काठमाडौं । भक्तपुरका रामप्रसाद सुवालले बिहान ३ बजेदेखि लाइन बस्दा पनि सहकारीबाट १० किलो रासायनिक मल पाएनन् । रोपाइँ गर्ने समयमा मल पाइएला भनेर सहकारीमा सदस्य बनेका उनले मलका लागि अर्को साता कुर्नुपर्ने भएको छ ।
असारमा पनि पाएनन् किसानले मल
सरकारले सहकारी संस्थामार्फत रासायनिक मल दिने भएपछि उनी सहकारीमा मल पाउनकै लागि सदस्य बनेका थिए । दैनिक ३ सय जनालाई १० किलोका दरले मल उपलब्ध गराउने भनिए पनि सुवालले मल पाउन सकेनन् । खासमा उनलाई एक बोरा नै रासायनिक मलको आवश्यकता छ तर सहकारीले १० किलो मात्र दिने भनेपछि उनी बिहानै लाइन बसे तर मल पाएनन् । सहकारीमा सदस्य नबनेका किसानको भने अहिले विजोग नै भएको छ ।
सुवाल मात्र होइन भक्तपुरकै अर्का किसान हरिशरण साँयजूको अवस्था पनि उस्तै छ । मलबिना कसरी धान रोप्ने भन्ने चिन्तामा साँयजू पिरोलिरहेका छन् । भक्तपुरमा मात्र नभई अहिले देशभरि नै रासायनिक मलको हाहाकार रहेको छ ।
किसानले अहिले मात्रै मलको अभावको सामना गरेका भने होनन् । बर्सेनि समस्या भोग्दै आएका किसानले गत हिउँदे बाली लगाउने सयमा पनि मल पाएका थिएनन् ।
कृषि मन्त्रालय, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड गैरजिम्मेबार बन्दा मलको अभाव हुने गरेको हो । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले फोन नउठाउने मात्र नभई वेबसाइटमा समेत मलको विवरण राख्न चासो राखेका छैनन् । रोपाइँको मौसममा किसानले मल त पाएनन् नै मलसम्बन्धी सूचनाको हकसमेत पाएका छैनन् ।
यो मुलुकमा कहिल्यै पनि मल सहज तरिकाले नपाइने भयो, एक किसानले भने, ‘कृषिमन्त्री र सांसदहरू भने मलको अभाव हुन नदिने र मल कारखाना खोल्ने भनेर भाषण दिइ नै रहेका छन् तर रोपाइँको समयमा मल नै पाइँदैन ।’
कृषकको सहजताका लागि २०७० सालबाट कृषि सामग्री कम्पनीको मल साल्ट ट्रेडिङले पनि बिक्री गर्न पाउने व्यवस्था गरिएको थियो । मल वितरण गर्ने जिम्मा भने सहकारी संस्थाले पाइरहेका छन् । सहकारीका सञ्चालकहरूले भने बोराका बोरा मल पाउने तर सामान्य किसानले भने १० किलोका लागि पनि घण्टौं लाइन बस्नुपरेको गुनासो किसानहरूको छ ।
दैनिक सहकारीमा धाएर किसान हैरान भएपछि सहकारी सञ्चालक पनि मल लिनका लागि कृषि सामग्री कम्पनीमा पुग्न बाध्य भइरहेका छन् । तर, कम्पनी भने १० बोरा लैजाऊ, ५ बोरा लैजाउ भनेर पन्छिने गरेको एक सहकारीका सञ्चालकले बताए । सरकारले जहिल्यै मुख्य सिजनमै मलमा किसानलाई धोका दिने गरेको गुनासो किसानको छ ।
सरकारको लापरबाहीका कारण यस वर्ष पनि मुख्य सिजनमै रासायनिक मल अभाव भएको भन्दै देशैभर किसानले गुनासो गरिरहेका छन् । बारीको मकै, असारे धान र बीउमा राख्नका लागि मलको चरम अभाव भएको किसानहरूको गुनासो छ । पूर्ण सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड र अर्धसरकारी स्वामित्वको साल्ट ट्रेडिङ कम्पनीले मल आयात गर्छन् । सरकारले यस वर्ष मल आयातका लागि २७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका थियो । पहिले बजेटबाटै १५ अर्ब मल खरिदमा छुट्ट्याइएकामा पछि थप १२ अर्ब रुपैयाँ सरकारले मलका लागि दिएको थियो ।
