सुजन चापागाईँको कन्सर्टमा दर्शक झुमे

काठमाडौं । साँझ छिप्पिँदै गएको थियो । दर्शकहरू एकोहोरो रूपमा सुजन चापागाईँको व्यग्र प्रतीक्षामा थिए । बेलुका साँढे ६ बजेपछि जब उनी स्टेजमा उत्रिए । त्यसपछि दर्शकले तालीले उनलाई साथ दिए ।

यो दृश्य नेपाल प्रज्ञा प्रतिष्ठानको आँगन मंगलबार बेलुका गायक सुजनले प्रस्तुत गरेको कन्सर्टको हो । यही २६ वैशाखबाट रिलिज हुने नेपाली चलचित्र ऊनको स्विटरमा समर्पित ’ऊनको स्विटर’ साँझ कन्सर्ट त्यहाँ गरिएको थियो ।

आफ्नो सांगीतिक टोलीसँग स्टेजमा उत्रिएका गायक सुजन चापागाईँले सुरुमै लजाएर एक्लै किन बसेकी मायालु…गीतमार्फत दर्शकलाई स्वागत गरे । पहिलो गीतमै दर्शकले मोबाइलको प्रकाश बालेर मोबाइल हल्लाउँदै उज्यालो मार्फत सुजनलाई साथ दिए ।

कार्यक्रममा दर्शकको हाल खबर सोध्दै करिब दुई वर्षपछि आफू लाइभ कन्सर्टमा फर्किएको सुजनले बताए । यही २६ वैशाखमा रिलिज हुने आफ्नो गीत संगीत भएको चलचित्र ऊनको स्विटर हेर्न पनि उनले दर्शकलाई आग्रह गरे ।

सुजन चापागाईँ एन्ड इन्फिनिटी टिमले त्यसपछि दर्शकलाई त्यहाँ बेलुका ८ बजेसम्म आफ्ना गीत संगीतबाट मनोरञ्जन प्रदान ग¥यो । सुजनले सो कन्सर्टमा गाला पुक्क…गीत सुनाउँदा दर्शकले वान्स मोर भन्दै पुन यही गीत केही लाइन गाउन लगाए । यसपछि उनले तीन पाते गीत सुनाएर दर्शकलाई मनोरञ्जन दिए ।

जब उनले चलचित्र ऊनको स्वीटरको शीष गीत ऊनको स्विटर… सुनाए । त्यति बेला दर्शक गीतमा झुमेका थिए । लगत्तै उनले यही चलचित्रले काफ्ले… गीत प्रस्तुत गरे । यो गीतमा भने चलचित्रका अभिनेता एलेक्स पारस र अभिनेत्री परीक्षा लिम्बुले स्टेजमै चढेर नृत्य प्रस्तुत गरे । चलचित्रको नायक नायिका नै नाचेपछि दर्शकहरू पनि आ आफ्नो ठाउँबाट उठेर नाच्न पछि परेनन् ।

सो कार्यक्रममा सुजनले एक्लै भएँ नि…, फूलथुंगे रानी…, मखमली…जस्ता आफ्ना चर्चित गीतहरु पनि सुनाए । यी गीतमा पनि दर्शकहरु नाचे । फूलथुंगे गीतमा दर्शकको आग्रहमा अभिनेता एलेक्स नाच्न पछि परेनन् ।

सुजनलाई यो सांगीतिक कार्यक्रममा वाद्यवादन तर्फ सञ्जीव बराइली, नकुल सिंह गुरुङ, प्रिन्स नेपाली, जगन्नाथ धौगोडा, दीपेन्द्र काफ्ले, सन्देश महर्जनलगायतले साथ दिएका थिए ।

कार्यक्रममा उपस्थित अतिथिहरू उपसभामुख इन्दिरा राना मगर, सांसदहरू सुहान नेम्वाङ, अशोक कुमार चौधरी, सोभिता गौतमलगायतले सुजनको गायनको प्रशंसा गरे । उनीहरूले चलचित्र ऊनको स्विटरको सफलताको शुभकामना पनि व्यक्त गरे ।

सोही अवसरमा चलचित्र ऊनको स्विटरको ट्रेलर पनि प्रस्तुत गरिएको थियो । पाँचथरका अलौकिक दृश्यहरूमा कथालाई काव्यात्मक रूपमा आफुले बुनेका यसका निर्देशक नविन चौहानले कार्यक्रममा सुनाए । ऊनको स्विटरमा कलाकारहरू विपिन कार्की, मिरुना मगर, एलेक्स, परीक्षा, सुरज तुमलगायतले पनि चलचित्रमा काम गर्दाका आफ्ना अनुभव सुनाए । चलचित्रमा सुजन चापागाईँ र झुमा लिम्बुको संगीत रहेको निर्देशक नवीन चौहानले जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

epaper

ताजा समाचार

निःशुल्क मुटु परीक्षण शिविरबाट एक हजाभन्दा बढी लाभान्वित