वडाध्यक्षले कुटे कर्मचारी र व्यवसायी

पोखरा । व्यवसायीमाथि हातपात गरेको आरोपमा पोखराका एकजना वडाध्यक्षलाई कारबाहीको माग गर्दै प्रहरीमाथि उजुरी परेको छ । पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले चिप्लेढुंगास्थित सर्वेश्वर मार्गमा सुवेदी कस्मेटिक पसल संचालन गर्दै आएका लेखनाथ सुवेदीमाथि मंगलबार दिउँसो हातपात गरेको आरोप छ ।

वडाध्यक्ष पराजुलीले सो घटनाअघि मंगलबार नै पोखरा महानगरको प्रशासन शाखामा कार्यरत सातौं तहका अधिकृत ईश्वरीप्रसाद पोखरेललाई समेत प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गर्दै लछारपछार गरेका थिए । कर्मचारीलाई आन्तरिकरुपमा दिइएको तालिम कसलाई सोधेर आयोजना गरेको भन्दै कुटपिट गरेको एक कर्मचारीले बताए ।

प्रमुख प्रशासकीय अधिकृतले बोलाएर उनको कार्यकक्षमा पुगेका अधिकृत पोखरेललाई वडाध्यक्ष पराजुलीले कठालो समातेर कुटपिट र लछारपछार गरेको ती कर्मचारीले बताए । सो घटनापछि पन्थी गल्ली पुगेका वडाध्यक्ष पराजुली फुटपाथमा सामान राखेको भन्ने विवादमा व्यवसायी सुवेदीमाथि जाइलागेका हुन् । वडाध्यक्षले सुवेदीको गालामा चड्कन हानेका हुन् । वडाध्यक्षलाई कारबाहीको माग गर्दै व्यवसायीले वडा कार्यालय घेरेर नाराबाजीसमेत गरे ।

सर्वेश्वर मार्ग व्यवसायी समिति अध्यक्ष तुलबहादुर थापाले ठूलो लगानी गरेर आफूहरुले व्यवसाय संचालन गर्दै आएकोमा पसलको अगाडि सामानको डिस्प्ले राख्नुपर्ने मागमा महानगर कार्यालय र वडाध्यक्षले विगतदेखि अवरोध गर्दै आएको बताउँछन् । उनले भने, ‘एउटा सानो घटनाले आज हाम्रा व्यवसायी सदस्य कुटिएका छन् । कडा कारबाहीको माग गर्दै उजुरी दिइसकेका छौं ।’ उनले घरभेटीहरुले पनि वडाध्यक्षले झैं ‘यिनीहरु बाहिरबाट आएका हुन्’ भनी असहयोग गरेको गुनासो गरे । वडाध्यक्ष निर्वाचित भएदेखि नै वडाध्यक्ष पराजुलीको आफ्नै वडाअन्तर्गत पर्ने सर्वेश्वर मार्गका व्यवसायीहरुसँग सम्बन्ध सुमधुर छैन ।

चिप्लेढुंगाको क्याफे एरोमा नजिक कास्कीकोट स्थायी घर भएका सुवेदीले कस्मेटिक पसल संचालन गर्दै आएका छन् । समितिअन्तर्गत २०८ जना व्यवसायी आबद्ध छन् । उनीहरुले फेन्सी, कस्मेटिक, जुत्तालगायतका पसल संचालन गरेका छन् । पीडित लेखनाथ सुवेदी निवेदक रहेर वडाध्यक्षलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा दिउँसो ५ बजे उजुरी दिइएको सर्वेश्वर मार्ग व्यवसायी समिति अध्यक्ष थापाले बताए ।

यसैबीच, कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले पनि उजुरी परेको पुष्टि गरे । उनले भने, ‘उहाँहरुको उजुरी परेको छ । तर दर्ता हुन बाँकी छ ।’

वडाध्यक्ष पराजुलीले भने आफूमाथि आईलागेपछि प्रतिकारमात्र गरेको दाबी गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 255 times, 1 visits today)

epaper

ताजा समाचार

सुस्तामा तटबन्ध निर्माणमा भारतीय पक्षको अवरोध