काठमाडौं । आईएमई ग्रुपले देशमै पहिलोपटक फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
आईएमई ग्रुपको करिब डेढ अर्ब रुपैयाँ लगानीमा रौतहटको फतुवा विजयपुरमा स्थापना गरिएको एभरेस्ट फाइबर सिमेन्ट बोर्ड प्रालिले बुधबारबाट अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट बोर्ड उत्पादन सुरु गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौंमा आयोजित कार्यक्रममा भर्चुअल माध्यमबाट सो उद्योगको उद्घाटन गर्दै नेपालमै गुणस्तरीय, वातावरणमैत्री र अत्याधुनिक प्रविधिमा आधारित उद्योग स्थापना हुनु औद्योगिक विकासतर्फको महत्वपूर्ण संकेत भएको बताए ।
आफ्नै देशमा उत्पादन गरेर आयात प्रतिस्थापन मात्र होइन, निर्माण क्षेत्रलाई दिगो बनाउने तिरको यो ठूलो पाइला भएको बताउँदै मन्त्री भण्डारीले सरकारले यस्ता उत्पादनमुखी लगानीलाई सधैं प्रोत्साहन गर्ने जानकारी गराए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशभित्रै स्वदेशी कच्चा पदार्थ र स्थानीय स्रोतको उपयोग गरी निर्माण क्षेत्रमा योगदान दिन नयाँ उद्योग स्थापना गरिएको बताए ।
यसले विदेशी मुद्रा बाहिरिनबाट रोक्ने र देशलाई आत्मनिर्भर बनाउने बाटो खोलिएको धारणा राख्दै ढकालले भने, ‘नेपालमै अन्तर्राष्ट्रियस्तरको निर्माण सामग्री उत्पादन सम्भव छ भन्ने सन्देश यस उद्योगले दिएको छ ।’ एभरेस्ट उद्योगमा बोर्ड उत्पादनका सम्पूर्ण प्रक्रिया (कच्चा पदार्थको मिसावटदेखि कटिङ, प्रेसिङ र ड्राइङसम्म) पूर्ण रूपमा अटोमेटेड प्रविधिमा आधारित छन् । उद्योगले दैनिक ७५ हजार स्क्वायर फिट फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्न सक्छ । उत्पादित बोर्डहरू ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएम मोटाइसम्म उपलब्ध छन् ।
यी बोर्ड लचकदार, अग्नि प्रतिरोधी, घामपानीको असर नपर्ने, वातावरणमैत्री र टिकाउ भएको सो कम्पनीले जनाएको छ । प्रयोगकर्ताले भवनको बाहिरी भाग, पाटेसन, फल्स सिलिङ, मोडुलर किचन, इको प्यानललगायत संरचनामा यसको सहज प्रयोग गर्न सकिने सो कम्पनीले जनाएको छ ।
इँट्टा र प्लास्टरको विकल्पमा सम्पूर्ण संरचना निर्माणमा पनि यस बोर्डको प्रयोग सम्भव हुने दाबी सो कम्पनीको छ । यसको प्रयोगबाट भवन निर्माणको काम पनि १०–१५ दिनमै सम्पन्न गर्न मिल्ने भएकाले यसको माग अन्तर्राष्ट्रिय बजारमा पनि बढ्दो क्रममा रहेको उनले बताए ।
भूकम्प, बाढी वा पहिरोजस्ता प्राकृतिक प्रकोपका बेला आपत्कालीन संरचना निर्माणमा पनि यो बोर्ड निकै उपयोगी हुने सो कम्पनीको दाबी छ । यसैगरी, प्लास्टर वा रङको झन्झट नहुने भएकाले समय र लागतमा समेत यस बोर्डको उपयोग निकै उपयोगी एवं सस्तो हुने कम्पनीको दाबी छ । स्थानीय रोजगार प्रवर्धनमा समेत उद्योगले विशेष जोड दिएको छ । हाल यस उद्योगमा करिब २ सय जनाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् ।
९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति र ४० प्रतिशतभन्दा बढी महिला कामदार रहेको सो उद्योग व्यवस्थापनले जनाएको छ । सो उद्योगमा कार्यरत महिला बोर्ड प्रोसेसिङदेखि प्याकिङसम्मका सबै काममा संलग्न छन् । एभरेस्ट फाइबर सिमेन्ट बोर्ड प्रालिले वातावरणमैत्री, गुणस्तरीय र प्रतिस्पर्धी उत्पादनमार्फत नेपाली निर्माण क्षेत्रमा दीर्घकालीन योगदान दिने लक्ष्य लिएको बताइएको छ ।






