काठमाडौं । नरबहादुर कर्माचार्य नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता हुन् । एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले शुक्रबारको पत्रकार सम्मेलनमा के बोल्छिन् भनेर धेरै कम्युनिस्ट नेता र कार्यकर्ता कान थापेर बसे ।
तर, तीमध्ये धेरै कमले मात्र संस्थापक नेता कर्माचार्यको शुक्रबार स्मृति दिवस हो भनेर थाहा पाए । कर्मचार्य ९ साउनमा जन्मिए ।
नेपालको कम्युनिस्ट आन्दोलनमा ठूलो योगदान गरेका यी नेतालाई कम्युनिस्टहरूले बिर्सिए पनि समाजवादी आन्दोलनमा होमिएका कर्मचार्यजस्ता थुप्रै नेतासँग साउनको सुखद र दुखद संयोग छ । धेरै संस्थापक नेताको मृत्यु साउनमै भएको छ ।
९ साउनमा मृत्यु भएका कर्माचार्यको कम्युनिस्ट पार्टीलाई सर्वहारा, किसान मजदुर वर्गको साझा पार्टीका रूपमा चिनाउन योगदान छ ।
गत ६ साउनमा थियो बीपी स्मृति दिवस । विश्वेश्वरप्रसाद (बीपी) कोइराला नेपालमा समाजवादको शंखघोष गर्ने एक युगपुरुष हुन् । उनको ४३औं स्मृति दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइयो । बीपी नेपाली कांग्रेसका नेता भए पनि समाजवादको स्वप्नद्रष्टाका रूपमा सबैले सम्झन्छन् ।
७ साउनमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस थियो । नेपालका सबै कम्युनिस्ट पार्टीले पुष्पलाललाई साझा नेताका रूपमा मान्ने गरेका छन् । सबै कम्युनिस्ट पार्टीले पुष्पलाललाई सम्झेर समाजवादको सपना दोहो-याउँछन् ।
आगामी १७ साउनमा नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशनबाट निर्वाचित महासचिव तुलसीलाल अमात्यको स्मृति दिवस छ ।
नेकपा एमालेले हाल कार्यालय राखिरहेको तुलसीलाल स्मृति भवन तिनै पूर्वमहासचिव अमात्यको स्मृतिमा गठन भएको प्रतिष्ठानको स्वामित्वमा रहेको भवन हो । यही कार्यालयमा अमात्यलाई सम्झेर नेपालमा कम्युनिस्ट पार्टीहरूको विस्तारमा उनको योगदान र प्रजातान्त्रिक विचारको स्मरण गरिँदै छ ।
नेताहरूको मृत्यु भएकै कारण मात्रै साउन र समाजवादको कुनै साइनो त नहोला तर इतिहासले निर्माण गरेको संयोग भने चाखलाग्दो छ । समाजवाद पक्षधरहरूका लागि साउनले सम्झाएको यस संयोगले भने स्मरणीय बनाउने नै छ ।
समाजवादी नेताहरूको साउन संयोगको चर्चा यसै निस्केको होइन । ललितपुरको च्यासलमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकमा गत सोमबार र मंगलबार यस्ता केन्द्रीय सदस्यहरू देखिए कोहीले साउन ’boutका त कोही सोमबारको व्रतमा । दोस्रो दिन मंगलबारका कारण शाकाहारी ।
आफूलाई भौतिकवादी र नास्तिक भन्ने कम्युनिस्टहरूमा देखिएको यो ‘साउने संस्कार’ तन्किँदै साउन शिवको महिना मात्र नभई समाजवादीको पनि महिना हो भन्नेतिर तन्किएको देखिएको छ ।
खानपान र साउने संस्कार ’boutका नेताहरूले यो संस्कार र मान्यतालाई एमाले नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि दिएको अभिव्यक्तिसँग पनि जोडेर हेर्न थालेका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले केहीअघि शिव नेपालकै भएको र चाम्लिङ हुनसक्ने बताएको सन्दर्भसँग जोड्दै एमाले नेताहरूले बैठकस्थलमै शिव कम्युनिस्ट हुनसक्ने लख काट्दै अध्यक्षमाथि व्यंग्यसमेत कस्न भ्याए ।
समाजवादका अनुयायी सर्वहाराका नेता र आफ्ना वर्गको हितका लागि कालकुट विष पिउन तयार अहिले पनि कोही नेता बन्छ भने त्यो कालान्तरमा शिवजस्तै भगवान्का रूपमा पुजिन्छ भन्दै एमाले अध्यक्षप्रति व्यंग्य कस्ने नेता पनि च्यासल वरिपरि नै थिए ।
साउनमा विशेष सम्झिइने भगवान् शिव प्रसंगसँग जोडेर ओलीप्रति व्यंग्य र भरोस जे गरे पनि समाजवादमा विश्वास राख्नेका लागि आफ्ना संस्थापक नेता सम्झने गज्जबको संयोग पनि बनेको छ, साउन महिना ।






