उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाकाले भूमिहीन, अति विपन्न, दलित तथा निम्न आयश्रोत भएका परिवारलाई ‘सुरक्षित आवास गृह’ निर्माण धमाधम निर्माण गरि राखेको छ । उनीहरुलाई निःशुल्क सुरक्षित आवास गृह निर्माण गरि हस्तान्तरण गर्ने तयारी नगरपालिकाका लागेको छ ।
ह्याबिट्यान्ट फर ह्युम्यानिटी इन्टरनेशनलसँगको साझेदारी तथा मानव अधिकार तथा वातावरण बिकास केन्द्र ( हुरेण्डेक) उदयपुर सहयोगी संस्थाले भूमिहीन, अति विपन्न, दलित परिवारलाई नगरले सुरक्षित आवास गृह निर्माण गरि हस्तान्तरण गर्न लागेको हो । नगर क्षेत्रभित्रका भूमिहीन, अति विपन्न, दलित तथा अदिबासी जनजाति परिवारलाई सुरक्षित राख्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । त्रियुगा नगरपालिकाका ७ वटा वडामा ८० वटा सुरक्षित आवास निर्माण गरि १२ महिनै घाम पानी र आँधी हुरीबाट बचाई राख्न भुकम्प प्रतिरोधात्मक सुरक्षित आवास गृह निर्माण गरि निःशुल्क हस्तान्तरण गर्न लागिएको त्रियुगा नगरपालिका नगर प्रमुख बसन्तकुमार बस्नेतले जानकारी दिए ।
उनले भने त्रियुगा नगरपालिकाका वडा नं २, ३, ४, ५, ७, ८ र १० गरि ७ वटा वडामा १० धुर जग्गामा भान्सा कोठा र बस्न, सुत्नका लागि २ वटा बेड रुम र शौचालय सहितको आवास गृह निर्माण गरिएको छ । त्रियुगा नगरपालिकामा बिपन्न गरिब, दलित, भूमिहीन घर परिवारको बसोबास रहेका भए पनि अहिले प्रथम चरणमा ८० घर निर्माण गरि हस्तान्तरण गर्न लागिएको र यस परियोजनालाई निरन्तरता दिन सहयोगी निकाय खोजी गरि रहेको नगरपालिका नगर प्रमुख बस्नेतले जानकारी दिए । सहयोगी निकाय नपाए आफैले भए पनि थप आवास निर्माण गर्न स्थानीय श्रोत साधनको उपयोग गरि स्थानीय जनशक्तिलाई तालिम दिएर १२ महिनै सुरक्षित आवास निर्माणमा नगरपालिका लाग्ने नगर प्रमुख बस्नेतले बताए ।
झुपड़ीमा बस्दै आएका अति विपन्न परिवारहरु नगरपालिकाले जस्ता पाताको घर बनाएर निःशुल्क बनाई दिएपछि उनीहरु हर्षित भएका छन् । झुपडीमा बस्दा बालबालिका तथा बृद्धबृद्धालाई चिसोले बिरामी हुने, आगलागीको डर हुने र सर्प खजुराको सधै डर हुने हुदा अहिले नगरपालिकाले घर बनाएर दिए पछि यस्ता समस्या टरेको स्थानीय लाभग्राही बताउछन ।
स्थानीय बाँसलाई विभिन्न केमिकल प्रयोग गरि उपचार गरेर बनाइने घर ३० बर्षको ग्यारेन्टी सहितको हुने सुरक्षित आवास निर्माण परियोजनाका लागि नगरपालिकाका फोकल पर्सन इन्जिनियर शैलेन्द्र मण्डलले जानकारी दिए । स्थानीय श्रोत साधनको उपयोग गरेर स्थानीयलाई नै घर बनाउने तालिम दिएर आवास निर्माणको काम थालिएका कारण आवास निर्माणको काम कम लागतमा भएको र सहज भएको इन्जिनियर मण्डलको भनाई रहेको छ ।
