कृषि र पर्यटनबाटै समृद्धिको बाटोमा छ बागमती सरकार

स्थानीय तह निर्वाचनपछि स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरूलाई नागरिकले आफ्नो प्रतिनिधि अनुभूत गर्न उनीहरूका आवश्यकतालाई सम्बोधन गरेको अवस्था हुनुपर्छ । नागरिकका सन्तुष्टि र जनप्रतिनिधिको सक्रियताको समुच्च रूप स्थानीय तहको सफलता हो । ललितपुरको बागमती गाउँपालिका नागरिकका यी अपेक्षा पूरा गर्न के गरिरहेको छ ? यसै विषयमा राजधानीले अध्यक्ष वीरबहादुर लोप्चनसँग गरेको कुराकानीको अंशः

स्थानीय तहको दोस्रो कार्यकाल पनि आधाजस्तै हुनलाग्यो कस्तो छ गाउँपालिकाको प्रगति ?
स्थानीय तह निर्वाचनपछिको पहिलो कार्यकाल भौतिक, प्रशासनिक पूर्वाधार तथा स्थानीय ऐन कानुन निर्माणलगायतका काममा नै धेरै समय बित्यो । कोरोना महामारीका कारण पनि धेरै समय हामीलाई काम गर्न असहज भयो । नागरिकका अथाह अपेक्षाहरू भएका कारण र सीमित स्रोत साधनका कारण पर्याप्त मागहरू पूरा गर्न त सकेका छैनौं । तर, विशेषगरी ग्रामीण कृषि सडक, स्थानीय आर्थिक विकासका लागि उद्यमशीलता प्रवर्धन, कृषि, पर्यटनलगायतका क्षेत्रमा धेरै काम सुरु भएका छन् । शिक्षा, स्वास्थ्य, लैंगिक समानतायुक्त विकासका सवालमा कामहरूको आधार बनेको छ ।

गाउँपालिकामा जथाभावी सडक खनेका कारण बाढीपहिरो बढेको गुनासो छ । स्थानीय सडक निर्माणमा कार्यक्रम कार्यान्वयन नीति कस्तो छ ?
हामीले करिबकरिब गाउँपालिकाका सातवटै वडाका मुख्य बस्तीहरूमा सडक पु¥याएका छौं । अब हाम्रो सडक विस्तार गर्नुपर्ने अवस्था त्यस्तो उल्लेखनीय छैन । सडक जथाभावी खनेका कारण बाढीपहिरो बढेको कुरामा पनि केही हदसम्म सत्यता छ, तर नागरिकको सबैभन्दा पहिलो आवश्यकता त बाटो नै हो ।

उसको आम्दानीको मुख्य स्रोत भनेकै कृषि हो, अप्ठेरो पर्दा घरसम्म एम्बुलेन्स त पुग्नुप¥यो, त्यसका लागि बाटो सबैको घरसम्म पु¥याउनैपर्ने माग आउँछ । सकेसम्म गाउँपालिकाले सबैको घरमा बाटो पुगोस् भन्ने चाहन्छ पनि । तर, अब भएका सडकलाई गुणस्तरीय बनाउने तिर हाम्रो ध्यान गएको छ । हामी सडकहरूलाई ढलान गर्छौं, ड्रेन व्यवस्था गर्छौं, सडकका आसपास बिरुवाहरू लगाउँछौं, विपद् सम्भावित क्षेत्रमा विपद्बाट जोगिनका लागि पूर्वाधार निर्माण विपद् प्रतिरोधी बनाउने प्रयत्न गर्छौं ।

नागरिकको आम्दानीको स्रोत कृषि त भन्नुभयो, कृषि क्षेत्रको विकासका लागि कस्ता कार्यक्रम सञ्चालन गरिरहनुभएको छ ?
हाम्रो गाउँपालिकामा विशेषगरी कृषि क्षेत्रको विकास नै पहिलो र एक मात्र दिगो आम्दानीको स्रोत हो भन्ने लाग्छ । अहिले पनि विशेषगरी कान्ति लोकपथ क्षेत्रमा साना होटल, होमस्टेलगायतका पर्यटन व्यवसायबाहेक कृषिमै आधारित उद्यमशीलता नै हो स्थानीय अर्थतन्त्रको आधार । अहिले पनि यहाँका किसानले पर्याप्त तरकारी, गेडागुडी, दूध तथा खसीबोका, राँगा पालन गरेर बिक्री गरिरहेका छन् । यस कृषिमा आधारित दिगो र सुदृढ स्रोत हो । यसैलाई आधार मानेर विकासका लागि गाउँपालिकामा संघ, प्रदेश र हाम्रो आफ्नै पालिकाका कार्यक्रमहरूले बाख्रा प्रवर्धन, भैंसी प्रवर्धन, तरकारी प्रवर्धन कार्यक्रम सञ्चालन भइरहेका छन् । अब हरेक वडामा तरकारी तथा दूध संकलन केन्द्रको निर्माण, उत्पादित वस्तुको बजारीकरणका लागि बिचौलियाबेगरको बजार व्यवस्था, कृषि उद्यमीहरूलाई सुलभ र पर्याप्त ऋणको प्रबन्धलगायतका क्षेत्रमा हाम्रो ध्यान जानुपर्छ भन्ने लागेको छ । यसै आर्थिक वर्षबाट रैथाने बाली प्रवर्धनका विभिन्न कार्यक्रम राखेका छौं । विशेषगरी कोदोको प्रवर्धनका लागि कोदो उत्पादनमा अनुदान र आउँदा वर्षबाट किसानलाई कोदोको बीउ वितरण गर्ने कार्यक्रम रहेको छ ।

