मेयरमा पराजित भगवती न्यौपाने अहिले मन्त्री

पोखरा । राष्ट्रिय सभामा नेकपा (एमाले) की सांसद भगवती न्यौपाने आफ्नो कार्यकाल सकिनै लाग्दा मन्त्री नियुक्त हुन सफल भएकी छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम न्यौपानेलाई संघीय मामिला तथा सामानय प्रशासन मन्त्री नियुक्त गरेका हुन् । घूसकाण्डको अडियो सार्वजनिक भएपछि मौजुदा मन्त्रिपरिषद्का संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि न्यौपानेलाई उक्त मन्त्रालयको जिम्मेवारी सुम्पिएको हो ।

२०७६ माघ ९ मा भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा तनहुँकी न्यौपाने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट उम्मेदवार थिइन् । उनीसँगै थिए, तत्कालीन नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ । दुवैजनाले त्यसबेला चुनाव जितेर राष्ट्रिय सभा सदस्यको दैलो उघारेका थिए ।

त्यसो त, न्यौपाने २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा भने मेयरमा पराजित भएकी थिइन् । तनहुँको भानु नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उदयराज गौलीसँग पराजित भए पनि उनलाई क्रमशः राष्ट्रिय सभा सदस्य हुँदै अहिले संघीय मन्त्री बन्ने सौभाग्य मिलेको छ ।

राष्ट्रिय सभामा महिला समूहतर्फ ३ हजार ३ सय ६६ मतभार प्राप्त गर्दै उनी निर्वाचित भएकी थिइन् । उनले निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेस उम्मेदवार बिमल गौचनलाई हराएकी हुन् । गौचनको २ हजार ३ सय ४० मतभार थियो । विजयी न्यौपानेले प्रदेशसभातर्फ ३९ मत (१ हजार ८ सय ७२ मतभार) तथा गाउँपालिका÷नगरतर्फ ८३ मत (१ हजार ४ सय ९४ मतभार) गरी कुल ३ हजार ३ सय ६६ मतभार प्राप्त गरेकी थिइन् ।

राष्ट्रिय सभा सदस्य काँग्रेसका सुरेन्द्र पाण्डे र बृन्दा आले रानाको कार्यकाल सकिएपछि त्यसबेला पोखरामा चुनाव भएको थियो ।

मेयरमा पराजित भए पनि न्यौपाने एकाएक उपल्लो सदन राष्ट्रिय सभा सदस्य चुनिएपछि उनको उचाइ चुलिएको थियो नै २०८० फागुन २१ मा एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी पनि पाइन् ।

आजभन्दा ३० वर्षअघि एमालेको सदस्य लिएर पार्टीमा होमिएकी भानु ८, देउरालीटारकी न्यौपाने २०५६ सालमा जिल्ला कमिटी सदस्य निर्वाचित भएकी थिइन् । उनी एमालेको चितवन महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएकी हुन् । अखिल नेपाल महिला संघमा रहेर लामो समय काम गरेकी उनी केन्द्रीय सदस्यसम्म पुगेकी हुन् । उनी मन्त्री बनेपछि धेरै समय पदमा रहीरहने छैनन् । राष्ट्रिय सभा सदस्यमा उनको ६ वर्षको कार्यकाल यही फागुनमा सकिँदैछ ।

तपाइको प्रतिक्रिया
(Visited 349 times, 1 visits today)

epaper

ताजा समाचार

कास्कीको किम्रोङ खोला थुनियो, विशेष सतर्कता अपनाउन आग्रह