राजविराज । सप्तरीको राजगढ गाउँपालिका २ कमलपुरमा प्रहरीले चलाएको गोली लागेर लालु प्रसाद यादवको मृत्युपछी उत्पन्न तनाव र थालिएको आन्दोलन बिहीबार स्थानीय प्रशासन तथा आन्दोलनरत पक्षसँग सहमति भएपछी स्थगन गरिएको छ ।
आन्दोलनरत पक्ष र स्थानीय प्रशासनसँग पाँच बुदे सहमति भएपछी आन्दोलन तत्कालका लागि स्थगन गरिएको संघर्ष समितिका संयोजक दिपेन्द्र कुमार यादवले जानकारी दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीबार प्रमुख जिल्ला अधिकारी भोला दाहाल र संघर्ष समिति संयोजक यादव सहित सरोकारबालाहरुको बैठकले पाँच बुदे निर्णय गरेको हो ।
मंगलबार राती राजगढ गाउँपालिका २ कमलपुरमा प्रहरीको गोली लागी सोही पालिका खुवलाल जगन्नाथ शक्ती आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्षसमेत रहेका लालु प्रसाद यादवको मृत्यु भएको थियो । उक्त घटनाप्रति दुःख व्यक्त गर्दै सोको छानविन गरी सत्य तथ्य पत्ता लगाउन उच्चस्तरीय समिति गठनका लागि सम्बन्धित निकायमा अनुरोध गर्ने र क्षतिपूर्ति सम्बन्धमा छानवीन समितिको प्रतिवेदन बमोजिम हुने सहमति भएको छ ।
यस्तै मृतक यादवको शव परिवारजनले बुझी प्रचलित धर्म संस्कार बमोजिम अन्तिम संस्कार गर्ने, कमलपुरमा अवैध मदिरा रहेको सूचनाको आधारमा सर्च तथा बरामदीको लागि खटिएको प्रहरी टोलीको नेतृत्व गर्ने प्रहरी निरीक्षक बिरेन्द्र कुमार यादवलाई घटनाको छानवीन हुँदा सम्म जिम्मेवारीबाट अलग राख्न तालुक निकायमा अनुरोध गर्ने र आन्दोलनरत पक्षहरुले आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गर्ने सर्वपक्षिय बैठकमा सहमति भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
सर्वपक्षिय बैठकमा आफूहरु संग भएको सहमति कार्यान्यवन हुने अपेक्षा राखेको भन्दै संघर्ष समितिका संयोजक यादवले आफूहरुले सारेका मागहरु पुरा नगरिए पुनः संघर्षमा उत्रिने चेतावनी समेत दिएका छन् । सहमति भएसँगै गजेन्द्रनारायण सिंह अस्पतालमा राखिको मृतक लालुको शव परिवारजनलाई बुझाउने प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।







