नेपालको लुम्बिनीमा जन्मेका महामानव गौतम बुद्धको यो वर्ष २५६४औं जन्मजयन्ती हो । वैशाख पूर्णिमाको दिन जन्मिएका गौतम बुद्धकी आमा मायादेवीको उनी जन्मिएको ७औं दिनमा मृत्यु भएपछि कान्छी आमा प्रजापति गौतमीले उनको लालनपालन गरेकी थिइन् । १६ वर्षको उमेरमा गौतमको विवाह सुप्रबुद्धकी छोरी यशोधरासँग भएको थियो । बुद्धको २८ वर्षको उमेर पुग्दा उनका छोरा राहुलको जन्म भएको थियो । गौतम बुद्धको जन्म, बोधिसत्व प्राप्ति र स्वर्गारोहण एकै दिन वा वैशाख पूर्णिमामा भएको थियो । वैशाख पूर्णिमाकै दिन यी सबै असाधारण दैविक घटना घटेका थिए । सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा वैराग्य भएर श्रीमती, छोरा, परिवार, दरबार, राजपाठ छोडेर ज्ञानको खोजीमा लागेका थिए । धेरै दिनको ज्ञानको खोजीपछि गौतम बुद्धले बोधिवृक्षमा तपस्या गरेर उनले बुद्धत्व प्राप्त गरे । सम्पूर्ण खराबीबाट मुक्त रहनु, मनलाई स्वस्थ राख्नु, जे राम्रो लाग्छ, त्यो गर्नु भन्ने विचारमा आधारित भएर सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीव, सम्यक् व्यायाम, सम्यक् स्मृति, सम्यक समाधि आदि उपदेशहरू गौतम बुद्धका सिद्धिवाणीहरू हुन् । उपदेशलाई ठीकसँग प्रयोग गर्न अभिप्रेरित गराउन गौतम बुद्धले आफ्ना भक्त बौद्ध भिक्षुलाई संसारमा धर्म प्रचार गर्न धर्मदूत रूपमा पठाउने चलन चलाए ।
बुद्धले बताएका उपदेशलाई लिखित रूपमा उतारिएको थिएन । बुद्धको शेषपछि उनका अनुयायीले बौद्ध सम्मेलन गरेर त्यसपछि बौद्ध उपदेशको संग्रह गरे । पहिला, दोस्रो र तेस्रोपटक गरिएको सम्मेलनबाट तयार भएको ग्रथलाई ‘त्रिपिटक’ भनिन्छ । यही त्रिपिटकको आधारमा बुद्धधर्मको आधार ग्रन्थ तयार भयो । त्रिपिटकका तीनवटा नाम भए सुत्त पिटक, विनय पिटक र अभिधम्म पिटक भए । बुद्धका उपदेशहरू ‘धम्मपद’मा संगृहीत छन् । धम्मपद बुद्धका उपदेशका प्रसिद्ध संग्रह मानिन्छ । सम्यक् व्यायामअन्तर्गत विपश्यना ध्यान गौतम बुद्धद्वारा देशित चित्त विशोधन विधि हो । यसलाई बुद्ध योग भने पनि हुन्छ । गौतम बुद्ध बाँचिरहेको अवस्थामा बुद्ध धर्म’bout कुनै विवाद उठेको थिएन । बुद्धको अर्थ हो ज्ञान प्राप्त गरेको व्यक्ति । संसारिक दुःखबाट स्वतन्त्र बनेर गौतम बुद्धले बोधिसत्व प्राप्त गरिसकेपछि गौतम बुद्धको ज्ञानद्वारा प्रभावित भएका बौद्ध संघका मानिसले आआफ्नै पाराले बुद्धका उपदेशलाई अर्थ लगाउन थाले । यसले गर्दा बौद्धधर्मभित्रका विभिन्न अर्थले गर्दा अन्धाले हात्तीको कान समाएर विभिन्न अर्थ लगाएको जस्तो पनि भएको छ ।
हिन्दू र बौद्धमा अत्यन्त सौहार्दतापूर्ण धार्मिक–सांस्कृतिक सम्बन्ध कायम भएकाले वैदिक हिन्दू तथा बौद्धमा मन्त्र, तन्त्र र यन्त्रबीच गहिरो मेल छ
