काठमाडौं । नेपाल राष्ट्र बैंकले माघदेखि चैतसम्मको अवधिमा पाँचवटा वाणिज्य बैंकसहित १२ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । केन्द्रीय बैंकले कारबाही गरेका ‘क’ वर्गका बैंकमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख जरिमाना
कारबाहीमा परेका विकास बैंकहरूमा मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक रहेका छन् । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स, जानकी फाइनान्स र गोर्खाज फाइनान्सलाई पनि कारबाही गरेको छ ।
चालू आर्थिक वर्षमा राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले पहिलोपटक कारबाही गरेको हो । केही कर्जालाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको भन्दै राष्ट्र बैंकले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई कारबाही गरेको हो । केही कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको, बक्यौता अवधिका आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरूको जोखिम भार गणना क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ बमोजिम जोखिम भार गणना नगरेको तथा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ (दोस्रो संशोधन)मा भएका कतिपय व्यवस्थाको पूर्ण पालना गरेको नपाइएकाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
कुमारी बैंकलाई भने निष्क्रिय कर्जालाई वर्गीकरण नगरेको तथा न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको हुँदा प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) को खण्ड (क) बमोजिम सचेत गराइएको छ ।
आव २०८१–८२ को दोस्रो त्रैमास २०८१ पुस मसान्तसम्मको अवधिमा तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको भन्दै स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५ सय ६६ रुपैयाँ जरिमाना गरिएको छ । सो बैंकले कृषि, ऊर्जा, लघु एवं साना तथा मझौला उद्योगमा कर्जा प्रवाह नगरेकाले कारबाही गरिएको हो ।
लक्ष्मी सनराइज बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ग) को व्यवस्था र नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको निर्देशनहरूको पालना नगरेकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सो बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिइएको छ ।
यसैगरी, लक्ष्मी सनराइज बैंकले सो बैंकको संस्थापकको सोही बैंकमा कल खाता तथा चालू खाता सञ्चालन गरी चालू खातामा विभिन्न मितिमा दैनिक मौज्दात रकम ऋणात्मक गरी नियमविपरीत अप्रत्यक्ष रूपमा कर्जा सुविधा उपलब्ध गराएको पाइएको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ग) मा बैंकको सञ्चालक, चुक्ता पुँजीको १ प्रतिशत वा सोभन्दा बढी सेयर लिएको व्यक्ति, कार्यकारी प्रमुख वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा म्यानेजिङ एजेन्ट वा सञ्चालक मनोनीत गर्ने अधिकार पाएको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको उल्लेख्य स्वामित्व वा वित्तीय स्वार्थ भएको कुनै फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न बन्देज गरिएको छ ।
लक्ष्मी सनराइज बैंकले नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन तथा बैंकको कर्जा नीति एवं कर्जाका प्रोडक्ट पेपरहरूको व्यवस्थाको अपव्याख्या गरी चालू पुँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको, मार्जिन प्रकृतिका कर्जाको प्रयोजनका लागि आवधिक कर्जा प्रदान गरेको, कर्जामा निहित जोखिमलाई समयमै व्यवस्थापन नगरी व्यक्तिगत आवधिक कर्जा तथा लामो समयदेखि सञ्चालनमा रहेका ठूला व्यवसायिक संस्थाहरूलाई समेत बेलुनिङ किस्ता कायम गरी कर्जा अवधिको सुरुका वर्षहरूमा अत्यधिक न्यूनतम तथा अन्तिम वर्षहरूमा अधिकतम सावाँ असुल हुनेगरी कर्जाको किस्ता कायम गरेको राष्ट्र बैंकले जनाएको छ ।
