काठमाडौं । नेपालको निजी क्षेत्रको पहिलो टेलिभिजन ईमेज च्यानलको व्यवस्थापन परिवर्तन भएको छ । विगत २७ वर्षदेखि आरके मानन्धरको अध्यक्षतामा सञ्चालन हुँदै आएको ईमेज च्यानल टेलिभिजन आगामी १ साउनदेखि नयाँ व्यवस्थापनअन्तर्गत सञ्चालन हुने भएको हो ।
ईमेज च्यानल टेलिभिजनसँगै ईमेज एफएम ९७.९र ईमेज खबर डटकम पनि नयाँ व्यवस्थापनअन्तर्गत नै सञ्चालन हुनेछन् । नयाँ व्यवस्थापनको कार्यकारी अध्यक्षमा सञ्चार उद्यमी एवं कामना प्रकाशन गृहका प्रमुख कार्यकारी दिरेकलाल श्रेष्ठ रहेका छन् ।
प्रबन्ध निर्देशकमा अर्का सञ्चार उद्यमी चेङ अग्रवाल रहेका छन् । नयाँ व्यवस्थापनले यस ईमेज च्यालन टेलिभिजनमा सुरुवाती दिनदेखि कार्यरत जगदीश खरेललाई समाचार प्रमुखको जिम्मेवारीसमेत प्रदान गरेको जनाएको छ । काठमाडौंको लाजिम्पाटस्थित ईमेज च्यानलको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा ईमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष आरके मानन्धरले नयाँ व्यवस्थापनलाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
समारोहमा अध्यक्ष मानन्धरले युवा सञ्चार उद्यमीहरूको काँधमा जिम्मेवारी बिसाउन पाउँदा आफूलाई सन्तोष लागेको बताए । नवनियुक्त कार्यकारी अध्यक्ष श्रेष्ठले ईमेज च्यालन टेलिभिजनको छविको ख्याल गर्दै कम्पनीलाई अघि बढाउने बताए ।
आफूले नेपालको कामना प्रकाशनबाट नैतिकतासहितको पत्रकारिता सिकेको उल्लेख गर्दै श्रेष्ठले अमेरिका र नेपालमा गरी आफ्नो साढे दुई दशक लामो छापा माध्यमको अनुभव र ईमेजको तीन दशकको गर्विलो इतिहासलाई एकाकार गरेर नयाँ उचाइमा पु-याउने अठोट व्यक्त गरे । ‘व्यवस्थापन परिवर्तनसँगै अब छापा माध्यम पनि हामीसँग जोडिएको छ, १५ मंसिर २०४१ देखि निरन्तर सञ्चालनमा रहँदै आएको नेपालको पहिलो संस्थागत प्रकाशन गृह कामना प्रकाशन गृह अब हाम्रो भगिनी संस्थाका रूपमा जोडिएको छ,’ नवनियुक्त अध्यक्ष श्रेष्ठले भने ।
टेलिभिजन, रेडियो, अनलाइन र छापा गरी चारवटै माध्यमबाट अझ सशक्त र प्रभावकारी रूपमा प्रस्तुत हुने प्रतिबद्धता पनि नयाँ व्यवस्थापनले जनाएको छ । यसैगरी, नवनियुक्त समाचार प्रमुख खरेलले टेलिभिजनका दर्शक नघटेको तर टेलिभिजन हेर्ने माध्यम फेरिएको बताए । समाचार तथा समाचारजन्य सामग्री सशक्त हुनुपर्ने भन्दै उनले टेलिभिजनलाई आजको प्रविधिसँग जोड्नुपर्नेमा जोड दिए ।






