उदयपुर । उदयपुरको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल रौता र ताप्ली पोखरी पर्यटकीय तथा धार्मिक हिसाबले घुम्नैपर्ने मध्येको एक प्रकृतिक सौन्दर्य भएको स्थान हो । यहाँ हरेक नयाँ वर्षका दिन ठूलो मेला लाग्ने गर्छ । प्रत्येक नयाँ वर्षका दिन आन्तरिक पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यले मेला लाग्ने गरेको हो । पर्यटकीय तथा धार्मिक हिसाबले नयाँ वर्षको दिन धार्मिक पर्यटकहरू दुई पोखरीमा रमाउन युवा युवतीको लर्को नै लाग्ने गरेको छ । नयाँ वर्ष मनाउनेहरू यी दुई पोखरीमा रमाउने गरेका पाइन्छन् ।
उदयपुरको रौतामाई गाउँपालिका–६ मा पर्ने रौतापोखरी सदरमुकाम गाईघाटदेखि उत्तरी क्षेत्रको समुन्द्री सतहदेखि ५ हजार ९ सय फिट उचाइमा रहेको छ । सदरमुकाम गाईघाटबाट करिब ४५ किलोमिटर उत्तरी भेगको साबिक आँपटार गाविस–९ हाल रौतामाई गाउँपालिका–६ मा रौतापोखरी पर्छ । यो पोखरी १ बिगाहा क्षेत्रफलमा पैmलिएको छ ।
डाँडाको थाप्लोमा गोलाकार पोखरी, पोखरीमा पानी, पानीमा तैरिरहेको कमल अनि किनारको रूखमुनि रौतामाई भन्दिर छ । शीतल अनि हरियाली एवं पवित्र एवं शान्त भूमि रौतापोखरी पुग्दा मन फुरुङ हुन्छ, उत्साहको लहर चल्छ । जिल्लाको प्रख्यात धार्मिक गन्तव्य रौतापोखरीको दक्षिणमा घना जंगल छ ।
जंगलको छायाँ पानीमा तैरिन्छ । रौतामाईको मन्दिर तथा मूर्ति भलायोको रूखमुनि छ । त्यहाँ ध्वजापताका, त्रिशूल आदि चढाइएको छ । रौतामाईको दर्शनले मनोकामना पूरा हुने जनविश्वास छ । मन्दिरका पूजारीका अनुसार देवी भाकेर मनले जे माग्यो त्यो फल प्राप्त हुन्छ । धन लाभ, निरोगिता, सन्तान प्राप्ति, जागिरमा बढुवालगायत सबैखाले मनोकांक्षा पूरा हुने विश्वासमा बर्सेनि हजारौं धार्मिक तीर्थालु रौतापोखरी पुग्छन् । भाकल पूरा भएपछि तीर्थालुहरू बलि लिएर देवीलाई चढाउन आउँछन् ।
रौतामाईलाई पाठी र परेवा बलि चढाइन्छ । यहाँ बोका, भाले र हाँसको भने बलि दिइँदैन । त्यस्तै धुपबत्ति, अबिर, अक्षता, फूल, ध्वजापताका, चुरापोते, त्रिशूल आदि चढाइन्छ । नयाँ वर्षका दिन मन्दिरमा ठूलो मेला लाग्छ । त्यतिबेला पूजापाठ, नाचगान र खानपिन गरिन्छ । पोखरीमा नुहाउन पाइँदैन । यहाँ पुग्ने तीर्थालुहरूलाई नुहाउनका लागि बाहिर धाराको व्यवस्था गरिएको छ । पोखरीकै पानीमा नुहाउन चाहनेले पोखरीबाट पानी भरेर बाहिर चौरमा आएर नुहाउन भने पाइन्छ ।
३८ वर्षदेखि पूजारी रहेका स्थानीय भीमबहादुर राना मगरका अनुसार रौतारानीको महिमाका छुट्टै रहेको छ । उनले रौतापोखरीको महिमा यति धेरै रहनुमा यसको अलग्गै किंवदन्ती रहेको बताए । १९६४ सालमा ओखलढुंगाको रुम्जाटारका भुजुङ गुरुङ सयौं भेडा लिएर यही बाटो हिँडेका रहेछन् । त्यतिबेला उनका ५ सय भेडा हराए छन् । भेडा हराएपछि उनले रौतापोखरी वरिपरि आफ्ना हराएका भेडा दिनरात लगाएर खोजेछन् तर भेडा भेटिएनन् । त्यसपछि गुरुङले बूढापाकालाई सोध्दा ‘रौताको शरणमा जाऊ, भेटिन्छन्’ भनी बताएछन् ।
