पेरिस । ब्राजिली स्टार नेयमारले पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट क्याटलान क्लब बार्सिलोना फर्कन आफ्नो पारिश्रमिकको ५० प्रतिशत कटौती गर्न तयार रहेका बताएका छन् । नेयमार गत सिजनदेखि नै निरन्तर बार्सिलोना फर्कने चर्चा चलेको छ । गत सिजन अनुबन्ध नजिक पुगेर पनि अन्तिम समयमा रोकिएको थियो ।
२८ वर्षे नेयमार २०१७ मा बार्सिलोनाबाटै विश्व कीर्तिमानी १९८ मिलियन पाउन्डमा पीएसजी पुगेका थिए । तर, पीएसजी पुगेको पहिलो वर्षमा नै नेयमार पीएसजीमा खुसी नरहेको र बार्सिलोना फर्कन चाहेका बताइरहेका छन् । पीएसजीले बार्सिलोनालाई नेयमारको मूल्य १ सय ७५ मिलियन पाउन्ड तोकेको छ । तर, पछिल्लोपटक नेयमार बार्सिलोनामा फर्कनका लागि आफ्नो तलब ५० प्रतिशत कटौती गर्न पनि तयार रहेको बताइएको छ । पीएसजीमा नेयमारले सातामा ६ लाख पाउन्ड लिँदै आएका छन् । तर, बार्सिलोनामा जाने पक्का भएमा उनले साताको ३ लाख तलब पाए पनि राजी हुने बताएका छन् ।
बार्सिलोना जाने मनसायमा रहेका नेयमारलाई पीएसजीमा २०२५ सम्मका लागि सम्झौताको प्रयास गरे पनि प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ । यसर्थ, उनी जसरी पनि पीएसजी छाड्ने मनसायमा रहेको बुझ्न सकिन्छ । पीएसजीले नेयमारलाई २०२५ सम्मका लागि ९० मिलियन पाउन्डको अफर गरेको थियो । पीएसजीमा नेयमारको सम्झौता २०२२ सम्म छ । फ्रान्समा नेयमारको टोली पीएसजी यो सिजनको लिग वान च्याम्पियन बनिसकेको छ । पीएसजीमा नेयमारले यो सिजन २२ खेलमा १८ गोल गरेका छन् । उनले पीएसजीबाट ८० खेलमा ६९ गोल गरेका छन् ।
पीएसजीको सहयोग
यसैबीच पीएसजीले कोरोना भाइरसविरुद्ध लडिरहेको एक परोपकारी संस्थालाई आर्थिक सहयोग गरेको छ । पीएसजीले परोपकारी संस्था एक्सन अगेन्टस हंगरलाई १ लाख युरो आर्थिक सहयोग गरेको हो । उक्त सहयोगले संस्थाले कोरोनाविरुद्ध लडिरहेको कर्मचारी र स्वयंसेवकलाई व्यक्तिगत सुरक्षात्मक उपकरण किन्नेछन् ।
संस्थाले अहिले पीएसजीको मैदान प्रयोग गरिरहेको छ । पीएसजीले यसअघि पनि पेरिसको विभिन्न समुदायलाई सहयोग गर्दै आइरहेको छ । कोरोनाको कारण फ्रेन्च लिग रद्द भइसकेको छ । आयोजकले पीएसजीलाई च्याम्पियन घोषणा गरिसकेको छ । कोरोनाको कारण फ्रान्समा २५ हजार बढीको ज्यान गइसकेको छ ।