गाउँपालिकाको पर्यटन क्षेत्रमा कस्तो विकास भइरहेको छ ?
मैले पहिलो कार्यकाल निर्वाचित भएलगत्तै तीनपाने मैरे राडार क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने संकल्पअनुसार सुरु गरेका कार्यक्रमको अहिले परिणाम देखिइरहेको छ । हामीले राडार क्षेत्रमा राम्रो पार्क निर्माण गरेका छौं । उपत्यकाको नजिकै र राजमार्गसँग जोडिएको ठाउँ भएका कारण हामीले राडार क्षेत्रलाई ब्रान्डिङ गरेर पर्यटन प्रवर्धन गर्न सक्ने रहेछौं भन्ने लागेको छ । हामीले निजी क्षेत्रलाई पर्यटनमा लगानी गर्न आकर्षित ग¥यौं । राडार क्षेत्रमा एउटा थ्रीस्टार होटल बन्न सुरु भएको छ । यस्तै, गाउँपालिकाको वडा नं ५ माझखण्डमा केबुलकार र होटल निर्माणको काम सुरु भएको छ । वडा नं ७ मा चमेरेगुफालाई पर्यटकीय ठाउँका रूपमा प्रचारप्रसार गरिरहेका छौं । अब बागमती गाउँपालिकामा दुई दिन बिताउन सक्नेगरी पर्यटकहरू आउनसक्ने अवस्था बनाएका छौं । हामीले विश्वास दिलाएर निजी क्षेत्रलाई आउनसक्ने आधार बनाइदियौं । स्थानीय समुदायलाई सशक्तीकरण गरेर सामुदायिक होमस्टेहरू सञ्चालन गर्न प्रेरित गरिरहेका छौं । पर्यटनमा राम्रो आधार बनेको छ ।

नागरिकलाई सामाजिक सुरक्षासम्बन्धी कार्यक्रममा कसरी जोड्नुभएको छ ?
हामीले सामाजिक सुरक्षाको सुनिश्चितताका लागि हरेक बालबालिकालाई जन्मदर्तासँगै उसको बैंक खाता खोलिदिएर १६ वर्ष पूरा भएपछि मात्रै निकाल्न मिल्नेगरी परिवारका तर्फबाट ५ हजार जम्मा गर्न लगाएर हामीले ५ हजार रुपैयाँ खातामा प्रदान गर्ने नीति लिएका छौं । यसले नागरिकको शिक्षा सुनिश्चित गर्दै छ । स्वास्थ्यको सुनिश्चितताका लागि हरेक परिवारलाई नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रममा जोड्न ५० प्रतिशत प्रिमियम अनुदान दिइरहेका छौं । नेपाल सरकारले एकल महिला, ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरेजस्तै गरी एकल पुरुषलाई पनि प्रतिमहिना १ हजार ५ सय रुपैयाँ भत्ता प्रदान गरिरहेका छौं ।

गाउँपालिकाका युवाहरू अब बाहिरिने अवस्था रोकिएला त ?
शिक्षाकै लागि, स्वास्थ्यकै लागि वा न्यूनतम रोजगारी वा जीवन निर्वाह गर्नै नसक्ने भएका कारण परदेश जानुपर्ने भयो भन्ने अवस्था त आउँदैन । संसारभर नै मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा जाने, नयाँ कुराहरू सिक्ने औसत मानिसहरूको भन्दा स्तरीय जीवनशैली अपनाउने होडबाजीमा छन्, त्यसकारण गाउँबाट सहर पस्ने र सहर बस्नसक्ने हैसियत बनाएपछि विदेश जाने कुरालाई त रोक्न सकिँदैन तर न्यूनतम आवश्यकता पूरा नभएकै कारण परदेसिनुपर्ने अवस्था भने रहँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपामा संघीय सांसदको स्वकीय सचिव बन्न एकाघरका सदस्य वा नजिकका नातेदारलाई पूर्णरूपमा निषेध (परिपत्रसहित)