भुजुङ रौतादेवीको शरणमा पुगेर ‘ हे ! रौतादेवी, मेरा भेडा फेलापार्दिनु म यहाँ मन्दिर बनाउँछु’ भनी आँखा चिम्म गरेर भाकल गरेछन् । त्यहीबेला संयोगवश भेडा कराएको आवाज पनि सुनियो । नभन्दै सबै भेडा फेला परेछन् । त्यसबाट खुसी भएर उनले ढुंगाको सामान्य मन्दिर बनाई पूजाआजा गरेको किंवदन्ती मन्दिरका पुजारीले बताए । पछि उनै भुजुङका नातिले २००७ सालमा ठूलो मन्दिर बनाएको पुजारीले जानकारी दिए । ३० को दशकमा तिनै नातिले दिएको ३० हजार रुपैयाँले मन्दिर व्यवस्थित गरिएको पुजारीले सुनाए ।
हिँडेर पोखरीको फन्को मार्न १० मिनेटजति लाग्छ । रौतापोखरी क्षेत्र विभिन्न खोलानालको मुहान पनि हो । यसबाट पूर्वमा अँधेरी खोला, पश्चिममा त्रियुगा खोला, उत्तरमा राँकुली तथा रसुवा खोला र दक्षिणमा बरुवा खोला बग्छन् । पश्चिमपट्टिको त्रियुगा खोलामा अन्य साना–ठूला खोला मिसिंँदै जाँदा त्रियुगा नदी बन्छ र तल तराईमा बग्दै जाँदा तपेश्वरी र ओद्राहको बीचमा सप्तकोशीमा पुगेर मिसिन्छ । अनौठो कुरा के छ भने पोखरीको छेउमा त्यति ठूलो जंगल भएता पनि पोखरीमा एउटा पात पनि देखिँदैन ।
पात खस्यो कि चराले टिपेर किनारामा लगिहाल्ने गरेको स्थानीयले बताए । पानीमा पात पर्नासाथ गुलाबी सिउँर भएका चराले चुच्चोमा सो पात च्यापेर घाम झुल्किनुअघि नै बाहिर फाल्ने गरेको पुजारीले सुनाए । रौतापोखरी वर्षैभरि घुम्न सकिन्छ । विशेषतः फागुनदेखि वैशाखसम्म चहलपहल बढी हुन्छ । अरूबेला फाट्टफुट्ट आउँछन् तीर्थालु । हरेक औंसी, एकादशी, आइतबार र साउनमा मन्दिरमा पूजा चल्दैन ।
उनका अनुसार प्रत्येक वर्ष मेला भर्न र रौतारानी मन्दिरको दर्शन गर्न आउने आन्तरिक धार्मिक पर्यटकको संख्यामा भने वृद्धि हँुदै गएको छ । गाईघाटबाट करिब ३ घण्टामा यातायातका साधनबाट यात्रा गरेपछि पुग्न सकिने भएकाले पनि यस वर्ष विगतको तुलनामा धेरै नै मानिसहरू त्यहाँ पुग्ने अनुमान गरिएको छ । गोलो वर्गाकार रूपमा फैलिएको रौतापोखरीको किनारमै रौतारानीको मन्दिर रहेको छ । जसमा परेवा र पाठी बलि दिने प्रचलन रहेको पाइन्छ । वर्षौंदेखि नसुकेको रौतापोखरी जलवायु परिर्वतनका कारण केही वर्षयतादेखि भने सुक्ने गरेको पाइन्छ । लामो समयसम्म पानी नपरेर सुक्खा खडेरी परेकाले पनि पोखरीमा पानी सुकेको हो ।
मूल पुरोहितका अनुसार कहिल्यै नसुक्ने रौतापोखरी २०५८ सालमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको वर्ष सुकेको थियो । त्यसभन्दा अघि कहिल्यै सुकेको थाहा नभएको पुजारीले बताए । रौतापोखरीसम्म जाने बाटोको स्तरोन्नति नहुँदा यात्रुहरू जोखिमपूर्ण तरिकाले यात्रा गर्न बाध्य छन् । बाटोका कारण रौतापोखरीमा सोचेअनुसारका तीथ्रयात्रीहरू आउन नसकेको स्थानीयको बुझाइ छ । गाईघाटबाट पर्यटकीय क्षेत्र रौतापोखरीसम्म मोटर बाटो पुगेको भए पनि सडकको स्तरोन्नतिको काम नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
