कृषि यान्त्रिकीकरणमा जोड, किसानलाई मिनी टिलरदेखि प्लास्टिक टनेलसम्म

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाले कृषि उत्पादनमा बृद्धि, लागत न्यूनीकरण र कृषिको आधुनिकीकरणलाई प्राथमिकता दिँदै किसानलाई कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत लागत सहभागितामा १४ जना किसानलाई हाते ट्र्याक्टर (मिनी टिलर), २५ जनालाई मल्चिङ प्लास्टिक तथा १०२ जना किसानलाई १४७ वटा प्लास्टिक टनेल वितरण गरेको हो ।

नगर प्रमुख कालुमान लामाले कृषि सामग्री वितरण गरिएको हो । व्यक्तिगत किसानसँगै कृषि समूह, कृषि फर्म र कृषि सहकारीलाई समेत सामग्री उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ । परम्परागत कृषि प्रणालीलाई क्रमशः यान्त्रिक र व्यावसायिक बनाउँदै उत्पादन तथा उत्पादकत्व बृद्धि गर्ने उद्देश्यले कृषि सामग्री वितरण गरिएको नगर प्रमुख लामाको भनाइ छ ।

नगरपालिकाका कृषि शाखाका अनुसार किसानको लागत घटाउने, उत्पादन बढाउने तथा कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले कृषि सामग्री वितरण कार्यक्रम सञ्चालन गरिएको हो । हाते ट्र्याक्टर अर्थात् मिनी टिलरले खेत जोत्न तथा कृषि कार्यमा आवश्यक श्रम र समय घटाउने अपेक्षा गरिएको छ ।

त्यसैगरी, मल्चिङ प्लास्टिक र प्लास्टिक टनेलको प्रयोगबाट मौसम अनुसारको उत्पादनमा सहजता आउने तथा तरकारी खेतीलाई थप व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुग्ने नगर प्रमुख लामाको विश्वास छ । नगर प्रमुख लामाले कृषि क्षेत्रलाई नगरपालिकाको आर्थिक समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकास गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।

किसानको मेहनत र लगानीलाई प्रविधिसँग जोड्न सके उत्पादन बढाउनुका साथै कृषि व्यवसायलाई दिगो र व्यावसायिक बनाउन सकिने उनको भनाइ छ । कृषिमा लागत घटाउने, उत्पादन बढाउने र यान्त्रिकीकरण मार्फत कृषि व्यवसायलाई व्यावसायिक बनाउँदै आधुनिक कृषि प्रणालीको विकास गर्नु हाम्रो प्राथमिकता हो,’ नगर प्रमुख लामाले भने, ‘कृषि क्षेत्रमा आत्मनिर्भर नगर निर्माण गर्ने लक्ष्य सहित किसानलाई आवश्यक सामग्री र प्रविधिमा सहयोग गर्दै जानेछौं ।

नगरपालिकाले कृषि क्षेत्रमा उत्पादन बृद्धि गर्न किसानलाई आवश्यक प्रविधि, उपकरण तथा सामग्रीमा सहजीकरण गर्दै आएको जनाएको छ । कृषि सामग्रीमा गरिएको लागत सहभागिताले किसानलाई प्रविधिको पहुँचमा ल्याउनुका साथै आफ्नै लगानीमा कृषि व्यवसाय विस्तार गर्न प्रोत्साहन मिल्ने नगरपालिकाको अपेक्षा छ ।

प्लास्टिक टनेल र मल्चिङ प्रविधिको प्रयोगले तरकारी तथा अन्य बालीमा मौसमको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न, उत्पादनको गुणस्तर कायम गर्न तथा खेतीयोग्य जमिनको प्रभावकारी उपयोग गर्न सहयोग पुग्ने कृषि क्षेत्रका जानकारहरू बताउँछन् । त्यस्तै, मिनी टिलरको प्रयोगले श्रमिक अभाव र परम्परागत कृषि उपकरणका कारण बढ्दै गएको उत्पादन लागत कम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

कृषिलाई निर्वाहमुखी अवस्थाबाट व्यावसायिकतातर्फ लैजाने योजना अन्तर्गत किसानलाई समूह, फर्म तथा सहकारी मार्फत प्रविधि र सामग्रीमा जोड्ने नीति नगरपालिकाले लिएको नगर प्रमुख लामाले जानकारी दिए । यसबाट उत्पादनमा बृद्धि हुनुका साथै स्थानीयस्तरमै रोजगारी र आम्दानीका अबसर सिर्जना हुने अपेक्षा गरिएको छ । कृषिमा यान्त्रिकीकरण, आधुनिक प्रविधिको प्रयोग र किसानको प्रत्यक्ष सहभागितालाई एकीकृत गर्दै अघि बढ्ने नगरपालिकाको योजनाले चौदण्डीगढीलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । किसानको मेहनतमा स्थानीय सरकारको प्रविधिगत साथ थपिँदै गए कृषि क्षेत्रलाई नगरको आर्थिक विकासको प्रमुख आधार बनाउन सकिने नगर प्रमुख लामाको विश्वास छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

कृषि यान्त्रिकीकरणमा जोड, किसानलाई मिनी टिलरदेखि प्लास्टिक टनेलसम्म