बेपत्ता चिनियाँको यसरी भयो उद्धार

पोखरा । नेपाल घुम्न आएका एक चिनियाँ नागरिकले हिउँपहिरोमा इहलीला समाप्त गरेका छन् । अन्नपूर्ण पदयात्रामा निस्केका उनी १३ दिनदेखि बेपत्ता भएकोमा सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डको उद्धार टिमले स्थानीयको सहयोगमा अन्नपूर्ण–११, देउराली–चुम्रुङस्थित मोदी नदीबाट करिब २० मिटर उत्तरतर्फ शनिबार शव भेटाएको हो ।

ती पर्यटकका बाबु र फियान्स (प्रेमिका) शनिबार नै सिम्रिक एयरको हेलिकोप्टरबाट परिवारका प्रिय मान्छेको शव लिएर फर्किन बाध्य भए ।

उक्त घटना थियो, गत ११ चैतको । कास्कीको अन्नपूर्ण गाउँपालिका ११, देउरालीस्थित चुम्रुङमा हिमपहिरो खस्यो । बेलाबखत खसिरहने भएकाले स्थानीयले सामान्य लिए । प्रारम्भिक जानकारीमा मानवीय तथा भौतिक क्षति हुन पाएन ।

केही समयपछि अप्रिय खबर आयो, हिमपहिरोमा एकजना चिनियाँ पर्यटक पो परेछन् ।

अन्नपूर्ण बेस क्याम्पबाट घान्द्रुकतर्फ आउँदै गरेका २८ वर्षीय चिनियाँ नागरिक इ–चेङ योन सम्पर्कमा नआएपछि स्थानीय र प्रहरी टोलीले खोजीकार्य अघि बढायो ।

नेपाल बरोबर घुम्न आउने ती पर्यटक यसपालि चौंथोपल्ट आएका थिए । गत ७ चैतमा उनले एबिसीको ट्रेकिङ सुरु गरेको बताइएको छ । बिनागाइड एक्लै टे«किङ गएका उनी हिमपहिरोमा पुरिएको स्थानीयले बताए ।

चारदिन लगातार खोजीकार्य भयो । हेलीबाट पनि उद्धार प्रयास भयो । तर श्वास न लास । चिनियाँ दूतावासले पनि चासो दियो । थप उद्धारका लागि १५ चैतमा पोखराबाट सशस्त्रको उद्धार टोलीको माग भयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको निर्देशनमा मालेपाटनस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २४ गण, हे.क्वा. कालिकाबाट उद्धारमा टोली घटनास्थलतर्फ जाने भयो ।

आगलागी, बाढीपहिरो, डुबान, जलउत्पन्न प्रकोपलगायत विपद्जन्य घटनामा तत्काल उद्धारका लागि कालिका गणमा क्षेत्रीय विपद् व्यवस्थापन टिम हमेशा तैनाथ छ । कमाण्डर हुन्, सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठी ।

उनकै कमाण्डमा विपद् उद्धार सामग्रीसहित विशेष विपद् उद्धार टोली भोलिपल्ट मुभ भयो । उक्त टोलीमा विपद् उद्धारको तालिम लिएका ९ सदस्य थिए ।

१६ चैतमा ती पर्यटकका बाबु र प्रेमिका पनि चीनबाट खोजीका लागि आइसकेका थिए । नेपालमा टीकाटालो भनेजस्तो उनीहरुको विवाहको प्रारम्भिक प्रक्रिया भइसकेको थियो ।

यता, हिमपहिरो खसेको देउराली क्षेत्रको करिब ५० रोपनी पूरै सेताम्ये थियो । ट्रेकिङ रुटको नामोनिशान थिएन । ३ देखि २५ फिटसम्म परेको हिउँ लगातार पन्छाउँदै खोजीकार्य सुरु भयो । सशस्त्र त्यहाँ पुगेको सातौं दिनसम्म अनवरत् प्रयासमा पनि अत्तोपत्तो मिलेन ।

आठौं दिनका दिन बल्ल सफलता हात पा¥यो । २३ चैत, शनिबार बिहान ११ बजेतिर कसैले नचिताएको ठाउँमा शव भेटियो । हिउँ खन्दै जाँदा ढुंगाको मुनि झोलासहित घोप्टो परेको अवस्थामा ती पर्यटक मृत भेटिएका हुन् ।

देउरालीमा उक्त दिनको हिमपहिरोले करिब ५० रोपनी क्षेत्रफल ढाकेको थियो । ३ देखि २५ फिटसम्म हिउँ परेको थियो । तर, यहाँ जसरी पनि भेटाउनुपर्ने मिसन थियो । उद्धारको कमाण्ड सम्हालेका सशस्त्र प्रहरी निरीक्षक त्रिपाठी आफैँ अघि सरेर सहकर्मीहरुलाई हौस्याउँथे ।

शनिबार बिहान त्रिपाठीले चाइनाले पठाइदिएको डिभाइस लिएर अघि बढें । भन्छन्, ‘डिभाइसले धेरै ठाउँमा डिटेक्ट ग¥यो । अलि बढी शंका लागेको ठाउँमा मैले पनि पोइन्ट आउट गर्दै गएँ । मोदी नदीबाट करिब २० मिटर उत्तरतर्फ एउटा पोइन्ट आउट गरेको थिएँ । तर, त्यहाँ जान सक्ने बाटो थिएन । हामीहरुले काठ काटेर नदीमा अस्थायी पुल बनायौं । पुल तरेर अघि बढेपछि पहिरो खन्यौं । खन्दै जाँदा बिहान सवा १० तिर दुईवटा ठूला ढुंगाको तल अप्ठेरो ठाउँमा शव भेटाएको हो ।’

उनीसहित सबैले गैँची, बेल्चा, गल, डिगिङ टुल प्रयोग गरेर धमाधम खोजीमा लागेका हुन् ।

इन्स्पेक्टर त्रिपाठी भन्छन्, ‘हिउँमा बेपत्ता हुँदाका घटनामा हिउँ पग्लिसकेपछि ४–५ महिनापछि भेटाउने प्रचलन थियो । तर, अहिले मेरो कमाण्डमा गएको टोलीले पहिलोपल्ट यसरी खनेरै भेटाउनु भनेको चानचुन विषय हैन । घटना त घटिहाल्यो । तैपनि जीवित भेटाउन नसकेर मृत भेटिए पनि हामीहरु सन्तोष छौं । समयमै डेड बडी बुझाउन पायौं ।’

मालेपाटनस्थित कालिका गणले २०६१ सालमा स्थापनायता कास्कीमा विभिन्न विपद्जन्य घटनामा १२ सयभन्दा बढी मानिसको जिवितै उद्धार गरिसकेको छ । २८० जनाको शव निकालिसकेको सशस्त्र प्रहरी बल कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सनाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली