सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलाका ४२ वर्षीय दानसिंह ठाडाले श्रीमती रबिना थापाको चिर्पटले हानेर विभत्स हत्या गरेका छन् । दानसिंले आइतबार बिहान १ बजे श्रीमती सुतेका बेला खाट बनाउन तयार पारिएको काठको चिर्पटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
श्रीमतीको हत्या गरेलगत्तै उनले वडाध्यक्ष दीपक कोइरालालाई फोन गरेर प्रहरीको नम्बर मागेका थिए । फोनमा प्रहरीलाई श्रीमती हत्या गरेको जानकारी दिँदै आफूलाई पक्राउ गर्न बोलाएका थिए । प्रहरीलाई भनेका थिए, ‘सर मैंले मेरो श्रीमती मारिसकेँ, मलाई पक्राउ गर्न आउनुस् ।’ त्यस क्रममा उनले प्रहरीलाई घरको लोकेशनसमेत बताएका थिए । अस्थायी पोष्ट करेखोलाबाट प्रहरी दानसिंलाई पक्राउ गर्न २ बजेतिर घटनास्थल पुगेको थियो । उनी नेपाली सेनाबाट अवकाश प्राप्त हुन् । उनीहरुका एक छोरा र तीन छोरी छन् । छोरा वैदेशिक रोजगारीका लागि दुबईमा छन् भने जेठी छोरी जापान र अन्य दुई विवाहित छोरी सुर्खेत र दैलेखमा छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले प्रारम्भिक सोधपुछका आधारमा श्रीमान श्रीमतीबीच आपसी आशंका रहेको र मदिरा सेवन गरी दानसिंले हत्या गरेको जानकारी दिए । ‘घरासयी विवाद, सम्बन्धमा आशंका बढ्दै गई हत्याको मानसिकतामा पुगेको देखिन्छ, मानसिक रोगको औषधि पनि सेवन गरिरहेको पाइयो,’ उनले भने, ‘विस्तृत अनुसन्धान हुँदैछ, उनीहरुको विवाद के हो ? किन उनी हत्याको अवस्थासम्म पुगे भन्ने ’bout अनुसन्धानपछि नै खुल्नेछ ।’ दानसिंविरुद्ध मृतक रबिनाका दाईले आइतबार जिल्ला प्रहरीमा जाहेरी दिएका छन् ।






