सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदमुक्त गरेपछि कर्णाली प्रदेश र मातहतका कमिटीले आपत्ति जनाएका छन् । अध्यक्षको निर्णयविरुद्ध कर्णाली प्रदेशका बहुसंख्यक नेता कार्यकर्ताहरू गिरीको पक्षमा एकढिक्का देखिएका छन् ।
– अध्यक्ष लिङ्देनको निर्णयविरुद्ध कर्णाली भूगोल भएका पदाधिकारीदेखि स्थानीय कमिटी एकढिक्का
– सुर्खेत पार्टी कार्यालयमा तालाबन्दी
कर्णालीका ९ जिल्लाका अध्यक्षहरूले संयुक्त वक्तव्य जारी गर्दै कारबाही फिर्ता लिन माग गरेका छन् । यसले कर्णाली प्रदेशमा पार्टी कमजोर बन्ने भन्दै अवैधानिक रूपमा गरिएको कारबाही सच्याउनुपर्ने उनीहरूको माग छ । कारबाही फिर्ताको अपिल गर्नेहरूमा जाजरकोट अध्यक्ष कृष्णविक्रम शाह, दैलेख अध्यक्ष भक्तबहादुर शाही, कालिकोट अध्यक्ष हंसबहादुर मल्ल, मुगु अध्यक्ष राजबहादुर मल्ल, जुम्ला अध्यक्ष वेदबहादुर शाही, रुकुम पश्चिम अध्यक्ष विनोदकुमार शाह, हुम्ला उपाध्यक्ष प्रेमबहादुर रावत र सुर्खेत उपाध्यक्ष अञ्जु बस्याल छन् । सल्यानमा अध्यक्ष चयन हुन बाँकी छ । पदमुक्त गरिएका उपाध्यक्ष गिरी सुर्खेत वीरेन्द्रनगर निवासी हुन् ।
राप्रपाको युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनले गिरीको कारबाही फिर्ता नलिएको र जिल्ला अध्यक्ष कविराम पुरीले स्थानीय कार्यकर्ताको भावनालाई आत्मसाथ नगरेको भन्दै सोमबार सुर्खेत जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । गिरीमाथि कारबाही हुँदा राप्रपाको कर्णाली प्रदेशको राजनीति तरंगित बनेको छ ।
गिरी पार्टीको स्थापनाकालदेखि सक्रिय रहेका थिए । राप्रपाको स्थापनाकै दिन १५ जेठ २०४७ देखि आबद्ध भएका उनी पछिल्लो समय पार्टीको केन्द्रीय उपाध्यक्ष, कार्यसम्पादन समितिको सदस्य र केन्द्रीय निर्देशन समितिको सदस्यसमेत थिए । २०४३ सालमा प्रधानपञ्च र २०५८ सालमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको नगरप्रमुख भएका थिए ।
त्यस्तै, उपाध्यक्ष गिरीलाई पदमुक्त गर्ने निर्णयप्रति राप्रपा कर्णाली प्रदेश भूगोल भएका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले शनिबार आपत्ति जनाइसकेका छन् । पार्टी स्थापनाकालदेखि निरन्तर सक्रिय रहँदै आएका निष्ठावान् नेतालाई कुनै पूर्वसूचना वा स्पष्टीकरणबिनै पदमुक्त गरिनुले गम्भीर ध्यानाकर्षण भएको अपिलमा उल्लेख छ ।
कर्णाली प्रदेश अध्यक्ष दीपबहादुर शाही, महामन्त्री कुन्तिकुमारी शाही, सहायक महामन्त्री सौरेन्द्रबहादुर शाह, सुर्खेत–काठमाडौं सम्पर्क समाजका अध्यक्ष टीका योगी तथा केन्द्रीय सदस्यहरू सत्यबहादुर शाही (कालिकोट), कालीबहादुर शाही (हुम्ला), सुनिता शाह (सुर्खेत), यज्ञबहादुर सिंह (जाजरकोट), जनकसिंह ठकुरी (सुर्खेत), भीमबहादुर शाही (जुम्ला), अनुपमसिंह श्रेष्ठ (सल्यान), दीपक मल्ल (रुकुम पश्चिम), दीपक खनाल (जाजरकोट), बबिता शाही (दैलेख), धनसुर शाही (कालिकोट) र आमन्त्रित केन्द्रीय सदस्य अमर गिरी (सल्यान)ले सामूहिक अपिल जारी गरेका थिए ।
गिरीमाथिको कारबाहीविरुद्ध लिएर चार जना पदाधिकारीले ऐक्यबद्धता जनाइसकेका छन् भने गिरीले अवैधानिक कारबाही खारेजीको माग गर्दै आइतबार निर्वाचन आयोगमा उजुरी दिएका छन् ।
अध्यक्ष लिङ्देनको कार्यशैलीविरुद्ध गिरीसँगै वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय डा. धवलशमशेर राणा र कुन्तिकुमारी शाहीले संयुक्त वक्तव्य जारी गरी प्रश्न उठाएका थिए । आफैंले मनोनीत गरेका उपाध्यक्षले आफ्नो विरुद्धको मोर्चाबन्दीलाई साथ दिएपछि लिङ्देनले गिरीलाई कारबाही गरेको बताइएको छ ।
गिरीलाई हटाएको निर्णयप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय राणा र शाहीले विधानविपरीत उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट पदमुक्त गर्नु पार्टी जीवनमा दुखद् घटनाक्रम रहेको टिप्पणी गरेका छन् । ‘एकता महाधिवेशनको म्यान्डेट आत्मसात् गर्दै पार्टीको सर्वोपरि हित र एकताको पक्षमा सामूहिक सार्वजनिक अपिल गरेकै कारण गिरीलाई निकाल्नु आपत्तिजनक छ,’ शीर्ष तीन नेताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विधानको व्यवस्था र गरिमा अवमूल्यन गर्दै प्राकृतिक कानुनको सिद्धान्तअनुरूप स्पष्टीकरणको मौकासमेत नदिई वैधानिक व्यवस्था र प्रक्रियाको उल्लंघन गर्दै पदमुक्त गर्ने र पार्टीको प्रजातान्त्रिक छविमा आँच ल्याउने स्वेच्छाचारिता अस्वीकार्य छ ।’






