काठमाडौं । यस अघि अभिनेत्री रेखा थापा र अर्की अभिनेत्री पूजा शर्माले चलचित्र ‘उपहार’मा सहकार्य गरेका थिए । जसमा रेखा थापा निर्माता र रेखासँगै पूजा अभिनेत्री थिइन् । अब यी दुई अभिनेत्रीले नयाँ चलचित्र ‘छत्तिसको आँकडा’मा सहकार्य गर्ने भएका छन् । यो नयाँ चलचित्रमा पूजा शर्मा नायिकासँगै निर्माताको रूपमा जोडिएकी छिन् । यो चलचित्रको निर्देशकमा सविर श्रेष्ठ रहेका छन् ।
सोमबार पशुपति पुगेकी अभिनेत्री पूजा शर्माले यो चलचित्रको क्लाप बोर्ड पूजा गरेर आफूले चलचित्र निर्माण गर्न लागेको जनाएकी छिन् । चलचित्रको सम्पूर्ण निर्माण तयारी अन्तिम चरणमा पुगेकाले अब यसै साताबाट यो चलचित्रको छायांकन सुरु गर्ने पूजाले बताएकी छिन् । चलचित्रमा महेश त्रिपाठी नायकको रूपमा रहेका छन् ।
यो चलचित्रको यही शनिवार श्रीकृष्ण जन्माष्टमीको अवसर परेर शुभ–मुहूर्त गर्दै चलचित्रको छायांकन उनले सुरु गर्ने भएकी छन् । बाबुराम निरौला र शिवम् अधिकारीको लेखन रहेको यो चलचित्रको काठमाडौँ उपत्यकामा छायांकन गरिने भएको छ ।
दिदी बहिनी बिचको सम्बन्धमा आएको समस्याको कथा यो चलचित्रमा प्रस्तुत गरिने भएको छ । सोही कारण पनि चलचित्रको नाम ‘छत्तिसको आँकडा’ राखिएको यसका निर्देशक सविर श्रेष्ठले बताएका छन् ।
अघिल्लो चलचित्र ‘उपहार’मा रेखा थापा र पूजा शर्माको जोडीलाई दर्शकले मन पराएका कारण यो जोडीलाई फेरी एक पटकसँगै ल्याउन लागेको पनि निर्देशक श्रेष्ठको कथन छ । उनको अनुसार यो चलचित्र आगामी २८ चैतमा रिलिज गरिने भएको छ ।






