काठमाडौं । अभिनेता शीतल केसीलाई नचिनेका व्यक्तिले राजेशको दाजु वा भाइ ठान्दा रहेछन् । कसैले त राजेश हमाल नै मान्दा रहेछन् । यस्तो प्रश्न आउँदा उनले चलचित्र मेरो राजेश दाइमा राजेश हमालसँग आफूले दाजुभाइको भूमिका निर्वाह गरेको स्मरण गराउँदा रहेछन् ।
अभिनेता शीतल केसी विगत डेढ दशकभन्दा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय छन् । उनको अभिनय यात्रा टेलिफिल्म गहनाबाट सुरु भएको छ । डेढ दशकअघि नेगेटिभमा खिचिने एनलग प्राविधिकको चलचित्रमा काम गरेर सिने यात्रा सुरु गरेका शीतल अहिले नेपाली चलचित्र उद्योगले धेरै फड्को मारेका बताउँछन् ।
रिलबाट आज डिजिटलसम्म आइपुग्दा यो डेढ दर्शकमा नेपाली चलचित्रले निकै फड्को मारेको अनुभव उनको छ । एक्सन नायकका रूपमा परिचिन यी अभिनेता त्यो समयमा फिल्ममा वास्तविक फाइट गर्दा धेरैपटक घाइते भएको अनुभव सुनाउँछन् । तर, डिजिटल प्रविधि आएपछि आजकाल पहिलाको जस्तो फाइटलगायत जोखिम दृश्यमा त्यसरी काम गर्नु नपरेको भोगाइ उनको छ । भीएफएक्स एनिमसेनबाटै यस्ता जोखिमपूर्ण दृश्यहरू तयार गर्न सकिने भएकाले पहिलाको तुलनामा एक्सन फिल्ममा काम गर्दा निकै सजिलो भएको उनले बताए ।
नेपाल चलचित्र कलाकार संघका कार्यसमिति सदस्यसमेत रहेको शीतल अर्घखाँचीको भुवन डाँडा निवासी हुन् । चलचित्रमा अभिनयलाई निरन्तता दिँदै आएका शीतल पछिल्लो समय नेपाल चलचित्र कलाकार संघमा रहेर कलाकारको हकहित र सामाजिक कार्यमा पनि त्यत्तिकै क्रियाशील छन् ।
यी अभिनेताले २०६१ मा चलचित्र जालबाट अभिनय यात्रा सुरु गरेका हुन् । ऋषि न्यौपानलेले निर्देशन गरेको यो चलचित्रमा अभिनेत्री अरुणिमा लम्सालको नायिक बनेर अभिनेता शीतलले काम गरेका थिए । पहिलो चलचित्र जालले सिनेमा हलमा व्यावसायिक सफलता हासिल गरेपछि उनी निरन्तर यो क्षेत्रमा सक्रिय छन् ।
त्यसो त शीतलको चलचित्रमा आउने सोच थिएन । उनी बुटवलको बुटवल बहुमुखी क्याम्पसमा प्लस टु पढ्ने क्रममा सबैले हिरो भनेर बोलाउने गर्थे । त्यही बेलाबाट कतै आफू हिरो नै हो कि जस्तो पनि उनलाई लाग्ने गरेको थियो । कलेज पढ्ने क्रममा उनलाई केही निर्माता निर्देशकले फिल्मका लागि प्रस्ताव पनि लिएर गए । तर, त्यतिबेला आफूमा अभिनयसम्बन्धी ज्ञान नभएको र पढाइ पूरा नभएकाले चलचित्रमा तत्कालै अनुबन्धित नभएको शीतलले बताए ।
बुटवलबाट फेरि काठमाडौंमा पढ्न आउने क्रममा उनलाई यहाँ पनि चलचित्रमा काम गर्ने प्रस्ताव रोकिएन । सोही क्रममा हारती कला केन्द्रमा उमेश मायालुसँग केही समय अभिनयको प्रशिक्षण लिए । सोही क्रममा नृत्य, फिल्मी फाइटलगायतको ज्ञान हासिल गरेपछि जालबाट आफूले चलचित्रमा त्यति बेला डेब्यु गरेको स्मरण यी अभिनेताले सुनाए ।
शीतलले काम गरेका फिल्ममध्ये सफल फिल्म आफन्तको माया, अभियान, जंगली माया, त्रिदेव, मेरो राजेश दाइ, हाम्री चेली, वीर पुत्र, दिवानापनलगायत हुन् । उनले अभिनय गरेको फिल्मको संख्या डेढ दर्जनभन्दा बढी पुगेको छ । शीतल सानो पर्दामा पनि त्यत्तिकै सक्रिय रहँदै आएका छन् । चलचित्र जालमा अभिनय गर्नुअघि उनले टेली चलचित्र गहनामा नायकको रूपमा अभिनय गरेका थिए । त्यसपछि वंश, भाग्य आआफ्नो, परिवन्द, शंका, आफन्त, यात्रा जिन्दगी, विश्वासजस्ता सफल टेली शृंखलामा उनले लामो समयसम्म काम गरे ।
अभिनेता शीतलको दुई महिनाअघि मात्र चलचित्र सम्हाली राख है रिलिज भयो । यी कलाकारको नयाँ चलचित्र वीरबहादुर दंग पर्छ प्रदर्शनको तयारीमा छ भने नयाँ चलचित्र अधुरो प्रेम कहानीको अहिले स्वरांकन भइरहेको छ ।
पछिल्लो समय नयाँ पुस्ताका थुप्रै अभिनेता आउँदा यो क्षेत्रमा प्रतिस्पर्धा अझ बढेको यी अभिनेताको कथन छ । आफूभन्दा अग्रज र आफूसँगका थुप्रै अभिनेता अहिले चलचित्र बिहीन हुँदा शीतलले चलचित्रमा निरन्तर काम पाइरहेका छन् । आफ्नो मेहनत र इमानदारिताका कारण काम पाइरहेको उनले बताए । उनी म्युजिक भिडियोमा पनि व्यस्त रहेका छन् । अहिलेसम्म एक सयभन्दा बढी म्युजिक भिडियोमा यी अभिनेताले काम गरेका छन् ।