काठमाडौं । चीनको तिब्बत क्षेत्रमा रहेको ल्हेन्दे खोलामा आएको बाढीका कारण त्रिशूली नदीको किनारमा रहेको रसुवाको उत्तरगया गाउँपालिका प्रभावित भएको छ । बाढीको बढ्दो प्रभावका कारण गाउँपालिकाको प्रशासकीय कार्यालय भवन नै सार्नुपर्ने भएको छ । २४ असार र १४ साउनमा आएको बाढीका कारण कार्यालय परिसरमै खोलो आइपुगेपछि गाउँपालिका भवन सार्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले बताएका छन् ।
नुवाकोट र रसुवाको सिमानामा रहेको उत्तरगया धाम क्षेत्र र गाउँपालिका परिसर डुबान र कटानबाट प्रभावित भएपछि नदी किनार क्षेत्र विपद् प्रभावित क्षेत्रका रूपमा रहेको अध्यक्ष अर्यालले बताए ।
जिल्ला प्रशासन कार्यालय तथा सरोकारवाला निकायको स्थलगत निरीक्षण र समन्वयपछि गाउँपालिकाको विस्तारित बैठकले कार्यालय सार्ने निर्णय गरेको अध्यक्ष अर्यालले बताए ।
गाउँपालिकाको निर्णयअनुसार गाउँपालिकाको केन्द्रका रूपमा रहेको ठाउँ आसपास नै कार्यालय खोज्नुपर्ने भएकाले भाडामा कार्यालय खोज्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अर्यालले बताए ।
बाढीका कारण गाउँपालिकासँगै पालिका क्षेत्रमा भएका जलविद्युत् आयोजनामा पनि क्षति भएकाले पालिकाले आफ्नो कार्यालय भवनसँगै विपद् प्रभावित क्षेत्रहरूका लागि समन्वयमा काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ दाहालले बताए ।
भिरालो जमिनमा कार्यालय बनाउन नसकिने र सार्वजनिक जग्गाहरू लाङटाङ मध्यवर्ती क्षेत्रसँग जोडिने हुँदा दीर्घकालीन कार्यालय भवन बनाउन कठिन भइरहेको अध्यक्ष अर्यालले बताए । २०७२ सालको भूकम्पपछि नेपाली सेनाले निर्माण गरेको त्रिशूली किनारमा रहेको अस्थायी टहरामा गाउँपालिकाको कार्यालय सञ्चालन भइरहेको थियो ।






