काठमाडौं । अग्रज हास्यब्यंग्य अभिनेता एवम् गायक मदनकृष्ण श्रेष्ठ पछिल्लो समय पार्किन्सन्स रोगबाट ग्रसित हुँदै गइरहेका छन् । जसका कारण विभिन्न कार्यक्रममा पुगेर उनले मन्तव्य दिने कार्यलाई निरन्तरता दिए पनि उनको बोली अस्पष्ट हुन थालेको छ । पार्किन्सन्सले गर्दा उनलाई बोल्न हिजोआज निकै गाह्रो हुने गरेको छ । बोल्दा उनको जिब्रो लर्वरिन्छ । तर गीत गाउन दिँदा आफूले केही दिन अभ्यास गरेर राम्ररी गाउन सकेको उनी बताउँछन् ।
उनी गीत गाउन मात्र हैन, छायांकनको बेला चलचित्रको संवाद पनि राम्ररी बोल्न सक्छन् । शुक्रवार अपराह्न गायिका देवीका वन्दनाको नयाँ गीत सोलुकी मैच्याङको विमोचन समारोहमा विशिष्ट अतिथिको रूपमा उपस्थित मदनकृष्णले पार्किन्सन्स सम्बन्धी आफ्नो समस्या सुनाए ।
उनले कार्यक्रममा भने,‘जब कार्यक्रममा पुगेर माइकमा बोल्न थाल्छु । जिब्रो लर्वरिएर अर्कै प्रकारको अस्पष्ट आवाज आउँछ र भनेको कुरा स्पष्ट बोल्न सक्दिन’, जसका कारण आफूले बोलेको कुरा दर्शकले बुझ्नु भयो की बुझ्नु भएन भनेर आफूलाई चिन्ता लाग्ने गरेको पनि उनले बताए । त्यसैले आफूले बोलेको कुरा दर्शकले बुझेकी बुझेनन् भनेर उनले सोध्ने गरेका रहेछन् ।

सो कार्यक्रममा दर्शकले बुझेको जवाफ दिँदा उनले हाँस्दै यसो भने, ‘मलाई थाहा छ की मैले राम्रो सँग स्पष्ट नबोल्दा यहाँहरूले नबुझे पनि बुझेको जस्तो गरेर सुनिदिनु हुन्छ । यहाँहरूले माया गरिदिनु हुन्छ, जसका लागि म कृतज्ञ छु र मलाई यो मायाले काम गर्न हौसला मिल्ने गरेको छ’, सबैको माया यसरी नै सधैँ पाईरहुँ भन्ने चाहना पनि उनले व्यक्त गरे ।
आफ्नो स्वास्थ्य समस्या’bout थप प्रकाश पर्दै कलाकार मदनकृष्णले भने,‘हिजो आज हिँड्न गाह्रो हुन्छ भने बोल्दा खेरी आधा अधुरो बोल्छु । स्टेजमा बोल्दा कहिले के कहिले के भई रहन्छ’, त्यै पनि बोल्नु पर्छ भनेर नै आफूले बोल्न नछाडेको पनि मदनकृष्ण श्रेष्ठले बताए ।
हिजो आज आफूले नसुती नसुती अबेर रातसम्म काम गर्न थालेको पनि उनले जानकारी गराए । आफू लामो समयदेखि निको नहुने रोग पार्किन्सन्सबाट ग्रस्त भएको स्मरण गराउँदै उनले भने,‘मलाई पार्किन्सन्स रोग सुरु भएको १८÷१९ वर्ष अघिबाटै हो र मैले सक्दै उपचार पनि गर्दै आएको छु । त्यै पनि अली अली गर्दै बिस्तारै यो रोगले गाँज्दै गएको भए पनि रोगसँग डटेर जति सक्छु त्यति कामहरू मैले गरिरहेको छु ।’
निर्देशक तुलसी घिमिरेले उनलाई केही महिना अघि चलचित्र ‘‘पहाड’’मा अभिनय गर्ने प्रस्ताव राखेका थिए । त्यसलाई स्विकारेर आफूले सकी नसकी चलचित्र पहाडको छायांकन सम्पन्न गरेको उनले बताए । छायांकनमा डेढ महिनासम्म डाँडा काँढा चढेर बिस्तारै भए पनि हिँडेर आफूले काम गरेको जानकारी गराउँदै उनले भने, ‘हिँड्दा केही गाह्रो भयो, त्यस कारण वैशाखी टेकेर गरौँ भन्ने सुझाव आएपछि मैले वैशाखी टेकेर भए पनि चलचित्र पहाडमा काम गरेँ ।’
उनले दीपक आचार्यको नयाँ चलचित्र ‘‘परान’’को छायांकन पनि सम्पन्न गरेका छन् । धनकुटाको हिले भन्दा माथिको गाउँमा गएर यसमा काम गरेको जानकारी गराउँदै उनले भने,‘ गोरखा र धनकुटाको निकै राम्रो ठाउँहरूमा पुगेर सुटिङ गर्दा यसपालि रमाइलो भयो । यसरी दुई वटा चलचित्रको छायांकन सकेको छु ।’
अहिले उनी नयाँ गीतहरू रेकर्ड गर्दै छन् । केही गीत आफूले पनि लेखिरहेका छन् । टेली चलचित्रको लागि स्क्रिप्ट पनि लेखिरहेका छन् । जिन्दगी रहुन्जेल जति सक्दो आफूले काम गर्ने कलाकार मदनकृष्णले बताए । उनी पार्किन्सन्स भयो भनेर खुम्चेर बस्न चाहँदैनन् । आफ्नो शरीरलाई भ्याएसम्म टाठो बनाएर काममा सक्रिय हुन चाहन्छन् । अनि जति सक्दो धेरै बाँच्ने र धेरै भन्दा धेरै काम गर्ने चाहना पनि उनले व्यक्त गरेका छन् । शरीरलाई जति सक्दो टाठो र फुर्तिलो बनाउँदा रोगको असरको महसुस धेरै नहुने उनको कथन छ ।
हिँड्न र बोल्न केही गाह्रो भए पनि उनी अझै राम्ररी लेख्न सक्छन् । अहिले पनि गायन सम्बन्धी नियमित अभ्यास गर्ने यी कलाकार अभ्यासकै कारण गीत रेकर्ड गर्दा राम्ररी गाउन सक्छु भन्छन् । उनी धेरै भन्दा धेरै कलाकारहरूसँग अभिनय र गायनमा सहकार्य गर्न चाहन्छन् । बाँचुन्जेल धेरै काम गर्ने चाहना आफ्नो भएको पनि उनले बताएका छन् ।