रौतापोखरीमा स्वच्छ खानेपानीको अभाव रहेको छ । मेलालाई व्यवस्थित रूपमा सञ्चालन गर्न नसकेको यहाँ घुम्न आउने तीर्थालुहरूले टिप्पणी गर्ने गरेका छन् । रौतापोखरीमा लाग्ने नयाँ वर्षको मेलामा विभिन्न सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्नुका साथै सांगीतिक कार्यक्रमहरू पनि प्रस्तुत गर्ने गरिएको छ । रौतापोखरीनजिकै निकासमा आन्तरिक पर्यटन प्रवर्धनका लागि होमस्टे तथा व्यवस्थित होटल सञ्चालनमा ल्याइएको छ ।
धार्मिक आस्था बोक्नेहरूका लागि त रौतापोखरी ‘ड्रिमल्यान्ड’ नै बन्न सक्छ । प्रकृति, संस्कृति, जीवनशैली र जैविक विविधतामा रमाउन चाहनेका लागि पनि आकर्षक गन्तव्य बन्नेमा शंका छैन । चुरे उपत्यका गाईघाटमा बस्नेहरू हुन् कि अलिपर राजविराज वा लाहानतिर बस्नेहरू, उनीहरूलाई गर्मी छल्ने गन्तव्यका रूपमा रौतामा ल्याउन सकिन्छ । पोखरीबाट १ घन्टा उकालो चढेपछि करिब २,१०० मिटरमा पुगेपछि रमाइलो खर्क भेटिन्छ । त्यहाँबाट तराईका फाँटहरू देख्न सकिन्छ । डाँडाबाट हिमालको लामो लस्कर नै देखिन्छ ।
रौतापोखरीको बेस क्याम्प निकास गाउँका ११ घरमा होमस्टेको सुविधा छ । होमस्टेबाट १० मिनेट उकालो चढेपछि रौतापोखरी पुगिन्छ । त्यहाँ २०७१ सालदेखि होमस्टे सुविधा दिन थालिएको छ । गज्जब कुरा के छ भने अन्यत्र पहिला होमस्टे सुरु हुन्छ अनि पर्यटक बढ्दै जाँदा आधुनिक सुविधायुक्त होटल खुल्छन् । तर, निकास गाउँमा सुरुमा सामान्य होटल खुलेपछि होमस्टे खुलेका हुन् । ससाना होटललार्ई होमस्टेमा रूपान्तरण गरिएको हो ।
होटलको बोर्ड राखेर चलाउँदा भन्दा होमस्टेका रूपमा सञ्चालन गर्दा सेवा र सुविधा बढी दिन सकिएको रौतामाई निकास सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष जितशेर राई (विजय) बताउँछन् । होमस्टेका रूपमा ब्रान्डिङ गर्नुअघि यहाँका होटलले सामान्य खाना र बास सुविधा दिन्थे । समिति अध्यक्ष राईले भने, ‘कतिपय तीर्थालु आफैं चामल र तरकारी बोकेर आउँथे अनि होटलवालाले पकाइ दिन्थे ।’ पकाएबापत त्यसको ज्याला लिने गरेको पनि उनले सुनाए । ‘अचेल त्यसरी खाद्यान्न बोकेर आउँदैनन्,’ समिति अध्यक्ष राईले भने, ‘होमस्टेका रूपमा अघि बढेपछि खाना बनाउने र अतिथि सत्कार तालिम पाएपछि उनीहरूको गुणस्तर बढेको छ ।’
होमस्टेमा एउटा घरमा ६ जना बस्न सक्छन् । लोकल चामल, तरकारी, पिठो र कुखुराका परिकारलगायत यहाँको विशेष खाना हो । अडरअनुसार ढिंडो पनि बनाउने गरेको पाइन्छ । होमस्टेका सञ्चालकहरूका अनुसार तीर्थालुहरू आउनुभन्दा अगाडि खबर गरेमा बालन, साकेला र रोधीको स्वाद पनि चाख्न पाइन्छ । रौतामाई गाउँपालिकाको प्रमुख धार्मिक गन्तव्य रौतापोखरीको गुरुयोजना र डीपीआर निर्माण गरिएको छ । त्यहीअनुसार पूर्वाधार निर्माणमा पुरातत्व भल्किने मन्दिरको निर्माण गर्ने योजनासमेत रहेको छ । यस्तै, पोखरीको झार हटाउने, सुक्खा वाल लगाउनेसम्मको काम हुनेछ । त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाबीच बेलदोभानबाट रौतासम्म केबलकार सञ्चालन गर्ने डीपीआर बनेको छ ।
