काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेमै आबद्ध रहेको र रहिरहने घोषणा गरेकी छन् । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले नेपालको संविधानका विभिन्न धाराको सहारा लिएर पूर्वराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन नमिल्ने निर्णय गरिसकेको छ ।
पत्रकार सम्मेलन गरेर उनले यो निर्णय सञ्चारमाध्यमबाट र विभिन्न नेताले सञ्चारमाध्यममा दिएको अन्तर्वार्ता हेरेर थाहा पाएको बताउँदै आफू एमालेभन्दा बाहिर नभएको र हुन पनि नसक्ने घोषणा गरेकी हुन् ।
एमाले केन्द्रीय कमिटी बैठकले उठाएको संवैधानिक तर्कलाई उनले अस्वीकार गर्दै संविधानका कुनै पनि धाराले आफूलाई सक्रिय राजनीतिमा आउन नछेक्ने दाबी गरिन् ।
बबरमहलबाट विद्याका १० सन्देश
१. म एमालेमै छु, एमालेमै रहन्छु
२. संविधानले मेरो राजनीतिक हक खोस्न दिँदैन मिल्दैन
३. वैचारिक रूपले सशक्त र सांगठनिक रूपले बलियो पार्टी बनाउने हो
४. सदस्यता होल्ड पार्टीको आन्तरिक मामिला हो पुनः छलफल हुन्छ
५. राजनीतिमा आएको ४५ वर्ष भयो, सनकको भरमा कसैले सदस्यता खोस्न सक्दैन
६. एमालेमा मेरो रगत पसिना र मिहिनेत छ
७. जबजको मार्गदर्शनअनुसार अघि बढ्छु
८. कार्यकर्ता विचलित नहुनू, दायाँबाँया नगर्नू
९. उमेर हद र नेतृत्वको कार्यकाल’bout अहिले बोल्दिनँ
१०. पदप्रति, लालसा, महत्वाकांक्षा र आशक्ति छैन
राजनीतिक दलमा आबद्ध हुने आफ्नो स्वतन्त्रतालाई संविधानले बरु मौलिक हककै रूपमा अंगीकार गरेको उनको भनाइ छ ।
एमालेको निर्णयपछि आफ्ना धारणा सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनको ब्यानरमै उनले जनताको बहुदलीय जनवाद जिन्दावाद र नेकपा (एमाले) जिन्दावाद लेखेकी छन् ।
पत्रकारहरूले खचाखच भरिएको अस्तव्यस्त हलबाट भण्डारीले एमालेको आफ्नो सदस्यता रोक्न मुठीभर शक्ति लागेको गम्भीर आरोप पनि लगाइन् ।
उनले मुठीभर व्यक्तिले उत्तेजनाका भरमा एमालेको सदस्यता रोक्न नसक्ने भन्दै यो निर्णय पार्टीको आन्तरिक मामिला भएको र त्यसमा पार्टीले छलफल गर्ने बताइन् ।
उनले आफू अहिले पनि एमालेमै रहेको पटकपटक दोहो¥याउँदै पार्टीमा आफ्नो रगत पसिना र मिहिनेत रहेको बताइन् । उनले आफू जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तबाट विचलित हुन नसक्ने बताउँदै एमालेको या सैद्धान्तिक जगबाट टाढा नहुने पनि बताइन् ।
आफ्नो सदस्यता होल्ड गर्ने पार्टीको आन्तरिक मामिला भएकाले यसमा पुनः छलफल हुने बताएकी उनले पार्टीले आफूलाई अन्याय गर्न नसक्ने बताइन् । ४५ वर्षअघि मदन भण्डारीले विराटनगरमा आफूलाई पार्टी सदस्यता दिएको स्मरण गर्दै उनले एमालेमै रहिरहने र कार्यकर्ता विचलित नहुन, दायाँबाँया नगर्न आग्रह पनि गरिन् ।
उमेर हद र नेतृत्वको कार्यकाल’bout अहिले रहस्यमय ढंगले मौन देखिएकी भण्डारीले यससहित पार्टी जीवनका धेरै आन्तरिक र बाह्य विषयमा छलफल गर्दै जाने बताइन् ।
पदप्रति, लालसा, महत्वाकांक्षा र आशक्ति नभएका कारण आफूलाई पदका लागि मरिहत्ते गरेको भनेर लगाइएको आरोपको खण्डन गरेकी भण्डारीले कुनै नेतालाई आक्षप लगाउने या व्यक्ति विषेशप्रति असन्तुष्टि पोख्नेलगायतको कामसमेत पत्रकार सम्मेलनमा गरिनन् । बरू उनले भनिन्, ‘पार्टी निर्णयपछि पनि म अत्यन्त संयमित छु ।’






