काठमाडौं । भक्तपुरस्थित तःमारी (तौमधिः)मा न्यातपोल (पाँचतले) मन्दिरको ३२३औं स्थापना दिवस (बुसादाँ) बिहीबार मनाइएको छ ।
भक्तपुरको टौमढीस्थित प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक महत्वको पाँचतले मन्दिर न्यातपोल निर्माणको ३२३ वर्ष पूरा भएको छ । यस दिनलाई नेवारी भाषामा ‘ङातापोँलया बुसादाँ’ भनिन्छ । यो दिन तान्त्रिक विधिअनुसार पूजापाठ र दान दक्षिणा दिने चलन छ । यस दिन मन्दिरको मूलढोका खोलेर सम्बन्धित जोशी, आचाजु पुरोहितले सबैको सुख र शान्तिको कामना गर्दै विधिअनुसार पूजापाठ गर्ने र सामान्य सरसफाइ र मर्मत सम्भारसहित माथि गजुरमा ध्वजा चढाइएको छ ।
सो मन्दिर तत्कालीन मल्ल राजा भूपतिन्द्र मल्लले १८औं शताब्दी अर्थात् नेपाल संवत् ८२२ असार शुक्ल प्रतिपदाको दिन निर्माण पूरा भएको अभिलेख छ । अभिलेखमा मन्दिर निर्माण पूरा भएको असार शुक्ल प्रतिपदाका दिन पहिलो वर्ष बन्धन पूजा गर्ने प्रचलन रहेको पाइन्छ । त्यसैले, प्रत्येक वर्ष असार शुक्ल प्रतिपदामा न्यातपोलको विशेष वर्षबन्धन पूजा गर्ने गरिन्छ ।
मन्दिरको सरसफाइ र मर्मत गर्ने उद्देश्यले राजा भूपतिन्द्र मल्लले वर्षमा एकपटक वर्ष बन्धन पूजाको परम्परा चलाएका हुन् । मन्दिरमा सिद्धीलक्ष्मी, भैरव र बेतालको पूजा गरिन्छ । यस्तै, यस दिन अवाल समुदायले मन्दिरमाथिको छानाको सरसफाइ गरेर न्यातपोल मन्दिरको जन्मदिन मनाउने गरेका छन् ।
मन्दिरलाई देवीमा तान्त्रिक शक्तिका स्वरूपमा पनि लिने कारण मन्दिरभित्र तान्त्रिक विद्या भएका व्यक्ति मात्र प्रवेश गर्नसक्ने मान्यता छ । मल्ल राजाको पालामा मन्दिर निर्माणका लागि छालिङ, जितपुर, बागेश्वरी, सक्व, झौख्य, चाँगु, गोकर्ण, पन्तीका स्थानीयले सहयोग गरेका थिए । त्यस समयमा मन्दिर निर्माणको भोजमा ३० हजार मानिसको उपस्थिति थियो । जुन भक्तपुरका बासिन्दाभन्दा चार दोब्बर मानिस रहेको मानिन्छ ।






