जनताको मन जिते प्रचार–युद्ध विफल

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध डरलाग्दो प्रचार–युद्ध थालिएको बताउँदै आइरहेका छन् । उनले यस्तो अभिव्यक्ति दिइरहँदा के कुरा बिर्सनुहँुदैन भने सरकारले जनताको मन मनमा बस्न सक्नेगरी विकास अभियान सञ्चालन गर्न सक्यो र जनताले राज्यबाट पाउने सेवा प्रभावकारी रूपमा पाउन सके भने जस्तोसुकै प्रचार–युद्धले पनि सरकारको लोकप्रियतालाई कमजोर बनाउन सक्दैन ।

सरकारको सबैभन्दा ठूलो शक्ति भनेकै जनता हुन् र आवधिक निर्वाचनमार्फत जनताले नै सरकारको छनोटसमेत गर्ने गर्छन् । त्यसैले कसैले सरकारविरुद्ध वाकयुद्ध वा प्रचार–युद्ध थाल्यो भन्दैमा प्रधानमन्त्री ओली र उनको सरकार विचलित हुनुपर्दैन । बरु त्यस प्रकारको प्रचार–युद्धलाई जित्न कसरी जनताको मनमनमा बस्न सकिन्छ भनेर रातदिन चिन्ता गरी सोहीअनुसारका योजना र कार्यक्रम बनाएर अघि बढ्दा बढी बुद्धिमानी हुनेछ ।

प्रधानमन्त्री ओली पछिल्ला समयमा आफ्नो कार्यशैलीमा सुधार गर्दै सबैलाई समेटेर देश विकासमा लाग्ने अभियानमा रहेको देखिन्छन् । उनले केही दिनअघि मात्रै सम्पादकसँग छलफल गर्दै एउटा गम्भीर विषयसमेत उठान गरेका थिए । प्रधानमन्त्रीले सञ्चारक्षेत्र लगायत सबै मिलेर जनतामा आशा जगाउने काम गर्न आग्रह गरे । यदि जनतामा निराशा जगाउने काम गरियो भने त्यसले सिंगो मुलुकलाई नै बर्बाद बनाउन सक्ने भन्दै उनले गम्भीर चिन्ता र चासो व्यक्त गरे ।

प्रधानमन्त्रीको यो आग्रह धेरै हद सम्म सत्य छ । अहिले धेरै मानिस, संघसंस्था तथा सञ्चारमाध्यममा पनि धेरै नकारात्मक विषय उठान भइरहेका छन् । सामाजिक सञ्जाल नकारात्मक भावनाले भरिने गरेका छन् । सम्भवतः विषादी मिसिएका तरकारी र खाद्य वस्तुहरूको प्रयोगले पनि होला धेरै नागरिक छिटोछिटो प्रतिक्रियात्मक भइरहेका छन् । कुनै पनि विषयमा ठन्डा दिमागले सोच्ने र विश्लेषण गर्ने प्रवृत्ति ह्रास हुँदै गइरहेको छ । नकारात्मक सोच र विश्लेषणको पछाडि दौडिने प्रवृत्ति पनि खतरनाक रूपमा अघि बढिरहेको छ, जस कारण जनतामा आशा होइन निराशाका बीज रोपिन थालेका छन् ।

महँगी नियन्त्रण हुन सके त्यस्ता प्रचार–युद्धले केही गर्न सक्नेछैनन् । प्रधानमन्त्रीज्यू ∕ प्रत्येक गाउँ टोलमा विकासको मूल फुटाइदिनुभयो भने जनता आफैंले अनावश्यक प्रचार–युद्ध गर्नेहरूलाई लखेट्नेछन्

जनतामा निराशा बढ्नु भनेको पक्कै पनि राम्रो होइन त्यसैले जनतामा आशा जगाउनुपर्छ । तर, जनतामा आशा जगाउने कार्यको नेतृत्व सरकारले नै गर्नुपर्छ । यदि सरकारले साँच्चै नै जनतामा आशा जगाउने हो भने जनताले गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र प्रविधिको प्रयोग निर्वाध र सुलभ किसिमले गर्न पाउनुपर्छ । आफ्ना नागरिकको आधारभूत आवश्यकताको पूर्ति गर्ने प्रमुख दायित्व सरकारकै हो ।

हो, केही जमात सरकारलाई बदनाम गराउन न्वारनदेखिकै बल प्रयोग गरिरहेका छन् । सरकारका सानासाना कमजोरीलाई पनि ठूलाठूला गल्तीका रूपमा परिभाषित गर्दै सरकारविरुद्ध आक्रमण गरिरहेका छन् । यसभन्दा अघिका सरकारले गरेका अपराध र गल्तीको दोष पनि यही सरकारमाथि थोपरिने कामसमेत भएको छ । तर, सरकारले त्यस्ता आरोपको शालीनताका साथ जवाफ दिनुपर्छ । त्यो जवाफ भनेकै जनकेन्द्रित शासन प्रणाली र सुशासनयुक्त व्यवहार हो ।