जनतासँग प्रत्यक्ष जोडिने स्थानीय सरकारका जनप्रतिनिधिले संविधानले दिएका शिक्षा, स्वास्थ्य तथा समानता जस्ता मौलिक अधिकारलाई जनतामा प्रत्याभुत हुने गरि काम गर्न सके मात्र संबिधानले भनेको जस्तै समतामुलक समाजको निर्माण गर्ने संकल्प पुरा हुनेछ । स्थानीय सरकारले गरेको प्रतिबद्धताहरुलाई सहि तरिकाले कार्यन्वयन गर्न जनताका आवश्यकतालाई पुरा गर्न सके मात्र नागरिकको जिवनोस्तर उक्सिने र मुलुक समृद्ध बन्नेछ ।
त्रियुगा नगरपालिकाको बिभिन्न ७ वटा वडामा अघिल्लो आर्थिक वर्ष ५० वटा सुरक्षिक आवास निर्माण सम्पन्न भई सकेको र चालु आर्थिक वर्ष ३० वटा सुरक्षित आवास निर्माण भई रहेको सहयोगी संस्थाका मानव अधिकार तथा वातावरण बिकास केन्द्र (हुरेण्डेक) उदयपुरका महेश पौडेलले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्ष सुरक्षित आवास निर्माण गर्न प्रयोग हुने उपचार गरेको बाँस झापा र सप्तरीबाट ल्याउन परेकाले केही ढिलाई भएको पौडेलको भनाई रहेको छ । तर अहिले त्रियुगा नगरपालिका क्षेत्रमा नै दुई स्थानमा बाँस उपचार केन्द्र स्थापना भई सकेकाले सुरक्षित आवास निर्माणमा प्रयोग हुने बाँसको समस्या नरहेको उनको भनाई रहेको छ । भुकम्प प्रतिरोधि बाँसबाट निर्माण हुने सुरक्षित आवास ५० वर्षको ग्यारेण्टी रहेको बताए ।
ह्याबिट्यान्ट फर ह्युम्यानिटी इन्टरनेशनलको प्राबिधिक सहयोगमा त्रियुगा नगरपालिका– १ फुलजोरमा उस्मा राईले कुन्तीमाई बाँस उपचार केन्द्र र त्रियुगा नगरपालिका– ३ मोतिगडामा उपेन्द्र तामाङले ईन्द्रकमल सप्लार्यस बाँस उपचार केन्द्र सञ्चालनमा ल्याएका छन । शौचालय, भान्सा घर दुई वटा कोठा सहित सुरक्षित आवास निर्माण गर्न करिब ५ लाख ३८ हजार लगाई हुने गरेको जनाएका छन ।
अघिल्लो आर्थिक वर्ष निर्माण सम्पन्न भएको ५० वटा सुरक्षित आवासमा साझेदार संस्थाले प्रति घर २ लाख र त्रियुगा नगरपालिकाले २ लाख बाँकी जनश्रमदान रहेको थियो । तर पछिल्लो ३० घरमा भने साझेदार संस्थाले १ लाख ५० हजार र त्रियुगा नगरपालिकाले २ लाख ५० हजार रुपैया र बाँकी जनश्रमदान रहेको बताईएको छ ।
बिपन्न तथा गरिब परिवारका निम्ति अतिउपयोगी रहेको सुरक्षित आवास कार्यक्रमलाई निरन्तरता दिन स्थानीयबासीको माग रहेको छ । उदयपुरमा उत्पादित बाँस हरेक हिसाबले उपयुक्त रहेकाले उदयपुरलाई बाँस खेतिको हबको रुपमा समेत बिकास गर्न सकिने बाँसका बिज्ञहरुको भनाई रहेको छ । उनीहरुले उदयपुरमा बाँस उत्पादन राम्रो हुने र यहाँ उत्पादित बाँस उपयुक्त रहेकाले बाँस खेति गर्न सुझाब दिएका हुन ।