काठमाडौंमा याङ्गोको राइड सेवा

काठमाडौं । विदेशी प्रविधि कम्पनी याङ्गो ग्रुपले काठमाडौंमा राइड सेरिङ सेवा सुरु गरेको छ । कम्पनीले स्थानीय साझेदारहरूसँगको सहकार्यमा काठमाडौंमा राइड सेवा सुरु गरेको हो ।

मंगलबारदेखि राजधानीमा परीक्षण सेवाका रूपमा सुरु भएको याङ्गोले उपाय, दोस्ती, ई ड्राइभ नेपाल, नेपाल फ्लिट, किम एडभेन्चरलगायत नेपाली कम्पनीहरूसँग मिलेर सेवा विस्तार गरेको छ । कम्पनीको दाबीअनुसार काठमाडौंमा परीक्षण सेवा दिने पहिलो राइड एप याङ्गो नै हो ।

कम्पनीले यात्रुलाई स्थानीय यातायात प्रदायकहरूसँग जोड्ने उद्देश्यसहित सेवा सुरु गरेको हो । याङ्गोका प्रमुख व्यापार अधिकृत अदेनियी अदेबायोका अनुसार ‘स्थानीय उद्यमीहरूसँगको सहकार्यमा आधारित व्यापार मोडेलले आर्थिक अवसरहरू सिर्जना गर्नेछ र शहरको गतिशील पूर्वाधार विकासमा योगदान पुग्नेछ ।

नेपालमा यसअघि पनि पठाओ र इन्ड्राइभलगायत विदेशी कम्पनीहरूको वर्चस्व रहेको छ । याङ्गोले आफ्नै चालक वा सवारी प्रयोग नगरी स्थानीय साझेदार चालक र ट्याक्सी व्यवसायीलाई एपमार्फत यात्रुहरूसँग जोड्नेछ ।

स्थानीय उद्यमी जेनिश श्रेष्ठले याङ्गोसँगको सहकार्यलाई ‘एक नयाँ कोसेढुङ्गा’को रूपमा वर्णन गर्दै भने, ‘डिजिटल लेखा प्रणाली, फ्लिट व्यवस्थापनजस्ता प्रविधिले पारदर्शिता र दक्षता दुवै बढाउँछ, जुन स्थानीय व्यवसायीका लागि गेम चेन्जर सावित हुनेछ ।’ याङ्गो एप गुगल प्ले र एप स्टोरमा निःशुल्क उपलब्ध छ ।

तपाइको प्रतिक्रिया
(Visited 357 times, 1 visits today)

epaper

ताजा समाचार

थलाराको शिक्षामा डिजिटल क्रान्ति