पर्यटकीय गन्तव्यमा विकास हुँदै ताप्लीपोखरी
प्राकृतिक सौन्दर्यले सिँगारिएको तथा धार्मिक महत्व बोकेको ताप्लीपोखरी साविक लेखगाऊँ गाविस हाल कोशी प्रदेश उदयपुरको ताप्ली गाउँपालिका–२ मा अवस्थित छ । उदयपुरको एक प्रमुख पर्यटकीय स्थलका रूपमा रहेको यो पोखरी कटारी नगरपालिकाबाट कच्ची बाटो हुँदै ४–५ घण्टाको यात्रामा पुगिन्छ । ताप्ली गाउँपालिका–२ मा अवस्थित पोखरी रानीपोखरीको नामले पनि प्रख्यात रहेको छ । यो पोखरीले प्राकृतिक सुन्दरता, धार्मिक गाथा एवं पर्यटकीय महत्वलाई समेटेको छ ।
समुन्द्री सतहबाट १ हजार ८ सय मिटर उचाइमा रहेको ताप्लीपोखरी ५ बिगाहा क्षेत्रफलमा फैलिएको छ । यस पोखरीमा वर्षैभरि पानी जमिरहन्छ । यो पोखरी हेर्न विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरू आउने गरेका छन् । पोखरीबाट उत्तरमा सगरमाथासम्मका हिमर्शृखला अवलोकन गर्न सकिन्छ । यसैगरी, हरियो चउर तथा खर्कले भरिएका थुमहरूका कारण पर्यटकहरू रमाउने गरेका छन् । बाह्रै महिना चिसो हुने यस पोखरीमा पर्यटकहरू गर्मी छल्न पनि पुग्छन् ।
ताप्लीपोखरी ७५ मिटर चौडा तथा ३ सय २० मिटर लामो र ५ मिटर गहिरो छ । तुसारो परिरहने यस पोखरीको किनारमा अवस्थित पञ्चकन्या मन्दिरमा हरेक नयाँ वर्षका दिन ठूलो मेला लाग्ने गरेको छ । करिब ७५ मिटर चौडाइ र ३ सय मिटर लम्बाइमा फैलिएको पोखरीलाई पञ्चकन्या पोखरी नामले पनि चिनिन्छ । सत्ययुगमा यहाँ पाँचवटा कुवा रहेको र पानी भर्न आएका पाँचवटी कन्या अलप भएपछि पोखरीमा परिणत भएको किंवदन्ती छ । जैविक विविधताले भरिपूर्ण यो पोखरी धार्मिक तथा प्राकृतिक अध्ययनका लागि पनि महत्वपूर्ण छ । सत्ययुगमा शिवजीले यहाँका गुफामा बास बसेको किंवदन्ती रहेको छ ।
यो पोखरी किनारमा भ्यू–टावरसमेत निर्माण भइरहेको छ । यहाँको आकर्षण प्राकृतिक छटासँगै यहाँका लेक र थुमहरू हुन् । लेक हेर्न पनि पर्यटकहरू त्यहाँ पुग्ने गरेका छन् । पञ्चकन्या मन्दिरमा पूजाआजा गरे रोगव्याधि निको हुने जनविश्वास छ । ताप्ली पोखरीले कोशी प्रदेशमा धार्मिक पर्यटकको सम्भावना बोकेको छ । तत्कालीन माओवादीले यसै स्थानबाटै पूर्वी डिभिजनको घोषणा गरेको राजनीतिक इतिहास पनि छ ।
यस पोखरीमा सफा मौसमका पुग्दा पोखरीको सङ्लो पानीमा निलो आकाशको छाया ज्यादै लोभ लाग्दो देखिन्छ । यस पोखरीमा माछा भने पाइँदैन । यस पोखरीमा पूजापाठ गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । पोखरीमा कटारी नगरपालिका, लिम्चुङ्बुङ, रौतामाई, उदयपुरगढीलगायतका जिल्लाका विभिन्न ठाउँबाट भक्तजन तथा नयाँ वर्षमा मेला भर्न आउने गरेका छन् । घुम्नका लागि सुन्दर ठाउँ भए पनि प्रचारप्रसारको कमी र पहाडको कच्ची सडक भएकाले बाहिरबाट खासै पर्यटकहरू आउने नगरेको स्थानीयले बताएका छन् ।