नीतिगत व्यवस्था रहेका कर्जाका प्रोडक्ट पेपरहरू सञ्चालक समितिबाट स्वीकृत हुनुपर्नेमा प्रमुख कार्यकारी अधिकृतबाटै स्वीकृत गर्ने गरिएको तथा चालू पुँजी कर्जाका लागि ब्रिज ग्याप कर्जा प्रदान गरी लामो समयपश्चात् ब्रिज ग्याप कर्जालाई आवधिक कर्जामा परिणत गर्ने गरिएको हुँदा कर्जा जोखिम व्यवस्थापनमा गम्भीर रहेको नपाइएकाले कारबाही गरिएको छ ।
यसैगरी, नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई पदको दुरुपयोग गरेको भन्दै ५ लाख रुपैयाँ जरिमाना गरिएको छ ।
ऋण मिलाइदिने भन्दै आर्थिक लाभ लिएको प्रमाणित भएपछि राष्ट्र बैंकको पत्राचारसँगै उनी अध्यक्षबाट निलम्बित भएका थिए ।
बैंकको रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजनाबीच प्रभावकारी तादात्म्यता गराउन नसकेको लगायतका आधारमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।
यससँगै नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक, नारायणी डेभपलमेन्ट बैंक र सालपा विकास बैंकलाई पनि कारबाही गरेको छ । कारबाहीमा परेका फाइनान्स कम्पनीहरूमा पोखरा फाइनान्स, जानकी फाइनान्स, गोर्खा फाइनान्स रहेका छन् ।
मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजक भएको भन्दै ‘सञ्चालक समितिका अध्यक्ष सञ्चालक समितिबाहेक अन्य कुनै पनि आन्तरिक समिति वा उप–समितिमा बस्न नपाउने’ व्यवस्था जानकारी गराउँदै यसमा सचेत गराइएको छ ।
नारायणी डेभलपमेन्ट बैंकले तोकिएको भन्दा धेरै निक्षेप संकलन गरेको तथा तोकिएको अनुपातमा पुँजीकोष कायम गर्न नसकेको भन्दै असार मसान्तमा तोकिएको पुँजीकोष कायम गर्न निर्देशन दिइएको छ ।
सालपा विकास बैंकले तोकिएको न्यूनतम चुक्तापुँजी हालसम्म पनि कायम नगरेको सो पुँजी पु¥याउने सन्दर्भमा पटकपटक दिइएका निर्देशनहरूको कार्यान्वयन नगरेको भन्दै सञ्चालक समितिलाई नसिहत दिइएको उल्लेख गरिएको छ ।
वित्तीय संस्थामध्ये तेस्रो त्रैमासमा पोखरा फाइनान्स, गोर्खाज फाइनान्स र जानकी फाइनान्सलाई शीघ्र सुधारात्मक कारबाही गरिएको छ । पोखरा फाइनान्सलाई तीनवटा विषयमा एउटै त्रैमासमा कारबाही गरिएको छ ।
पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङलाई ५ लाख रुपैयाँ जरिमाना गरिएको छ भने फाइनान्सलाई ४६ हजार ७ सय १८ रुपैयाँ जरिमाना गरिएको छ । संस्थाले १३ देखि २६ माघ २०८१ सम्मको अवधिमा नियामकीय व्यवस्थाअनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा तथा गुरुङले आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै जरिमाना गरिएको हो ।
२०८१ पुस मसान्तमा संस्थाको निष्क्रिय कर्जा ३३ दशमलव ४४ प्रतिशत रहेको तथा न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्डबमोजिम नरहेकाले संस्थाको वित्तीय परिसूचकहरू ६ महिनाभित्र सुधार्न वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ अनुसार कारबाही गरिएको छ ।
उच्च निष्क्रिय कर्जा भएको र पुँजीकोष अनुपातसमेत पूरा नगरेको भन्दै शीघ्र सुधारात्मकसम्बन्धी कारबाहीसमेत गरिएको छ ।
त्यस्तै, जानकी फाइनान्सलाई पनि २०८१ मंसिर मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्डबमोजिम नरहेकाले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिमका शीघ्र सुधारात्मकसम्बन्धी कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
गोर्खाज फाइनान्सको सञ्चालक समितिले समयमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नसकेको तथा सञ्चालकहरूबीच समझदारी नभई संस्थाको कार्य वातावरण बिग्रिने अवस्था रहेको भन्दै अध्यक्ष गौरव बुढाथोकी तथा सञ्चालकहरू युवराज राई, नरेन्द्रकुमार अग्रवाल, निलम बोहरा र कल्पना खापुङलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।