गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान

काठमाडौं । मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने माग गर्दै प्रतिपक्षी दलहरुले संसदमा अवरोध गरेका छन् । त्रिभुवन विमानस्थल हुँदै ‘भिजिट भिसा’का नाममा मानव तस्करी हुने घटनामा गृह प्रशासन मुछिएपछि प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्ष दलहरूले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेका हुन् ।

सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको आजको बैठक सञ्चालनको प्रयास गरे पनि सबै प्रतिपक्षी सांसदहरू उठेर विरोधमा उत्रिए। त्यस क्रममा सभामुखले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनलाई बोल्ने अवसर दिए।

सांसद पुनले हालै सार्वजनिक सञ्चारमाध्यमहरूमा अध्यागमन कार्यालयमा ‘भिजिट भिसा’ को नाममा व्यापक भ्रष्टाचार भएको विषय सार्वजनिक भएको उल्लेख गर्दै गम्भीर चिन्ता व्यक्त गरे। उनले सामान्य कामदारहरू विदेश जानका लागि रु. ५० लाखदेखि तीन करोड रुपैयाँसम्म असुली गरिएको तथ्य सार्वजनिक भएको बताए।

पुनले उक्त प्रकरणमा सहसचिव तीर्थराज भट्टराई मुख्य आरोपीका रूपमा देखिएको र उनी गृहमन्त्री लेखककै सिफारिसमा अध्यागमनमा पठाइएको आरोप लगाए। सो प्रकरणमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान हुनुपर्ने प्रतिपक्षीको माग रहेको उनले प्रस्ट पारे।

“गृहमन्त्री लेखकको सचिवालय नै उक्त प्रकरणमा संलग्न देखिएको छ। अनुसन्धान गर्ने निकायहरू गृहमन्त्रीको प्रत्यक्ष मातहतमा रहेका कारण निष्पक्ष अनुसन्धान सम्भव छैन। त्यसैले उहाँले नैतिकताको आधारमा तुरुन्त राजीनामा दिनुपर्छ,” सांसद पुनले भने।

उनले थपे, “गृहमन्त्री लेखक स्वयं कानुन र मानव अधिकारको पृष्ठभूमिबाट आएका व्यक्ति हुन्। उनले अघिल्ला नेताहरूको नैतिक जिम्मेवारीको कुरा उठाउने गरेका थिए। अब त्यो अभ्यास आफैँबाट देखाउनु पर्ने समय आएको छ।”

प्रतिपक्षी दलहरूको साझा धारणा अनुसार, गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद्को प्रक्रिया अगाडि बढ्न नसक्ने परिस्थिति सिर्जना भएको छ।

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)

epaper

ताजा समाचार

बालुवाटारतिर जाँदै गरेका बिनु र निहारिका नियन्त्रणमा