इलाम । ‘अहिलेसम्म तपाईंहरूको आन्दोलनलाई साथ दियौं, अब अभिभावकको प्रेसर हामी थेग्न सक्दैनौं, कि त विद्यालय १ वर्षका लागि बन्द गरिदिनुहोस्, कि त अब विद्यालय सञ्चालन गर्नुहोस् ।’
इलाम नगरपालिका–३ पुवा मझुवाको विडापानी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज थापाले शिक्षकहरूसँग यस्तो आग्रह गरे । शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको छलफलमा अध्यक्ष थापाले यस्तो आग्रह गरेपछि शिक्षकहरूले आइतबार विद्यालय खोले ।
सहायक प्रधानाध्यापक विष्णुभक्त भण्डारीले आन्दोलनमै रहेर आइतबारबाट विद्यालय खोलेको र पहिलो दिन विद्यार्थीहरू थोरै भएको हुँदा नाम लेखाउने र किताब वितरण गर्ने काम गरेको बताए । सबै शिक्षकको उपस्थिति नभए पनि विद्यालयमा चार–पाँच जना शिक्षक उपस्थित थिए ।
इलाम नगरपालिका–१ स्थित नेपालटार माध्यमिक विद्यालय सञ्चालन भयो । अभिभावकले शिक्षकलाई विद्यालय खोल्नु हामी विद्यार्थी लिएर आउँछौं भनेपछि विद्यालय सञ्चालन भयो । नेपालटार माध्यमिक विद्यालयका शिक्षक निर्मल तिम्सिनाले अभिभावकले हामी विद्यार्थी ल्याउँछौं भनेर भन्न थालेपछि विद्यालय खोलेको बताए । ‘पढाइ भएन विद्यालय खोल्यौं,’ उनले भने, ‘आएका विद्यार्थीहरूलाई किताब वितरण गर्ने काम गरियो ।’
देउमाई नगरपालिका जितपुरको खान्द्रुङ माध्यमिक विद्यालय पनि आइतबारबाट खुल्यो । त्यहाँ पनि अभिभावकको दबाबकै कारण विद्यालय खुल्न थालेको हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षकहरूसँग छलफल गरेपछि विद्यालय खोल्न थालिएको हो । विद्यालय खोलेको पहिलो दिन विद्यार्थीहरूको उपस्थिति कम भएको र विद्यालय आएका विद्यार्थीहरूलाई किताब वितरण गर्ने र विद्यार्थी भर्नाको काम भएको शिक्षकहरूले बताएका छन् ।
यति मात्रै होइन जिल्लाका धेरैजसो विद्यालय खुल्न थालिसकेका छन् । अभिभावकको दबाबपछि शिक्षकहरूले विद्यालय खोलेर नाम लेखाउने र किताब वितरण गर्ने काम सुरु गरेका हुन् । नयाँ शैक्षिक सत्र सुरु हुनुअगावै आन्दोलनका लागि शिक्षकहरू काठमाडौं गएपछि नयाँ शैक्षिकसत्र सुरु हुँदा विद्यालय ठप्प थिए । वैशाख आधा बित्न लाग्दा पनि विद्यालय नखुलेपछि अभिभावकले दबाब दिन थालेका हुन् ।
अमर माध्यमिक विद्यालयका अभिभावक नेत्र लुइँटेलले शिक्षकहरूको जारी आन्दोलन करिब एक महिना पुग्न लागे पनि सरकारसँगको माग जहाँको त्यहीँ भएको र कुनै निष्कर्ष आइहाल्ने सम्भावना पनि नदेखिएको बताए । उनले भने, ‘सम्पूर्ण सामुदायिक विद्यालयका अभिभावकले नैतिक समर्थन गरेकै हो तर यतिका समयसम्म पनि कुनै परिणाम नआएपछि अब तपाईंहरूको आन्दोलनका लागि सबै हाम्रा बालबालिकालाई घरमा धूलो मैलो खेलाएर उनीहरूको स्वतन्त्र रूपमा स्कुल गई पढ्ने अधिकारबाट वञ्चित गराउन सकिँदैन ।’ उनले आन्दोलनको स्वरूप परिवर्तन गरी विद्यालय सञ्चालन गर्न आग्रहसमेत गरे ।
अमर माविकै अभिभावक ठाकुरनारायण श्रेष्ठले शिक्षकको आन्दोलनमा सबैको साथ, सहयोग, समर्थन र ऐक्यबद्धता रहेको भन्दै अब यो विद्यार्थी भर्ना अभियानको समयसमेत भएकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी र अभिभावक चिन्तित भएको बताए । ‘संस्थागत विद्यालयमा जाने नानी भटाभट विद्यालय जान थाले, सामुदायिक जाने घरमै छन्,’ अभिभावक श्रेष्ठले भने । उनले आमविद्यार्थी, अभिभावक असाध्यै दोधारमा भएको र शिक्षक बौद्धिक वर्ग भएकाले आन्दोलन आफ्नो अधिकारसँगसँगै आफ्नो कर्तव्यसमेत सम्झेर वार्ता संवाद वा अन्य तरिकाबाट आन्दोलनको स्वरूप परिवर्तन गरी विद्यालय सुचारु गर्ने वातावरण तयार गर्न आग्रह गरे ।
उनीहरू मात्रै होइन उनीहरूजस्ता धेरै अभिभावकको चासो कहिले विद्यालय खुल्छ भन्नेमा नै छन् । अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक सोम निरौला तत्काल विद्यालय नखुल्ने बताउँछन् । ‘अभिभावकको दबाबचाहिँ आइरहेको छ तर पनि एक–दुई दिन हेरौं भन्ने छ,’ उनी भन्छन्, ‘त्यसपछि विद्यालय व्यवस्थापन र शिक्षक अभिभावक संघसँग छलफल गरेर के गर्ने भन्ने निर्णय हुन्छ तर तत्काल विद्यालयचाहिँ खुल्दैन ।’
यता, इलाम नगरपालिकाले शिक्षकहरूको आन्दोलनलाई समर्थन गर्दै शैक्षिक कार्यक्रम अघि बढाउन आग्रह गरेको छ । नगरप्रमुख केदार थापाले विज्ञप्ति जारी गर्दै यस आन्दोलनका कारण समग्र देशभरिका विद्यालयमा शैक्षिक सत्र २०८२ को विद्यालय भर्ना, कक्षा सञ्चालन तथा परीक्षालगायतका गतिविधि प्रभावित भएका छन् । समयमा विद्यालयमा विद्यार्थी भर्ना नभएका कारण विद्यार्थीहरूको मनोविज्ञानमा समेत असर परिरहेको साथै अभिभावकहरूसमेत गम्भीर र संवेदनशील भएको विद्यमान अवस्था र शिक्षा ऐनमार्फत शिक्षकहरूको माग पूरा गर्ने सन्दर्भमा वार्तासमेत भइरहेकाले विद्यार्थी भर्ना र परीक्षालाई कति पनि असर नहुनेगरी आफ्नो वार्षिक शैक्षिक कार्यक्रमलाई अगाडि बढाउन आग्रह गरेका छन् ।
इलाममा ८ सय ६२ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमा आधारभूत विद्यालय २ सय ९४ वटा र माध्यमिक विद्यालय ९४ वटा रहेका छन् । गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी माग गर्दै शिक्षकहरू गत २० चैतदेखि आन्दोलित छन् । शिक्षकहरूको आन्दोलन २५ दिन बितिसकेको छ । छिटफुट विद्यालय खुले पनि धेरैजसो विद्यालय यतिबेला विद्यालय बन्द नै छन् ।