दाङ । प्रदेश सरकार गठन भएको एक वर्ष पूरा गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ७६ बुँदे उपलब्धि सार्वजनिक गरेका छन् । देउखुरीमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकार संघीय प्रणालीको अपरिहार्य अंगका रूपमा संस्थागत हुँदै गएको उल्लेख गरे । “हामीले सुशासनलाई कार्यान्वयनको मूल धुरी बनाएका छौं,” मुख्यमन्त्री आचार्यले भने, “राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार, र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति हासिल गरेका छौं ।”
मुख्यमन्त्रीका अनुसार चालू खर्च कटौती गर्दै विकास निर्माणमा ध्यान केन्द्रित गरिएको छ। पाँच वर्षे रणनीतिक योजना अन्तर्गत थालिएका कामहरू क्रमशः परिणाममुखी हुँदै गएको दाबी गरिएको छ ।
सुशासनलाई व्यवहारमा उतार्न ‘मुख्यमन्त्री ड्यासबोर्ड’ सञ्चालनमा ल्याइएको छ, जसले मन्त्रालय र मातहतका कार्यालयहरूको कार्यसम्पादन मूल्यांकन तथा अनुगमन गर्न सहयोग गर्नेछ ।
त्यस्तै, कृषि क्षेत्रमा ‘किसान एप’ को सुरुवात गरिएको छ। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीद्वारा उद्घाटन गरिएको उक्त एपले किसानहरूलाई कृषि जानकारी तथा सेवा पहुँचमा सहयोग गर्नेछ । दुबै प्रविधि उपकरण प्रदेश सूचना तथा संचार प्रविधि प्रतिष्ठानले निर्माण गरेको हो ।
प्रदेश सभाका सभामुख तुलाराम घर्तिमगरले लुम्बिनीले कानुन निर्माणमा उल्लेखनीय प्रगति गरेको बताएका छन्। उनले जनतालाई प्रत्यक्ष लाभ पुग्ने किसिमले पारदर्शी ढंगमा काम भएको उल्लेख गर्दै सामाजिक न्यायसँग सम्बन्धित बाँकी कानुनहरू चाँडै पारित हुने जानकारी दिए । उनको भनाइमा,“जनताको भावना र पहिचानसँग जोडिएका सम्पदाहरूको संरक्षण र प्रवद्र्धनमा सरकारले अझ संवेदनशील हुनुपर्छ ।”
कार्यक्रममा अभौतिक सांस्कृतिक सम्पदाहरूको पुस्तक विमोचन समेत गरिएको छ। उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने र मुख्यमन्त्री आचार्यले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन ्।






