पोखरा । फेवातालमा झण्डै एक महिनामा ३ सय ६० सीमा स्तम्भ गाडिएको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश र नेपाल सरकारको संयुक्त पहलमा ताल घरमा गत १७ जेठदेखि सीमा स्तम्भहरू गाड्ने कार्यको सुरुआत गरेको थियो ।
सर्वोच्च अदालतको आदेशअनुसार यसको संरक्षणका लागि तालको पुनः सीमाङ्कनपश्चात् सीमा स्तम्भ गाड्ने जारी रहेको हो । पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख प्रकाश सुवेदीका अनुसार बिहीबारसम्म ३ सय ६० सीमा स्तम्भ गाडिएका हुन् ।
बिहीबार फेवातालको भकुण्डे माछापोखरी क्षेत्रमा पिल्लर गाड्ने कार्यको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले निरीक्षण समेत गरे । उनले फेवाताल संरक्षण सम्बन्धमा सर्वोच्चको आदेशानुसार महानगरपालिकाले सम्बद्ध निकायहरूसँग समन्वय गरी आवश्यक कार्यहरू गरिरहेको बताए । ताल घरमा सीमा स्तम्भ गाड्ने कार्यमा खटिएका सर्वेक्षक, प्राविधिक, नगर प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उनले हौसला प्रदान गरेका थिए । बाटो असुविधा रहेको ठाउँमा सीमा स्तम्भ गाड्नका लागि मजदुरहरुले गहँुरो सीमा स्तम्भ बोकेरै पु-याउने गरेका छन् ।
तालको ६ दशमलब ३४३ वर्ग किलोमिटर क्षेत्रफलको चारकिल्लामा १ हजार ५५ वटा पोलहरू गाड्ने योजना छ । पहिलो चरणमा ताल घरमा सीमा स्तम्भ गाड्ने र दोस्रो चरणमा तालघरमा पर्ने जग्गाको अवस्था अध्ययन गरी मुआब्जा दिनपर्ने वा नपर्ने, दूषित दर्ता, ३१ साल अघि तथा पछिको दर्ता, भौतिक संरचनाको अवस्था लगायतको यकिन गरिने योजना छ ।
पछिल्लो समय फेवाताल प्राकृतिक र मानवीय अतिक्रमणको चपेटामा पर्दै जाँदा यसको आकार घट्दो छ । सीमा स्तम्भ गाड्ने कार्यले ताल संरक्षण हुनुका साथै पोखराको पर्यावरण, प्राकृतिक सम्पदा र सांस्कृतिक पहिचान जोगाउन ऐतिहासिक महत्व राख्ने विश्वास गरिएको छ ।

ताल संरक्षणका लागि सर्वोच्चको पछिल्लो फैसला कार्यान्वयनका लागि गठित फैसला कार्यान्वयन सहजीकरण समितिले तत्कालका लागि चारै दिशातर्फ सीमा स्तम्भ गाड्ने निर्णय गरेको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए । उनले अदालतको फैसला कार्यान्वयनका लागि बाँकी कामहरू क्रमशः गर्दै जाने योजना पनि रहेको जनाए । तालको पछिल्लोपटक पुनः नापजाँच गरी यथार्थ अवस्था’bout विवरण यकिन गरिएको छ । प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डिजिपिएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण गरेको थियो । जसमा २९ मुख्य आधार विन्दुहरू कायम गरी ४० सेमी उचाइका २९ पिल्लर जमिनमुनि गाडिएका छन् । यसको आधारमा ९ हजार नियन्त्रण बिन्दुहरू कायम गरिएको छ ।
सिँचाइ डिभिजन कार्यालय कास्कीको १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययनपश्चात् फेवातालको हाई फ्लोड लेबल ७९४ दशमलब ९५ मिटर कायम गरिएको हो । उक्त विन्दुलाई हाई फ्लोड लेभल आधार मान्दा तालघर ६ दशमलब ३४३ वर्ग किमी अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउँछ । सर्वोच्चले तोकेको ६५ मिटरसमेतको कुल क्षेत्रफल ७.६१६ वर्ग किमी अर्थात् १४ हजार ९७० रोपनी ५ आना २ दाम कायम हुने मेयर आचार्यले बताए ।
गत ४ असार, २०८० मा सर्वोच्चले नेपाल सरकार, गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको नाममा तालको यथार्थ अवस्थाको अध्ययन गरी पानीको उच्चतम् विन्दुबाट ६५ मिटरको मध्यवर्ती क्षेत्र घोषणा गरी पूर्णरूपले हरियाली प्रवद्र्धन गर्नू गराउनू भनी उत्प्रेषणयुक्त परमादेश दिएको थियो । ६५ मिटर मापदण्ड कार्यान्वयन भए करिब ५ सय संरचना भत्काउनुपर्छ ।






