काठमाडौं । आगामी आर्थिक वर्ष २०८२–८३ का लागि काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको महत्वाकांक्षी बजेट ल्याएको छ । १० असारभित्रै ल्याइसक्नुपर्ने बजेट महानगरमा नगरप्रमुख बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको टकरावका कारण असार मसान्तमा बजेट पेस भएको हो ।
चालू आवमा २४ अर्बको बजेटमा १३ अर्ब रुपैयाँ मात्र खर्च
चालू आवमा २४ अर्बको बजेटमा १३ अर्ब रुपैयाँ मात्र खर्च गर्न सफल भएका कारण यसपालिको बजेटलाई महत्वाकांक्षी बजेट भनिएको हो । आगामी आवका लागि आर्थिक विकास, कार्यालय सञ्चालन तथा प्रशासनिक, पूर्वाधार विकास, सामाजिक विकास र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रबाट सञ्चित कोषमा भार पर्ने खर्च २५ अर्ब ११ करोड ४३ लाख ११ हजार रुपैयाँ र जग्गा एकीकरण आयोजनाहरू तथा अन्य निकायबाट प्राप्त हुने कार्यक्रमका लागि खर्च रकम ६५ करोड रुपैयाँ सञ्चित कोषमा भार नपर्नेगरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ११ हजार रुपैयाँबराबर विनियोजन गरिएको छ ।
बजेटको स्रोतमध्ये काठमाडौं महानगरपालिकाको आन्तरिक आय र बैंक मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख व्यहोरिने उपप्रमुख सुनिता डंगोलले उल्लेख गरेकी छन् ।
महानगरपालिकाले नेपाल सरकार तथा प्रदेश सरकारबाट ससर्त तथा समानीकरण अनुदान र राजस्व बाँडफाँटबाट ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरेको छ । महानगरले पूर्वाधार विकासतर्फ ५१ प्रतिशत अर्थात् १२ अर्ब ८० करोड ८३ लाख १४ हजार रुपैयाँ विनियोजन गरेको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत अर्थात् ३ अर्ब १ करोड ३७ लाख २१ हजार छुट्याइएको छ ।
कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १४ प्रतिशत अर्थात् ३ अर्ब ५१ करोड ६० लाख ८ हजार रुपैयाँ खर्च गर्ने लक्ष्य महानगरको छ । नगरसभामा बजेट पेस गर्दै उपप्रमुख डंगोलले फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्धन, सहरी स्वास्थ्य प्रवर्धन केन्द्रको क्षमतावृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवर्धन गरी रोजगारी र आयवृद्धि गर्ने कार्यक्रमलाई समेत उच्च प्राथमिकतामा राखिएको उल्लेख गरेकी छन् ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्रको ध्वनि प्रदूषण कम गर्ने र सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने घोषणा बजेटमार्फत गरिएको छ । महानगरले ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्व बेकेका मठ, मन्दिर, बहाल, पोखरी, हिटी, वहाःवही, ननीलगायतका सम्पदास्थलहरूको संरक्षण र प्रवर्धनमा जोड दिने बजेटमा उल्लेख गरेको छ ।
महानगरले चालू आव २०८१–८२ मा नगरसभाले पारित गरेको २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ बजेटमध्ये २५ असारसम्म १३ अर्ब ३ करोड ७४ लाख ६० हजार रुपैयाँ मात्र खर्च गर्न सकेको छ ।
खर्च गर्न असफल रहेको महानगरले यसपटक खर्च क्षमताभन्दा दोब्बर बजेट विनियोजन गरेको छ ।
चालू आवमा महानगरले पुँजीगत बजेट ५० प्रतिशतभन्दा पनि कम खर्च गरेको छ । चालू बजेट ६३ दशमलव ४२ प्रतिशत खर्च भएको छ ।
महानगरले पुँजीगत बजेट १५ अर्ब ६ करोड ५६ लाख विनियोजन गरेको थियो । यसमध्ये २५ असारसम्म ६ अर्ब ७३ करोड ७४ लाख मात्र खर्च हुन सकेको छ । जुन लक्ष्यको ४४ दशमलव ७२ प्रतिशत हो ।
चालू खर्चतर्फ महानगरले ९ अर्ब ८२ करोड २० लाख ५० हजार रुपैयाँ विनियोजन गरेकामा २५ असारसम्म ६ अर्ब २२ करोड ९९ लाख ८० हजार रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ६३ दशमलव ४२ प्रतिशत हो ।
आगामी आव २०८२–८३ सुरु हुन चार दिन बाँकी रहँदा महानगरले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको हो । १० असारभित्र बजेट पेस गर्नुपर्ने भए पनि महानगरले असार मसान्तमा बजेट पेस गरेको हो ।
यो बजेट ३२ असारका दिन पारित गर्ने महानगरका प्रवक्ता नवीन मानन्धरले बताए ।
महानगरले सामाजिक विकासका लागि ५ अर्ब २ करोड २८ लाख, पूर्वाधार विकासका लागि १२ अर्ब ८० करोड ८३ लाख र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ३ अर्ब १ करोड ३७ लाख रुपैयाँ विनियोजन गरेको छ ।
महानगरले आगामी पुस मसान्तसम्म करको दायरामा आउने करदाताका लागि छुटको व्यवस्था पनि ल्याएको छ । यस्तै, महानगरले उठाउने बहाल करलाई एकद्वार प्रणालीमा आबद्ध गर्न संघीय सरकारसँग समन्वय गरिने जनाएको छ ।






