गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ८ स्थित थानापति आधारभूत विद्यालयमा शिक्षकलाई तलब र शैक्षिक क्रियाकलाप संचालन गर्न सामाजिक संजालबाट आर्थिक संकलनको अभियान सुरु गरिएको छ । फेसबुकबाट सुरु गरिएको अभियानबाट हालसम्म १० लाख ३७ हजार सात सय रुपैँया संकलन गरिएको छ । संकलित रकमको व्याजबाट विद्यालयमा कार्यरत शिक्षकलाई तलब र विभिन्न शैक्षिक क्रियाकलापमा खर्च गरिने व्यवस्थापन समिति अध्यक्ष डि.बी. खड्काले जानकारी दिए । जसका लागि विद्यालयले ‘थानापति कल्याणकारी कोष’को स्थापना गरेको छ ।
संकलित रकममध्येबाट १० लाख रुपैँया व्याजमा लगाउने र त्यसबाट बार्षिक न्यूनतम एक लाख ८० हजार आम्दानी गर्नेगरी विद्यालयले तयारी गरेको छ । उक्त रकम परिचालनको लागि अध्यक्ष खड्काकै अध्यक्षतामा छुट्टै समिति गठन गरिएको छ । हाल थानापति आधारभूत विद्यालयमा प्रावि तहका छ तथा निमावी तहका दुई गरी आठजनाको दरबन्दी छ । बाँकी तीनजनालाई निजि स्रोतबाट तलब दिनेगरी नियुक्त गरिएको छ । तीनजनाको तलब आपसी समझदारीमा मासिक पाँच हजारदेखि आठ हजारसम्म दिनेगरी व्यवस्था गरिएको छ । ‘निजी स्रोत, कार्यालय सहयोगी र बालविकासमा नियुक्त शिक्षकलाई तलबमै केही रकम खर्च हुन्छ ।’ अध्यक्ष खड्काले भने, ‘कम्तिमा नेपाल सरकारले तोकेअनुसारको पारिश्रमिक दिनेगरी प्रयास गरिरहेका छौँ ।’ अभियानमा न्यूनतम एक हजार पाँच सयदेखि अधिकतम ५५ हजार पाँच सय ५५ रुपैयाँसम्म सहयोग भएको विद्यालयले जनाएको छ ।
अभियानमा १५ हजार भन्दा बढि सहयोग गर्नेहरुको ताम्रपत्र र ५० हजार भन्दा धेरै सहयोग गर्नेको दुई पुस्ते ताम्रपत्रमा उल्लेख गर्ने योजना विद्यालय व्यावस्थापन समितिले गरेको छ । विद्यालयमा चासो राखेर विद्यार्थीप्रति उत्तरदायी बन्ने अभिभावकहरुलाई सम्मान गर्ने अभियान पनि सुरु गरेको छ । सोहि अभियान अन्तरगत अहिले स्थानीय अभिभावक प्रेमाकुमारी खड्कालाई नगदसहित सम्मान पत्रले सम्मान गरिएको प्रध्यानाध्यापक गोविन्द बुढा मगरले जानकारी दिए ।
पछिल्लो समय थानापति आधारभूत विद्यालय शैक्षिक गुणस्तर सुधारमा पनि लागेको छ । जसअनुसार विद्यालयमा बिदा कटौती, १५ मिनेट पहिले नै विद्यालय संचालन, साप्ताहिक तथा मासिक समिक्षा, नियमित परीक्षा, बृक्षारोपण लगायतका काम पछिल्लो दुई बर्षको अवधिमा भएका छन् । अहिले विद्यालयमा अंग्रेजी शिक्षाको पनि सुरुवात गरिएको छ । विद्यालयमा हाल एक सय २२ विद्यार्थी छन् ।






