको जनसंख्यासँगको अनुपात २२ प्रतिशतबाट वृद्धि भएर ८६ प्रतिशत पुगेको छ । विद्युतीय भुक्तानीका लागि उपयोग हुने उपकरण वा माध्यममध्ये प्रिपेड कार्डको संख्या, वालेट खाताको संख्या, कनेक्ट आईपीएस खाता संख्या र मोबाइल बैंकिङ खाताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । २०७७ साउनको तुलनामा २०८१ माघमा वालेट खाताको संख्या ४ दशमलव १२ गुणा, प्रिपेड कार्डको संख्या ३ दशमलव ८८ गुणा र मोबाइल बैंकिङ ग्राहकको संख्या २ दशमलव ३२ गुणा पुगेको छ ।
बैंकले क्यूआर कोडमा आधारित भुक्तानीलाई प्रवर्धन गर्ने नीति लिएसँगै यस्तो भुक्तानीमा वृद्धि हुँदै गएको छ । क्यूआर कोडबाट भुक्तानी स्वीकार गर्ने व्यवसायीको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । २०७८ असारमा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकबाट जारी भएका क्यूआर मर्चेन्ट कोडको संख्या २ लाख ८२ हजार रहेकामा सो संख्या २०८१ पुस मसान्तमा २३ लाख ४२ हजार पुगेको छ । कारोबारका हिसाबमा हेर्दा आर्थिक वर्ष २०७७–७८ मा ५५ लाख क्यूआर कारोबार संख्याबाट २० अर्ब २८ करोड रुपैयाँको कारोबार भएको थियो भने आव २०८०–८१ मा १६ करोड ९३ लाख कारोबार संख्यामार्पmत करिब ५ सय अर्ब रुपैयाँबराबरको कारोबार भएको छ ।
विद्युतीय भुक्तानीमा बढ्दै गएको पहुँचबाट विद्युतीय भुक्तानीका माध्यमको उपयोगमा समेत उल्लेख्य वृद्धि हुँदै गएको छ । आव २०७८–७९ देखि आव २०८०–८१ सम्मको अवधिमा विद्युतीय भुक्तानीको कुल कारोबार संख्यामा औसतमा ४३ दशमलव ५ प्रतिशतले विस्तार भएको छ भने कारोबार रकममा औसतमा २३ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ ।
उपकरणका हिसाबमा सो समयावधिमा क्यूआरमा आधारित भुक्तानीमा सबैभन्दा बढी वृद्धि भएको छ । सो समयावधिमा क्यूआर कोडमा आधारित भुक्तानी कारोबारको संख्यामा औसतमा वार्षिक करिब २३० प्रतिशतले वृद्धि भएको छ भने कारोबार रकममा औसतमा वार्षिक करिब २१० प्रतिशतले वृद्धि भएको छ ।
भुक्तानी कारोबारमा नगद कारोबारको हिस्सा घट्दै गइरहेको छ । कारोबारका आधारमा कुल भुक्तानी कारोबारमा क्यूआर कोडमा आधारित भुक्तानी, मोबाइल बैंकिङ कारोबार तथा फास्टर पेमेन्ट सिस्टमका माध्यमबाट हुने भुक्तानी कारोबारको हिस्सा वृद्धि हुँदै गएको छ भने एटीएमबाट नगद निकाल्ने कारोबारको हिस्सा घट्दै गइरहेको छ ।
आव २०७७–७८ मा कुल विद्युतीय भुक्तानी कारोबारमा एटीएम मेसिनबाट नगद निकाल्ने कारोबारको हिस्सा १६ दशमलव ३५ प्रतिशत रहेकामा आव २०८०–८१ मा ९ दशमलव ७० प्रतिशतमा सीमित भएको छ । सो अवधिमा मोबाइल बैंकिङबाट भएका कारोबारको हिस्सा २४ प्रतिशतबाट ३१ प्रतिशत र क्यूआर कोडमार्फत भएका भुक्तानी कारोबार संख्याको हिस्सा १ प्रतिशतबाट १२ प्रतिशत पुगेको तथ्यांक छ ।