जनतामा आशा जगाउनुपर्छ भन्ने सरकार र प्रधानमन्त्रीले बिचौलिया र माफियाको ग्याङबाट पूर्णरूपमा टाढा रहन सक्नुपर्छ । सिंहदरबारको सामन्ती सोच र प्रवृत्तिलाई त्यागी जनताको सोच र भावनासँग आफूलाई एकाकार बनाउन सक्नुपर्छ । सरकारले विकट गाउँबस्तीदेखि सहरबजारमा बस्ने सबै नागरिक बिरामी हुनासाथ सरकारी अस्पतालबाटै सहज सेवा र औषधि पाउने व्यवस्था गरिदिए त्यस्ता प्रचार–युद्ध त्यसै विफल हुनेछ ।

यसैगरी, सबै नागरिकका सन्ततिलाई कम खर्चमा पढ्न पाउने व्यवस्था गरिदिनुभयो भने त्यस्ता प्रचार–युद्धले केही फरक पार्नेवाला छैन प्रधानमन्त्रीज्यू † अहिले पनि गरिब विपन्न बिरामी हुँदा पैसा र भरपर्दो उपचारको अभावमा अकालमा मर्नुपरिरहेको दुखद अवस्था छ । महँगी नियन्त्रण हुन सक्यो भने पनि त्यस्ता प्रचार–युद्धले केही गर्न सक्ने छैनन् ।

प्रधानमन्त्रीज्यू † प्रत्येक गाउँठाउँ र टोलमा विकासको मूल फुटाइदिन सक्नुभयो भने अनावश्यक प्रचार–युद्ध गर्नेहरूलाई जनताले आफैं लखेट्नेछन् । अहिले धेरै स्थानीय तहले राम्ररी काम गर्न सकिरहेका छैनन् । कैयौं जनप्रतिनिधि कुशासनको चक्र चलाउन व्यस्त छन् । त्यस्ता जनप्रनिधिलाई पार्टीको अनुशासन र भ्रष्टचारमा शून्य सहनशीलताको नीतिमा बाँध्न सक्नुपर्छ । संघ, प्रदेश र स्थानीय तहमा भ्रष्टाचारविरोधी अभियान थाल्न ढिलाइ गर्नुहुँदैन । भ्रष्टचारीलाई सामाजिक रूपमा नै बहिष्कार गर्ने खालका नीतिलाई व्यवहारमा उतार्न सक्नुपर्छ ।

सुशासन कायम गर्नु र सुधार गर्नु धेरै कठिन कार्य हो । तर, प्रधानमन्त्रीलगायत शासन सञ्चालन गर्नेहरूमा दृढ आत्मविश्वास, इमानदारिता र नैतिकता हुने हो भने सुशासन कायम गर्दै मुलुकलाई विकासमा अघि बढाउने कार्य असहज छैन । आधुनिक मलेसियाका विकास सूत्राधार मोहम्मद महाथिरलाई पनि सुधार गर्दा धेरै अवरोध आएका थिए तर महाथिरको इमानले ती सारा अवरोधलाई परास्त गरेका थिए । महाथिरले बिचौलिया र भ्रष्टसँग कहिल्यै कुनै साँठगाँठ गरेनन् । आफैंभित्रका भ्रष्टाचारीलाई पनि उनले कडा कारबाही गरे । त्यस्तै, अत्यन्तै विकसित मुलुक सिंगापुरका पिता लि लि क्वान युले पनि सिंगापुर बनाउने क्रममा डरलाग्दो प्रचार–युद्धको सामना गरेका थिए । तर, उनको भ्रष्टचारविरोधी अभियान र दृढताका अगाडि सबै खाले प्रचारयुक्त विफल भए र उनले सहजै सफलता हासिल गरे ।

प्रधानमन्त्री ओलीले प्रचायुद्धलाई सामान्य रूपमा लिएर कर्मयुद्धमा लाग्ने हो भने उनका आगामी दिन निकै सहज हुन सक्ने विश्वास गर्न सकिन्छ । यदि कर्मवीर बन्ने हो भने उनले आफूहरूले चुनावी घोषणापत्रमा गरेको प्रतिबद्धताअनुरूप समाजवाद स्थापनाको आधार खडा गर्न सक्नुपर्छ ।

यसका लागि उनले स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यापक सुधार गरेर समाजवाद स्थापनाको आधार तय गर्नुपर्छ । सरकारी स्वास्थ्य संस्था र सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्दै सबै नागरिकलाई स्वास्थ्य र शिक्षामा सहज पहुँच सिर्जना गर्न सक्ने हो भने सरकार धेरै हदसम्म सफल हुँदै जानेछ त्यतिबेला कुनै पनि प्रकारका प्रचार–युद्धले प्रधानमन्त्री र उनको दलको साख गिराउन सक्नेछैनन् ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

सुन चाँदी दुबैको मूल्य बढ्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
झापामा मतगणना सकिएका ११ वडामध्ये कांग्रेस ६ र एमाले पाँच वडामा विजयी