मुम्बई । विश्व सिनेमा उद्योग यति बेला कोरोना संक्रमणका कारण धरापमा छन् । जसका कारण अझै महिनौं दिनसम्म सिनेमा हलहरू बन्द हुने भएका छन् । हल बन्द भएको अवस्थामा हलिउड र युरोपका प्रदर्शनको तयारीमा रहेका मध्य र साना बजेटका फिल्मलाई यतिबेला डिजिटल प्लेटफर्म (ओटीटी)बाट रिलिज गर्न थालिएको छ ।
यसैक्रममा गएको अप्रिलदेखि जुनसम्म रिलिज गर्ने भनिएका बलिउडका आधा दर्जनभन्दा बढी फिल्म पनि अब डिजिटल प्लेटफर्म नेटफ्लिक्स, अमाजोन प्राइम भिडियो, डिज्नी, हटस्टारजस्ता विभिन्न ओटीटीबाट रिलिज हुने भएका छन् । महिनांैसम्म रिलिज नगरी राख्दा फिल्म बनाउँदा ऋण लिएको बैंकको ब्याज बढ्नुका साथै फिल्मको विषयवस्तुसमेत पुरानो हुने निर्माताहरूको गुनासो छ । त्यसैले, आफूहरूले फिल्मलाई ओटीटी प्लेटफर्मबाट रिलिज गर्न लागिएको उनीहरूले बताएका छन् ।

यसरी बलिउडका फिल्महरू धमाधाम ओटीटीबाट रिलिज हुन थालेपछि अहिले आत्तिएर आफ्नो फिल्म डिजिटल प्लेटफर्ममा रिलिज नगर्न भारतका मल्टिप्लेक्स सिनेमा एसोसिएसनले अनुरोध गरेको छ । फिल्म निर्माण नभएको अवस्थामा अहिले तयार सिनेमा डिजिटलबाट रिलिज गर्दा भोलि मल्टिप्लेक्स हलमा नयाँ फिल्म नहुने र त्यो अवस्थामा निर्माता र हल सञ्चालक दुवैलाई घाटा हुने सो एसोसिएसनको भनाइ छ । तर, पनि अक्षय कुमारले आफ्नो फिल्म लक्ष्मी बमलाई डिजिटल प्लेटफर्ममा रिलिजको घोषणा गरेपछि आधा दर्जनभन्दा बढी अरू नयाँ फिल्मले रिलिज घोषणा गरेका हुन् ।

फिल्म लक्ष्मी बमलाई अक्षय कुमार आफैंले निर्माण गरेका हुन् । जसमा उनी एक महिलाको भूमिकामा छन् । यो फिल्मलाई यसपटक इदमा रिलिज गरिने तयारी हुँदै थियो । तर, कोरोना संक्रमणका कारण यो इदमा सिनेमा हल नखुल्ने भयो । सोही क्रममा अक्षय कुमारलाई आफ्नो लगानीभन्दा बढी पैसा डिजिटल प्लेटफर्म सञ्चालकहरूले दिएपछि उनले आफ्नो फिल्म लक्ष्मी बम डिजिटल प्लेटफर्ममा रिलिजको लागि बिक्री गरेका छन् । यो फिल्म अब चाँडै नै डिज्नी र हाटस्टार गरी दुईवटा ओटीटीबाट रिलिज हुने भएको छ ।
अक्षय कुमारको लक्ष्मी बमसँगै अमिताभ बच्चन र आयुष्मान खुरानाको फिल्म गुलाबो सिताबो पनि ओटीटीबाट रिलिजको घोषणा गरिएको हो । यो फिल्म गत अप्रिलमै रिलिज हुने तयारीमा थियो । तर, सिनेमा हल एकाएक बन्द भएपछि गुलाबो सिताबो रिलिज हुन सकेन । यो फिल्मलाई अब अमेजन प्राइम भिडियो डिजिटल प्लेटफर्मबाट यसै महिना रिलिज गरिने भएको छ ।
यसरी अक्षय कुमार र अमिताभका फिल्म डिजिटल प्लेटफर्मबाट रिलिज गर्ने निष्कर्षमा निर्माताहरू पुगेपछि बाँकी अरू फिल्मले पनि रिलिजका लागि अहिले डिजिटल प्लेटफर्म रोजेका छन् ।

गुलाबो सिताबोपछि अमिताभ बच्चनकै अर्को फिल्म झन्डु यही ८ मेमा रिलिज गरिने तयारी हुँदै थियो । कोरोना संक्रमणका कारण हल बन्द भएपछि यो फिल्मको रिलिज रोकियो । जसका कारण अब झन्डुलाई पनि यसै महिना नेट फिल्क्स डिजिटल प्लेटफर्मबाट रिलिज गरिने भएको छ । यो फिल्मका निर्माता नागराज मञ्जुले अहिलेको अवस्थामा दर्शकलाई घरमै सिनेमा देखाउन डिजिटल प्लेटफर्म उपयुक्त भएकाले आफूहरूले ओटीटीबाट रिलिज गर्न लागेको बताए ।
बलिउड अभिनेत्री जाह्नवी कपुरको फिल्म ‘गुञ्जन सक्सेना–द कारगिल गर्ल’ पनि गत अप्रिलमै रिलिज हुनेवाला थियो । तर, लकडाउनका कारण रिलिज हुन नसकेको यो फिल्मलाई अब नेटफिल्क्सबाटै रिलिज गरिने भएको छ । यो फिल्मलाई महँगो पैसा तिरेर नेटफ्लिक्सले किनेको हो ।
यस्तै, लकडाउनका कारण रिलिज हुन नसकेको बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकीको फिल्म घुमकेटु पनि जी फाइभको डिजिटल प्लेटफर्मबाट रिलिज हुने भएको छ । जी फाइभले यो फिल्मलाई यही २२ मेमा डिजिटल प्लेटफर्मबाट रिलिज गर्दै छ । फिल्मको निर्माता सोनी पिक्चर्स हो ।
यस्तै, अभिनेत्री विद्या बालनको फिल्म शकुन्तलादेवी पनि लकडाउनकै कारण रिलिज हुन सकेको छैन । यो फिल्मलाई निर्माण पक्षले अमेजन प्राइम भिडियो प्लेटफर्ममा बिक्री गरेको छ । अर्को महिना यो फिल्म डिजिटलमा रिलिज हुँदै छ । अनुराग वसुकै फिल्म लुडो पनि सिनेमा भवनमा आउनबाट कोरोनका कारण रोकियो । यो फिल्मलाई अब नेटफ्लिक्सबाट रिलिज गरिने भएको छ ।
यी सिनेमा फिल्महरू अबको दुई महिनाभित्र रिलिज हुने भएका छन् । बाँकी केही फिल्म पनि यी डिजिटल प्लेटफर्मबाट रिलिजको तयारीमा छन् । यसरी डिजिटल प्लेटफर्मबाट रिलिज भएका सिनेमालाई हलमा पछि रिलिज गर्न नसकिने चेतावनी पनि मल्टिप्लेक्स हल सञ्चालकहरूले निर्मातालाई दिएका छन् ।






