‘वैदेशिक रोजगारीमा हुने कामदारको मृत्यु, ऋण र डिजिटल फन्दाको समस्या चिर्नु आवस्यक ’

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपाली श्रमिकहरू वैदेशिक रोजगारीमा जाने क्रममा विशेषगरि तीन प्रकारका गम्भीर समस्या कामदारको मृत्यु, ऋण र डिजिटल फन्दा एवं ठगीको शिकार भइरहेकाले अब यस्तो समस्या चिर्नु आवस्यक भएको बताएका छन ।

वैदेशिक रोजगार विभागले राजधानीमा आयोजना गरेको ‘वैदेशिक रोजगार कसुर सम्बन्धी अनुसन्धान, अभियोजन, न्याय सम्पादन तथा सहजीकरण विषयक अन्तरक्रिया कार्यक्रम’ मा मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले वैदेशिक रोजगारीको क्रममा नेपाली कामदारले भोग्दै आएको यी गम्भीर समस्या चिर्न अब ढिला गर्न नहुने जिकिर गरे ।

वैदेशिक रोजगारीका लागि जाने क्रममा धेरै नेपालीले ज्यान गुमाएका छन, ठूलो ऋणको बोझमा परेका छन, धेरै जनधनको क्षति भएको छ र सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत गम्भीर रुपमा कामदार ठगिएका छन,’ मन्त्री भण्डारीले भने, ‘यी समस्या अब सामान्य उपायले समाधान हुँदैनन, गहिरो र कठोर कदम चाल्नुपर्ने बेला आएको छ ।’

उनले वैदेशिक रोजगारमा ठगीमा परेका पीडितहरूले न्यायका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुनुपर्नेमा जोड दिए ।

‘एकातिर उनीहरू ठगिन्छन्, अर्कातिर न्याय खोज्दै काठमाडौं धाउँदा फेरि आर्थिक र मानसिक सास्ती भोग्नुपर्छ । कम्तीमा नजिकको जिल्ला, स्थानीय तह वा प्रदेशमा नै कामदारको समस्या समाधान हुने बलियो संयन्त्र बनाउनु जरुरी छ,’ मन्त्री भण्डारीले भने ।

यसैगरी, वैदेशिक रोजगार ऐनको संशोधन प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै उनले व्यवहारिक कानुनी सुधार, डिजिटल सुरक्षा, ठगी नियन्त्रण, र पीडितको पहुँच सुनिश्चित गर्न श्रम ऐनमा स्पष्ट व्यवस्था गरिने बताए । उनले यस अन्तरक्रिया कार्यक्रमबाट आएका सुझावहरूलाई पनि सरकारले कानुनी सुधारमा समावेश गर्ने बताए ।
उनले वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन समयानुकूल कानुनी तथा नीतिगत सुधार आवश्यक रहेको जिकिर गर्दै वैदेशिक रोजगार ऐन संशोधनको क्रममा यस्ता महत्वपूर्ण सुझावहरू समावेश गरेर अघि बढ्नु पर्ने बताए ।

वैदेशिक रोजगार प्रणालीलाई पारदर्शी, सुरक्षित, मर्यादित र श्रमिकमैत्री बनाउने लक्ष्यका लागि सरकारी निकाय, अनुसन्धान संस्था, मानव अधिकार आयोग, नागरिक समाज र सञ्चार माध्यमबीच बहुपक्षीय समन्वय अपरिहार्य भएको भनाई थियो ।

श्रम मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्करले वैदेशिक रोजगार विभागमा रहेका मुद्दाहरुलाई प्रक्रियागत रुपमा सहि किसिमले काम गरे छिनोफानो गर्न धेरै समय नलाग्ने जिकिर गरे । उनले करिब ३४ हजार मुद्दाहरु मध्ये गम्भीर प्रकृतिका मुद्दाहरुलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए । अन्य सामान्य प्रकृतिका मुद्दाहरुलाई सहजीकरण मात्रै गरे पनि वैदेशिक रोजगारीको नाममा हुने मुद्दा’boutको समस्या समाधान गर्न सकिने बताए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले विभागमा करिब ३४ हजार भन्दा बढी ठगि लगायतका मुद्दाहरु रहेको जानकारी गराउँदै छिटोछरिटो प्रक्रियाबाट न्यायायिक निरुपणका लागि आवश्यक नीति अबलम्बन गर्नुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा उच्च सरकारी अधिकारी, अनुसन्धान निकाय, वकिल, मानव अधिकारकर्मी, श्रमिक संगठनका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थिति थियो । सहभागिहरूले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका ठगी, न्यायमा पहुँच, र संस्थागत कमजोरीका विविध पक्षमा सुझाव दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

epaper

ताजा समाचार

कास्कीको किम्रोङ खोला थुनियो, विशेष सतर्कता अपनाउन आग्रह