भारतमा ५७ नेपालीलाई कुटपिट र चरम यातना

काठमाडौं । आकर्षक रोजगारीको प्रलोभनमा परी दलालमार्फत भारत पु-याइएका ५७ नेपालीलाई कुटपिट र चरम यातना दिइएको घटना बाहिरिएको छ ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार नेपालका विभिन्न जिल्लाका युवालाई भारतको उत्तराखण्डको काशीपुरमा बोलाई बन्दी बनाएर कुटपिट र यातना दिएको पाइएको हो ।

कुटपिट र यातना दिँदै विभिन्न शीर्षकमा रकम असुल गरेको भन्ने जानकारीमा आएपछि परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम नेपाली दूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इन्डिया’ (सामाजिक संस्था)को सहयोगमा दलालको फन्दाबाट बाहिर निकालेको छ । उनीहरूलाई उत्तराखण्ड प्रहरी र ‘किन इन्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा ५ असारमा ३५ जना र ८ असारमा २२ जनाको उद्धार गरिएको दूतावासले जनाएको छ । अहिलेसम्म ५७ जनाको उद्धार गरिएको छ भने घटनासँग सम्बन्धित केही व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको छ ।

त्यसैगरी, उत्तराखण्डका अन्य स्थानमा बन्दी बनाइएका थप नेपाली युवाको खोजी र उद्धार कार्य जारी रहेको दूतावासले जनाएको छ । साथै, उद्धार गरिएका व्यक्तिलाई कानुनी प्रक्रिया सम्पन्न भएपछि नेपाल पठाइने दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।

भारतको नाका हुँदै दैनिकजसो विभिन्न माध्यमबाट गैरकानुनी रूपमा महिलाहरू तस्करीको सिकार भइरहेका छन् । विशेष गरेर ग्रामीण क्षेत्रका महिला एवं किशोरीहरूलाई रोजगारीको प्रलोभनमा तस्करी गर्ने गरिएको छ ।

नेपालबाट दलालहरूले नेपाली युवा युवतीहरूलाई भारत हुँदै गैरकानुनी तरिकाले खाडी मुलुक ओमन, बहराइन, यूएई, साउदी अरब, कुवेत र इराकजस्ता देशहरूमा पठाउने गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

epaper

ताजा समाचार

चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा