सप्तरी । प्रमुख प्रशासकीय अधिकृतको सरुवा तथा नयाँ निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लगायत विभिन्न विषयमा कार्यवाहक र निलम्बित मेयरबीचको विवाद प्रशासनको रोहबरमा छलफल गर्दा समेत सहमति बन्न नसकेपछि मंगलबार राजविराज नगरपालिका कार्यालयमा तोडफोड भएको छ ।
निलम्बित मेयर पक्षद्वारा तोडफोड र कर्मचारीमाथि कुटपिट
तोडफोडका क्रममा नगरपालिकाका लेखापाल शत्रुघन दास सहित तोडफोडको दृश्य आफ्नो मोवाईल क्यामरामा कैद गर्दै गरेका तीन जना सर्वसाधारण समेत प्रदर्शनकारीबाट कुटिएका छन् र
प्रमुख प्रशासकीय अधिकृत डा.श्रवणकुमार साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ दिन अघि रौतहटको एक स्थानिय तहमा सरुवा गरि राजविराज नगरपालिकाकै कर्मचारी शिक्षा शाखाका प्रमुख भोगेन्द्र यादवलाई निमित्तको जिम्मेवारी दिएपछि निलम्बित मेयर भीमराज यादव पक्ष विरोधमा उत्रेका थिए ।

बिरोध स्वरुप निलम्बित मेयर भीमराज यादवकै अगुवाईमा तीन दिन अघि नगरपालिकामा तालाबन्दी गरि धर्ना र रिले अनसन शुरु गरिएको थियो । कार्यवाहक मेयर परवीनले मन्त्रालयले पत्र पठाई सकेको व्यक्तिलाई नै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिनुपर्ने तर्क गरिरहँदा निलम्बित मेयर भीमराजले डा.साहलाई नै प्रमुख प्रशासकीय अधिकृतको रुपमा राखिनुपर्ने अथवा दरबन्दी अनुसारको उपसचिव स्तरकै प्रमुख प्रशासकीय अधिकृत मन्त्रालायबाट झिकाउनु पर्ने लगायतका विभिन्न ९ बुदे माग राख्दे तालाबन्दी र धर्ना शुरु गरेका थिए ।
निलम्बित मेयर र उनका समर्थक तालाबन्दी र धर्नामा उत्रेपछि कामकाज प्रभावित भएको भनी जनगुनासो बढ्दै गर्दा प्रमुख जिल्ला अधिकारी भोला दहालको पहलमा आईतबार र सोमबार लगातार दुई दिन दुबै पक्ष तथा अन्य सरोकारबाला निकायका प्रतिनिधि राखेर वार्ताबाट सहमति निकाल्ने प्रयास गरिएको थियो । तर, निलम्बित मेयर यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिन लागिएका भोगेन्द्र यादवलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने अडान लिएपछि वार्ता र छलफल विना निष्कर्ष नै टुङ्गिएको थियो ।
तीनदिन देखि लगातार कार्यालय बन्द रहेको अवस्थामा कार्यालयको दैनिक कामकाजका साथै विभिन्न विकास निर्माणका गतिविधि समेत अगाडी बढ्न नसकेपछि कार्यवाह मेयर परवीनले करीव आधा दर्जन वडाध्यक्ष, कार्यपालिका सदस्य, केही वडा सदस्य तथा नागरिक अगुवा सहितको सहभागितामा मंगलबार ताला फोड्दै मन्त्रालयको परिपत्र अनुसार भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा पद बहाली गराएका छन् ।
सो’bout खबर पाए लगतै उक्त कार्यको विरोधमा निलम्बित मेयर भीमराज सहित आएका उनका समर्थकहरु नगरपालिकामा ढुङ्गामुढा गर्दै कार्यालयका झ्यालढोका सिसा, तीनवटा मोटरसाईकल, कार्यवाहक मेयर चढने गाडीको सिसा र कार्यालय प्रांगनमा जडान रहेको दुईवटा सिसि क्यामरा फुटाई दिएको कार्यवाहक मेयर परवीनले बताईन् ।
उनले नगरपालिकाबाट सहज रुपमा सेवा प्रदान गर्न ताला खोलिदिन पटक पटक आग्रह गर्दा पनि वेवास्ता गरेकाले र छलफलबाट निलम्बित मेयर भीमराजको एकलौटी अडानका कारण निकास निस्किने सम्भावना नदेखेपछि नगरवासी र प्रशासनको सहयोगमा ताला फोड्न बाध्य भएको बताइन् ।
उनले आम नगरवासीलाई सत्यको पक्षमा खुलेर लाग्न आग्रह सहित भ्रष्टाचार आरोपमा अदालतबाट समेत सजाय तोकिएर निलम्बनमा परेका व्यक्तिबाट बिगत तीन बर्ष देखि नगरपालिकाको हरेक कामकाजमा यसरी प्रत्यक्ष हस्तक्षेप हुनु दुखद र चकित पार्ने बिषय भएको बताईन

निलम्बित मेयर भीमराजका समर्थकको कुटपीटबाट घाईते भएका नगरपालिकाका लेखापाल शत्रुघन दासको स्थानिय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको तथा कुटपीट र तोडफोडमा सहभागि भएकाहरुलाई अविलम्ब पक्राउ गरि कारवाही हुनुपर्ने उनको माग समेत छ ।
यता तनावकै बीच निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा भोगेन्द्र यादवले पदभार ग्रहण गरेका छन् । बाहिर निलम्बित मेयर भीमराज पक्षले प्रदर्शन गरिरहँदा कार्यवाहक नगर प्रमुख परवीन सहित केही जनप्रतिनिधि र कर्मचारीहरुले पदभार ग्रहण गराउँदै उनलाई बधाई तथा शुभकामना दिएका थिए । सो अवसरमा उनले जटिल परिस्थितीमा आफूले जिम्मेवारी पाएको भएपनि इमान्दारीका साथ सो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता जनाएका थिए ।
निलम्बित मेयर भीमराज यादवले नगरपालिकामा विभिन्न विकास निर्माण कार्यमा मनपरी र एकलौटी गर्न खोजेकाले आफू कार्यवाहक मेयर विरुद्ध उत्रेको दावी गरेका छन् ।
आर्थिक वर्ष २०७३–७४ मा राजरंगशालाको स्तरोन्ती कार्यको ठेक्का लिएका न्यू गहिल कन्स्ट्रक्सनका संचालक समेत रहेका भिमराज यादवसहित केही निर्माण कम्पनी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनी निलम्बित भएका थिए । उक्त आरोपत्र उपर सुनुवाई गर्दै विशेष अदालतले यादवको विपक्ष फैसला गरेपछी उनी अहिले सर्वोच्चमा पुगेको अवस्था छ ।






