वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्ष (आ.ब.) को ९ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिभन्दा ५७ लाख २३ हजार १ सय १३ रुपैया बढि कर असुली गरेको छ । यो अवधिमा कुल राजश्व तर्फ ३७ करोड ३३ लाख ३२ हजार ५ सय ११ रुपैया आन्तरिक आय संकलन गर्न सकेको हो । तथापि वीरगन्ज महानगरले गएका दुई महिनादेखि आफ्ना कर्मचारीको तलब खुवाउन भने नसकेको भेटिएको छ ।
करदातासँग कर तिर्न गुहार
वीरगन्ज महानगरपालिकाकै नगरप्रमुख राजेशमान सिंहकै नेतृत्वमा कर तिर्न आह्वान गर्दै करदाताको ढोकासम्म पुग्नुले पनि महानगरको पछिल्लो हविगत जनसमक्ष छर्लङ्ग हुँदै गएको कर्मचारीहरुकै प्रष्टोक्ति छ । कर्मचारीको तलब खुवाएर बचेको आन्तरिकको रकम अन्यत्र खर्च गर्नु पर्नेमा यतातर्फ महानगर चुकेको त्यहाँ भित्रकै भुक्तभोगीहरुको गुनासो पनि छ । यो कमजोरीलाई पुर्ताल गर्न यतिवेला वीरगन्ज महानगर हरेक दिन जसो करदातासँग सम्पति कर, व्यावसायिक कर र घर बहाल कर तिर्न भन्दै हारगुहार गरिरहेको छ ।
बुधबार पनि आन्तरिक आय वृद्धिका लागि वीरगन्ज महानगरपालिकाले वीरगन्ज महानगरमा संचालित स्थानीय होटल तथा पर्यटन व्यवसायीका नेता तथा व्यवसायीसँग कर तिर्न आग्रह गरेको छ । नगरप्रमुख सिंहकै आफ्नै कार्यकक्षमा स्थानीय होटल तथा पर्यटन व्यवसायीहरु छलफल गर्दै सबै व्यवसायीले करको दायरामा आउन र कर तिर्न आग्रह गरिएको छ । ती होटल तथा पर्यटन व्यवसायीहरुसँग आग्रहका क्रममा नगरप्रमुख सिंहले ‘वीरगन्जको विकासको निम्ति कर तिरेर आ–आफ्नु जिम्मेवारी पूरा गर्न भेनका छन्’ सहभागीहरुले जनाए । कर्मचारीको तलब नै खुवाउन नसकेको कुरा चाही वीरगन्ज महानगरले पर्दा पछाडी राखेर कुरा गरिरहेको खुलेको छ ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तले भेटघाट र छलफलका क्रममा महानगरका अधिकांश व्यवसायीहरु करको दायरामा आइसकेको र नआएका व्यवसायीहरु पनि करको दायरामा आउन सकारात्मक रहेको जनाएका थिए । उनले वीरगन्जका सम्पूर्ण होटल तथा पर्यटन व्यवसायीहरु वीरगन्जको विकासका निमित्त कर तिर्न सकारात्मक रहेको भन्दै उनले सबै होटल तथा पर्यटन व्यवसायीहरुलाई करको दायरामा आउन आग्रह गरिने पनि जनाएका थिए ।
होटल तथा पर्यटन व्यवसायीहरुसँगको छलफल र कुराकानीका क्रममा वीरगन्ज महनगरका उपप्रमुख इम्तियाज आलम, महानगरको राजश्व प्रशासन महाशाखाका कर अधिकृत लगायत होटल तथा पर्यटन व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष रचेन्द्र थापा, महासचिव माधब बस्नेत लगायतको पनि उपस्थ्तिि रहेको थियो ।
महानगरले के के मा लिंदैछ कर ?
अहिले वीरगन्ज महानगरपालिकाले आफ्नो क्षेत्र भित्रका नागरिक तथा व्यवसायीहरुसँग सम्पति कर, भूमिकर–मालपोत, घरबहाल कर, सवारी साधन कर (साना सवारी), पूर्वाधार सेवाको उपयोगमा लाग्ने करलगायतका विभिन्न ३०–३१ प्रकारका करहरु लिंदै आएको खुलेको छ । महानगरले मनोरञ्जन कर, व्यवसाय रजिष्ट्रेशन दस्तुर, अखेटोपहारमा लाग्ने दस्तुर, पार्किङ्ग शुल्क, सरकारी सम्पति बहालबाट प्राप्त आय, विद्युत सेवा शुल्क, परीषा शुल्क, अन्य प्रशासनीक सेवा शुल्क, न्यायिक दस्तुर, नक्सापास दस्तुर, बेरुजु, प्रशासनीक दण्ड, जरिवाना र जफत, अन्य दस्तुर, नाता प्रमाणित दस्तुर, व्यक्तिगत घटना दर्ता दस्तुर, सिफारिस दस्तुर लगायतमा पनि शुल्क लिंदै आएको सेवाग्राहीहरुले जनाए ।
चारसय कर्मचारीको तलब स्थानीय आयमा भर
विभिन्न ३०–३१ प्रकारका उक्त दस्तुरबाट संकलित राजश्वबाट महानगरले स्थानीय नियुक्ति पाएका यहाँका करिब ४ सय कर्मचारीलाई हरेक महिना तलब खुवाउनु पर्छ । हुन त वीरगन्ज महानगरपालिकाले समानीकरण बजेटबाट पनि तलब खुवाउने शिक्षा, स्वास्थ्य तर्फका पनि कर्मचारी जोड्ने हो भने करिब १ हजार ४ सयको हाराहारीमा कर्मचारी रहेको महानगरपालिकाको तथ्याँकमा उल्लेख छ । पछिल्लो समय वीरगन्ज महानगरपालिकाले केन्द्रले पठाएका कार्यक्रमहरु गर्दा आन्तरिक श्रोत पनि परिचालन गर्न परेको कारण यतातर्फको बजेट चलाउन परेको महानगरको दावी छ । कारण संघ सरकारले कार्यक्रम पठाइदिए पनि बजेटमा २५–३० प्रतिशत कटौति गर्दा महानगरलाई अतिरिक्त भार परेको पनि महानगरपालिकाको जबरजस्त दावी छ ।
महानगरका मेयर सिंह पनि केन्द्रले बजेटमा अन्य महानगरलाईभन्दा वीरगन्जलाई उपेक्षा गरिदा आफूहरुलाई गाह्रो भएको दावी गर्छन् । यो बिषयमा आफूले धेरै पटक प्रधानमन्त्री सहित सम्बन्धित मन्त्रालयका मन्त्री, सचिवहरुसँग बजेट बढाउन पहल गर्दा पनि बजेटमा केन्द्र सरकार र प्रदेश सरकारले सौतेनी व्यवहार गर्न नछोडेको उनको गुनासो छ ।