समय परिस्थितिले बुद्धधर्मभित्र हीनयान र महायान आदिमा विभक्त भयो । त्रिपिटकमा उल्लिखित उपदेशका अनुयायी हीनयानी भए । हीनयानीहरूलाई थेरवादी बौद्ध मानिन्छ । थेरवादी बुद्धधर्मले बोधीज्ञानलाई मुख्य आधार मान्ने गर्छन् । थेरवादीहरू बौद्धबाहेक अरू धर्मसँग सम्बन्ध जोड्न चाहँदैनन् । हीनयान अर्थात् थेरवादीको पहिरन केही पहेंलो र कपाल मुडुलो हुन्छ भने महायानवादी केही कलेजी रङको पहिरन प्रयोग गर्छन् । कपाल नकाट्ने, शाकाहारी, मांसाहारी, देवी देवताको समेत पूजा आराधना गर्ने हुन्छन् । गुबाजु महायानवादी हुन् । पहेंलो वा रातो लुगा नगलाउने जातका नेपाली पनि कतिपय बौद्ध धर्मपालक छन् । बुद्धका उपदेशसँग प्रभावित भिक्षु, भिक्षुणीलगायत बुद्ध धर्म र संघलाई आत्मसाथ गरी ‘बुद्धं शरणं गच्छामि, धर्मं शरणं गच्छामि, संघं शरणं गच्छामि’ भन्छन् । बौद्ध धर्ममा सम्यक्को ठूलो महत्व छ । सम्यक्को अर्थ हो– राम्रो होस् गरेर गर्ने कर्म हो । गौतम बुद्धले बताएअनुसार प्राणी हिंसा नगर्नू, नचार्नू, ब्रम्हचर्य पालन गर्नू, झुटो नबोल्नू, लागूपदार्थ सेवन नगर्नू, कुबेला भोजन नगर्नू, फूलमाला आदि सुगन्धित वस्तु धारणा नगर्नू, उच्चासनमा बस्ने, सुत्ने नगर्नू, सुनचाँदीजस्ता मूल्यवान् धातुको लोभ नगर्नू भन्ने बुद्धका उपदेश हुन् ।
श्रीलंका, थाइल्यान्ड, म्यानमार (बर्मा), कम्पुचिया, लाओस, भियतनाम आदिमा रहेका भिक्षुहरू थेरवादी हुन् भने चीन, रुसमा रहेका बौद्ध महायानवादी हुन् । बौद्धले तीर्थ तथा धामको रूपमा लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगरलाई मान्छन् । बुद्धको जन्मथलोको रूपमा लुम्बिनी, तपस्या स्थलका रूपमा बोधगया, ज्ञान प्राप्तिपछि सर्वप्रथम भिक्षुलाई उपदेश दिएको स्थलको रूपमा सारनाथ र देहत्याग गरेको स्थल कुशीनगर हुन् । यी पवित्र स्थल मानिन्छन् । गौतम बुद्धका पिता शुद्धोधन हिन्दू संस्कारमा हुर्केका र गौतम बुद्ध पनि हिन्दू संस्कारमा परिचित भएकाले हीनयानहरू हिन्दू तथा बौद्धबीच अन्तर सम्बन्ध कायम राख्न जोड दिन्छन् । हिन्दू र बौद्धमा अत्यन्त सौहार्दताका साथ धार्मिक सांस्कृतिक सम्बन्ध कायम छ । वैदिक हिन्दू तथा बौद्धमा मन्त्र, तन्त्र र यन्त्रबीच गहिरो सम्बन्ध छ । लिच्छविकालमा नेपालका राजाहरूले बौद्धधर्मलाई ठूलो मान्यता गर्थे । त्यस्तै, मल्ल राजाहरू हिन्दू तथा बौद्ध दुवै धर्मलाई आफ्नो मातृधर्मजस्तो मान्यता गर्थे । पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणपछि काठमाडौं उपत्यकालगायत नेपालमा अवस्थित गुम्बा, विहारको संरक्षण गर्ने नीति लिएका थिए । राजा महेन्द्रले २०१३ सालको लुम्बिनी भ्रमणपछि बुद्धको जन्मथलो लुम्बिनीमा काटमार नगर्ने निर्देशन दिएर यसलाई अनिवार्य बनाए ।