सरकारले भारतसँग ५ वर्षका लागि जीटूजीमार्फत रासायनिक मल ल्याउने सम्झौता गरेको थियो । सरकारी तहमा भएको सम्झौता दुई देशका मल खरिद गर्ने कम्पनीबीचको सम्झौतामा गएर अड्किएको बताइएको छ ।
सरकारी अनुदानमा र सरकारी निगरानीमै कृषि सामग्री कम्पनीले ७० प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ३० प्रतिशत रासायनिक मल खरिद गरी किसानलाई सस्तो मूल्यमा बिक्री गर्ने जिम्मा पाए पनि जिम्मेवारी पूरा गर्न सकेका छैनन् ।
देशमा रासायनिक मल उत्पादन गर्ने उद्योग नभएकाले औपचारिक र अनौपचारिक संयन्त्रमार्फत विदेशबाट मल आयात गर्नुपर्ने भए पनि मागअनुसार पर्याप्त परिणाम आयात हुन नसक्नु मल अभावको मुख्य कारण हो । रुस–युक्रेनको द्वन्द्वले रासायनिक मलको अन्तर्राष्ट्रिय बजारमा प्रभाव परेको छ । नाइट्रोजन, फस्फोरस र पोटास मलको प्रमुख उत्पादक रसियाले आन्तरिक कानुन र युद्धमा आधारित प्रतिबन्धका कारण मलको निर्यात सीमित गरेको छ ।
हाल ५ हजार ३ सय सहकारी तथा सहकारीसम्बद्ध पसलले मलको खुद्रा बिक्रेताका रूपमा काम गरिरहेका छन् ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा रासायनिक मल आपूर्तिका लागि २८ अर्ब ८२ करोड विनियोजन गरेको जनाएको छ ।
मन्त्री अधिकारीका अनुसार यसपालि मलको अभाव भए पनि अर्को साल ६ लाख मेट्रिक टन मल आयात गर्ने योजना रहेको छ । उनले अर्थ मन्त्रालयबाट सुनिश्चितता प्राप्त भई आगामी आवमा आपूर्ति गरिने ३ लाख मेट्रिक टन मलका लागि टेन्डर आह्वान र सोअनुसारको मल आगामी आवको पहिलो त्रैमासिकभित्र आपूर्ति हुने दाबी गरे ।
मन्त्री अधिकारीले रासायनिक मलका लागि लगानी बोर्डको नेतृत्वमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी अध्ययन भइरहेको र मन्त्रालयले आवश्यक राय परामर्श गरेको बताए ।
मन्त्री अधिकारीका अनुसार चालू आवमा रासायनिक मल आयातका लागि २७ अर्ब ९५ करोड बजेट विनियोजन भएकामा ५ लाख ५० हजार मेट्रिक टन मल आयातका लागि टेन्डर भई हालसम्म ३ लाख ४५ हजार मेट्रिक टन मल आयात भइसकेको छ ।
धान रोपाईंका लागि ६० हजार मेट्रिक टन युरिया र ७० हजार मेट्रिक टन डीएपी आवश्यक पर्नेमा मौज्दातमा रहेको ६४ हजार मेट्रिक टन मल र आयात हुने क्रममा रहेको मलबाट माग पूरा हुने उनले बताए ।
कृषिमन्त्री रामनाथ अधिकारीले किसानका लागि आवश्यक रासायनिक मल मौज्दातमा रहेकाले कुनै चिन्ता नलिन आग्रह गरे ।
धान रोपाइँका लागि ६० हजार मेट्रिक टन युरिया र ७० हजार मेट्रिक टन डीएपी आवश्यक पर्नेमा मौज्दातमा रहेको मल र आयात हुने मलबाट माग पूरा हुने जिकिर उनको छ ।






