राष्ट्रिय गानका रचयिता बनेर ठगी

इटहरी । ‘राष्ट्रिय गानका रचयिता व्याकुल माइला’ भन्दै ठगी गर्ने एक व्यक्ति प्रहरी हिरासतमा पुगेका छन् । राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (व्याकुल माइला) हुन् । तर, उनको नाम भँजाएर ठगी गर्दै हिँडेका उदयपुरको चौदण्डीगढी नगरपालिका–६ का मिलन राई पक्राउ परेका हुन् ।

‘व्याकुल माइला’ दाबी गर्न पुस्तक नै प्रकाशन

आफू व्याकुल माइला रहेको तर प्रदीपकुमार राई नरहेको उद्धृत गर्दै विभिन्न सरकारी कार्यालयमा गएर ठगी धन्दा चलाउँदै आएका उनलाई बिहीबार इटहरीबाट पक्राउ गरिएको हो ।

इटहरी उपमहानगरपालिकामा यसअघि किताब बिक्री गरेको र बिहीबार पैसा माग्न आएको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो । उनी अहिले इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा छन् । राष्ट्रिय गान लेखेको, प्रधानमन्त्री र राष्ट्रपतिबाट समेत सम्मान लिइसकेको भन्दै उनले ठगी धन्दा चलाएको खुलेको छ ।

संगीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसीका अनुसार व्याकुल माइला नाम गरेका व्यक्तिले किताब बेच्दै छन् भनेर व्यापक चर्चा भएपछि दुई महिना अघिदेखि नै खोजी गरिएको थियो । तर, बिहीबार भने इटहरी उपमहानगरमा व्याकुल माइलाले किताबको पैसा लिन आएको भनेर प्रहरीलाई जानकारी गराइएको थियो ।

‘यसअघि विभिन्न कार्यालयमा जाने र किताब बेच्ने गरेको पाइएको छ,’ महासचिव केसीले भने, ‘यसअघि एजेन्ट पठाएर व्याकुल माइलाले पैसा लिन पठाएको भन्दै ठगी गर्ने गरेको पाइएको छ ।’

उनका अनुसार ती व्यक्तिले यसअघि पनि विभिन्न कार्यालयमा जाने किताब छाडिदिने, आफैं राष्ट्रिय गानको रचयिता हो र व्याकुल माइला हो भन्दै ठगी गर्ने गरेको खुलेको छ । खासगरी व्याकुल माइला आफैं रहेको र प्रधानमन्त्री, राष्ट्रपतिले समेत सम्मान गरेको भन्दै ती व्यक्तिले ठगी गर्ने गरेको पाइएको छ ।

‘धेरै अघिदेखि नक्कली व्याकुल माइला बनेर ठगी गरेपछि अचम्मलाग्दो अवस्था भएको थियो,’ केसीले भने, ‘अर्काको प्रतिभा र नाम बेचेर खानु घोर अपराध हो, कानुनी कारबाही हुुनुपर्छ ।’

घटनापछि इलाका प्रहरी कार्यालय इटहरीमा कवि हेमन यात्रीले मिलनलाई भने, ‘व्याकुल माइला मेरो दाइ हो ।’ जवाफमा मिलनले भने, ‘ए हो र ? तपाईंसँग चिनजान भयो खुसी लाग्यो ।’

पक्राउ परेपछि पनि उनले राष्ट्रिय गान आफैंले लेखेको जिकिर गर्दै उनले प्रदीपकुमार राईले भने आफ्नो गीत चोरेको दाबीसमेत गरे । ‘राष्ट्रिय गान कति सालमा लेखेको ?’ भन्ने प्रश्नमा भने उनी अक्क न बक्क बने ।

यसरी खुल्यो रहस्य
मूर्तिकार एवं कलाकार विक्रम श्रीलाई करिब दुई महिनाअघि व्याकुल माइला बोलेको भन्दै फोन आयो । फोनमा आफूले इटहरी उपमहानगरमा किताब बेचेको र पैसा नदिएको भन्दै सहजीकरण गर्न भनियो ।

