दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन ।
बालिका बलात्कार आरोपमा पक्राउ पर्नेमा चामुण्डा बिन्द्रासैनी नगरपालिका-८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारी रहेका हुन । जिल्ला प्रहरी कार्यालय, दैलेखका प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार उनीहरूले ती बालिकालाई लखेटेर पालैपालो बलात्कार गरेका थिए।
प्रहरीको दिएको जानकारी अनुसार साउन २२ गते राति तीजको नाच हेरेर साथीहरूसँग घर फर्कंदै गरेकी बालिकाको समूहलाई गोविन्दबहादुर शाही र खगेन्द्र भण्डारीले पछ्याएका थिए । उनीहरूले पछ्याएको चाल पाएपछि किशोरीहरू भागेका थिए, तर आरोपीहरूले उनीहरुलाई लखेट्न छाडेनन्। लखेट्ने क्रममा उनीहरूले एक बालिकालाई ढुङ्गाले हानेका थिए। ढुङ्गा लागेर उनको हातमा चोट लाग्यो र उनी धेरै भाग्न सकिनन्।
ढुङ्गाले लागेर ढलेकी बालिकालाई एकान्तमा लगेर दुवै जनाले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ। घटना लगत्तै भागेर ज्यान जोगाएका अन्य किशोरीहरूले घरमा जानकारी दिएपछि अभिभावक घटनास्थल पुगेका थिए। अभिभावक आएको थाहा पाएपछि आरोपीहरू बालिकालाई बेहोस अवस्थामा छाडेर भागेका थिए।
घटना भएको दिन नै बालिकालाई उपचारका लागि जिल्ला अस्पताल दैलेख पुर्याइएको थियो। चिकित्सकका अनुसार बालिकाको दाहिने हात मर्केको छ र गुप्ताङ्गमा चोट लागेको छ।
पीडित परिवारले गएको शुक्रबार प्रहरीमा जाहेरी दिएपछि सोही जाहेरीका आधारमा आरोपीहरूलाई पक्राउ गरिएको हो। हाल बालिकाको अवस्था सामान्य हुँदै गएको र जिल्ला अस्पताल दैलेखमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।






