आदिवासी जनजाति चलचित्र महोत्सवमा थरी थरिका चलचित्र

काठमाडौं । मञ्जुश्रीले आफ्नो खड्गले चोभारको डाँडो काटेर काठमाडौँको खाल्डोको पानी बाहिर निकासा गरेपछि यहाँ बस्ती बसेको किम्बदन्ती रहेको छ । यस्ता थुप्रै रोचक किम्बदन्ती बोकेको काठमाडौँ उपत्यकाको सभ्याता संकटमा छ । यसको उत्पत्तिदेखि विकास क्रमको सभ्यातालाई शनिवार दर्शकहरूले पर्दामा हेर्ने अवसर पाए ।

शुक्रवारबाट काठमाडौँको चाबहिल स्थित चलचित्र विकास बोर्डमा सुरु भएको तीन दिवसीय ‘पाँचौँ आदिवासी जनजाति चलचित्र महोत्सव २०८२’ मा दोस्रो दिन शनिवार बिहान वृत्तचित्र ‘सिङकिङ सिभिलाईजेसन अफ काठमाडौँ भ्याली’ प्रदर्शन गरियो । ओम चरण अमात्य निर्देशित नेपाल भाषाको यो वृत्तचित्रमा काठमाडौँ उपत्यकाको विभिन्न सभ्यता र सो सभ्यता नासिँदै गरेको अवस्थालाई चित्रण गरिएको थियो । यसले काठमाडौँको सभ्यातालाई सुक्ष्म ढंगले दर्शाएको थियो ।

महोत्सवमा शनिवार यो वृत्तचित्र सहित पाँच वटा लामा छोटा चलचित्र प्रदर्शन गरियो । जस मध्य मगर समुदायको परम्परामा आधारित चलचित्र ट्याङ्चलाक (उज्यालोतिर) पनि रमाइलो थियो । मेक बहादुर पुन निर्देशित यो चलचित्रमा मगर समुदायमा पुस्तान्तरणको प्रभाव प्रस्तुत गरिएको थियो ।

महोत्सवमा शनिवार नै जनक गुरुङ निर्देशित गुरुङ भाषाको चलचित्र जिउनी, लुज सिंह निर्देशित नेपाल भाषाको लघु चलचित्र सकिपाया युना र कमल एक्चै मगर निर्देशित वृत्तचित्र मगरको चिनारी रहेको थियो । एकै थलोमा विभिन्न भाषा संस्कृतिका थरी थरी चलचित्र हेर्न पाउँदा निकै रमाइलो लागेको महोत्सवमा सहभागी दर्शकहरूले राजधानीलाई बताए ।

१७ वटा आदिवासी जनजाति समुदायका चलचित्रकर्मीहरूको छाता संस्था आदिवासी जनजाति चलचित्र महासंघले यो महोत्सव आयोजना गरेको हो । रक्षा मन्त्री मानवीर राईले शुक्रवार मध्यान्नमा उद्घाटन गरेको यो महोत्सव आइतबार बेलुकासम्म चलचित्र विकास बोर्डमा जारी रहने छ । नेपाली आदिवासी चलचित्र क्षेत्रमा योगदान पु¥याउने केही चलचित्रकर्मी र सञ्चारकर्मीलाई उद्घाटन समारोहमा सम्मान गरियो । महोत्सवको उद्घाटन समारोहमा विभिन्न आदिवासी समुदायले आफ्ना सांस्कृतिक झाँकीहरू कार्यक्रम स्थलमा प्रस्तुत गरेर एकतामा अनेकताको सन्देश दिएका थिए ।

उद्घाटन समारोहमा रक्षा मन्त्री राईले मुलुकमा गणतन्त्र स्थापना भएपछि आदिवासी जनजाति समुदायको भाषा संस्कृतिको उच्च रूपमा प्रवर्धन भएको बताए । राजाको शासनमा एक भाषा भए भेष भएको नेपालमा गणतन्त्र पछि बहु भाषा बहु भेषले उच्च सम्मान पाएको पनि मन्त्री राईले कार्यक्रममा जिकिर गरे ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अहिले संसदमा रहेको राष्ट्रिय चलचित्र नीतिमा आदिवासी जनजाति चलचित्रको पक्षमा केही कुराहरू छुटेकाले त्यसलाई थप्न आफूले पहल गरिरहेको बताए ।

महोत्सवकी निर्देशक प्रतिमाया पुनले आदिवासी जनजाति चलचित्रको प्रवद्र्धन, मौलिक भाषा संस्कृतिको संरक्षण भन्ने मुख्य उद्देश्यका साथ यो महोत्सव आयोजना गरिएको उद्घाटन समारोहमा बताइन् । महासंघकी अध्यक्ष भुइसल लामाले नेपालमा आदिवासी जनजातिका चलचित्रले नेपालकै चलचित्र घरमा प्रदर्शन हुने उचित अवसर अझै नपाएको गुनासो गरिन् ।

महोत्सवमा यस पटक नेपालका र विदेशका गरेर १९ वटा चलचित्र चयन भएका थिए । जसमा नेपालको १५ वटा चलचित्र र विदेशका चार वटा चलचित्र सहभागी थिए । ती मध्य महोत्सवको पहिलो दिन शुक्रवार ७ वटा चलचित्र एवम् वृत्तचित्र, शनिवार पाँच वटा चलचित्र एवम् वृत्तचित्र प्रदर्शन गरियो । बाँकी चलचित्र एवम् बृत्तचित्र आइतबार प्रदर्शन गरिने महोत्सव निर्देशक प्रतिमाया पुनले राजधानीलाई जानकारी गराइन् । शनिवार महोत्सवमा वर्षाको बाबजुद पनि दर्शकहरूको राम्रो उपस्थिति भएको पनि पुनले जानकारी गराइन् । महोत्सवमा आइतबार विहान ८ः३० बजेबाटै चलचित्र हेर्नको लागि उनले दर्शकलाई निम्ता गरेकी छिन् ।

प्रतिमायाका अनुसार महोत्सवमा आइतबार ताइवानी निर्देशक चाङ चाई वेई निर्देशित चलचित्र १०१० कुकापुंगाने बिहानी सत्रमा प्रदर्शन गरिने भएको छ । त्यसपछि मध्यान्नमा नर्वेका निर्देशक जोहनेस भाङको दुई वटा चलचित्र रेड– स्याडेड ग्रिन र आह्की– ड्याड पनि प्रदर्शन गरिने प्रतिमायाले जानकारी गराइन् । आइतबार नै गुरुङ चलचित्र मि–थी (खुला आँखा) र सैँर्बे ट –मनको फुल) पनि प्रदर्शन गरिने भएको छ ।

आइतवार बेलुका महोत्सवको समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट भएकाहरू चलचित्र, कलाकार एवम् प्राविधिकलाई अवार्ड प्रदान गरिने छ । यस पटक उत्कृष्ट चलचित्र, निर्देशक, पटकथाकार, छायांकार, लघु चलचित्र, वृत्तचित्र, पब्लिक च्वाइस अवार्ड र जुरी प्रोत्साहन विधामा अवार्ड प्रदान गरिने आयोजक पक्षले जानकारी गराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

epaper

ताजा समाचार

कृषि यान्त्रिकीकरणमा जोड, किसानलाई मिनी टिलरदेखि प्लास्टिक टनेलसम्म