बुद्धका उपदेश, व्याख्या र बौद्धधर्मका सिद्धान्त अहिलेको संसारमा यति व्यापक भएको छ कि जुन प्रकारले पनि बुद्धको सम्मान गर्न सकिन्छ । नेपालका बज्रयानी बौद्धहरू देवीदेवताको पूजा गर्छन् र दसंैमा पनि पूजाआजा गरी चाड मनाउँछन् । बौद्धहरू बुद्धको मूर्ति राख्ने, बुद्धलाई सम्मान गर्ने भए तापनि बौद्ध मूर्तिपूजक होइनन् । बुद्धमूर्ति खडा गर्नुको मतलब शान्ति र एकाग्रताका लागि हो । बौद्ध दुई प्रकारका छन् ः पौराणिक बुद्ध र शाक्यमुनिका उपदेश अनुशरण गर्ने बुद्ध । गौतम बुद्धभन्दा अगाडि नैं विपश्वी बुद्ध, शिखी, विश्वभू, क्रकुच्छन्द बुद्ध, कंकमुनि र काश्यप बुद्धको अवतारको विषयमा स्वयम्भू पुराणमा उल्लेख छ कि काठमाडौं उपत्यकामा पानीले भरिएको अवस्थामा यी बुद्धहरूको आगमन भएको थियो । विपश्वी बुद्धले एक कमल बीज स्वयम्भूमा रोपे । स्वयम्भू ज्योतिमा प्रकट हुन लागेपछि मञ्जुश्रीको नेपालमा आगमन भयो । स्वयम्भूमा शाक्यमुनि बुद्ध पनि पूजा गर्छन् । भनिएको पनि छ, ‘बोधिसत्य महासत्य, स्ययम्भू चैत्य नमाम्यहं ।’ जनसंख्याका दृष्टिले नेपालमा हिन्दूहरूको संख्या ८५ प्रतिशतभन्दा धेरै भए तापनि बौद्धप्रति हिन्दू नकारात्मक हुँदैनन्, छैनन् ।
नेपाल अहिले २०६३ सालपछिका नेपालकै नेतृत्ववर्गले घोषणा गरेकाले नेपालको राष्ट्रियता र हिन्दू तथा बौद्धधर्म संकटमा फसाउन खोजिएको छ । हो, धर्मनिरपेक्ष रहँदा पनि नेपालमा धर्म परिवर्तन नगरिने कडा कानुनको व्यवस्था गरेको भए पनि नेपालजस्तो हिन्दू तथा बौद्ध स्थलमा यस्तो खतरनाक परिस्थिति आउँदैनथ्यो तर पश्चिमाले धर्म परिवर्तनका लागि अर्बाैं खर्च गरेर नेपाली जनजीवनको मनस्थिति खल्बलिएको छ । खासगरी अधिकांश माओवादी क्रिस्चियन भएकाले उनीहरू पश्चिमाको पारामा लागेर पैसा खाएर नेपालको हिन्दू तथा बौद्ध धर्म नष्ट गराएर इसाईकरण गराउन जनयुद्धको समयदेखि धेरै प्रयत्नशील थिए । यस्तो खतरनाक अवस्था हाम्रो देशमा आएकाले अब हामीले निर्यायक भूमिका खेल्नुपर्छ । हामी नेपाली मनुष्य हौं कि मिसिन हौं ? यस कुराको निर्णय हामी आफंैले गर्न सक्नुपर्छ । बुद्धले पनि भनेका छन्, ‘आफ्नो हित हुने कुरा आफंै निर्णय गर ।’ त्यसैले, हामीले यस अवसरमा बुद्धको उपदेश, ‘अनैतिक र असंयमी भएर सय वर्ष बाँच्नुभन्दा सदाचारी र ध्यानी बनेर एक दिन जिउनु जाति छ’ भन्ने ज्ञानलाई आत्मसात् गरेर संसारको पुरानो सार्वभौम राष्ट्र जहाँ ऋषिमुनि र गौतम बुद्धले अथक प्रयास गरेर वेद, पुराण, नीतिशास्त्र र ज्ञानलाई विश्वव्यापी बनाए । त्यस्तो पुण्यभूमि नेपाललाई युगयुगान्तरसम्म सार्वभौम राष्ट्रका रूपमा बचाइराख्न सक्नु हामी सम्पूर्ण नेपालीको कर्तव्य हो । विश्वमा इसाई, मुस्लिम, यहुदी राष्ट्रहरू भएकाले नेपाललाई पनि हिन्दू तथा बौद्ध अधिराज्यका रूपमा घोषणा गरिनुपर्छ । नेपालका सांस्कृतिक मूल्य र मान्यतालाई युगयुगान्तरसम्म बचाइराख्न सकियो भने नेपालको अस्तित्व युगयुगान्तरसम्म बाँचिरहनेछ ।