श्रीले व्याकुल माइला नै बोलेको भनेर विश्वास गरे । ‘पालिकामा फाइल अड्किराखेको छ, म त्यति सानो कामको लागि के आउनु, भाइले पैसा निकालेर मेरो खातामा हालिदिनुहोस् भनेर फोन आयो,’ श्रीले भने, ‘नगरपालिकामा आएर सोधें, किताबसँगै फाइल छाडिएको रहेछ ।’

त्यतिबेला लेखाका कर्मचारी बिदामा थिए । त्यसपछि दोस्रोपटक पनि उनैले फोन गरे । ‘भाइ त्यति काम पनि गर्दिनुभएन त भनेपछि दुःख लाग्यो र नगरपालिका आएर कसरी हुन्छ यो काम गराइदिनुप¥यो भनें,’ उनले भने, ‘फेरि पनि लेखा अधिकृत नभईकन काम नहुने भएको जानकारी आयो, त्यसपछि मैले जसले व्याकुल माइला भनेर फोन गरेको थियो, त्यस नम्बरमा फोन गर्दा लागेन, म्यासेज गर्दा सेन्ड भएन र मैले फेसबुक म्यासेन्जरमा व्याकुल माइलालाई सो कुरा सुनाएपछि रहस्य खुल्यो ।’

अरू व्यक्तिबाट फोन र म्यासेज जान नमिल्ने बनाएका मिलनले सानोतिनो कामका लागि आफू धाइराख्न नभ्याउने र त्यति काम गरिदिनुपर्ने भन्दै फोन गरेका थिए । तर, नक्कली व्याकुल माइला बनेर ठगी गर्दै हिँडेको खुलेपछि कला, साहित्य र संगीतकर्मीहरूबीच हल्ला फैलियो । त्यसपछि पालिका र प्रहरीमा पनि जानकारी गराइयो ।

यसअघि उनले सक्कली रचयिताविरुद्ध चौदण्डीगढीमा निवेदन नै हालेका थिए । प्रहरीले पक्राउ गरी अबदेखि यस्तो काम नगर्ने भनेर छाडिदिएको थियो । तर, उनले पुनः व्याकुल माइलाको नाम बेचेर ठगी धन्दा गरेपछि साहित्यकारहरू आश्चर्यचकित भएका छन् ।

‘धरानको ऐतिहासिक नाट्य समूह अनाम नाट्य समूह, समर्पण नाट्य समूह स्थापना गर्ने नै मै हो भन्ने दाबी गरेका छन्,’ मूर्तिकार श्रीले भने, ‘त्यो कुरा किताबमै प्रकाशनसमेत गरेका छन्, जुन आश्चर्यचकित मात्रै होइन, ठगी हो ।’

व्याकुल भन्छन्ः मानमर्दन भयो
यस’bout लेखक प्रदीपकुमार राई उर्फ व्याकुल माइलाले आफ्नो मानमर्दन भएको बताएका छन् ।

‘मिलन राईलाई मैजस्तो लाग्नु, साथी सर्कलमा भन्नु र राज्यको सर्वोच्च निकायसम्म दाबी गर्नु फरक कुरा हो,’ उनले राजधानीसँग फोन सम्पर्कमा भने, ‘मेरै विरुद्धमा उजुरी दिँदै जानु, स्थानीय सरकारलाई ठग्नु त राज्यविरुद्धको कदम हो, यो सामान्य कुरा होइन ।’

आफूले लेखेको राष्ट्रियगान प्रतिस्पर्धाबाट छानिएको र सो गीत राष्ट्रको सम्पत्ति भएको उनले स्मरण गरे । ‘यसमा कानुनको अनविज्ञता थाहा छैन भनेर छुट दिन मिल्छ मिल्दैन ? एकै व्यक्तिले निरन्तर ७ वर्षदेखि मलाई तनाव दिएको मात्र होइन, मेरो मानमर्दन भएको छ,’ उनले भने, ‘मानमर्दन धान्न कति कुरा त्याग गरेको छु, यसरी हुर्मत लिनु समाजकै अपराध हो, मेरो अपमान हुनु सिंगो राष्ट्रको अपमान हो ।’

यसअघि पनि गरेका थिए बदमासी
मिलनले उदयपुरको चौदण्डीगढीमा ‘राष्ट्रिय गान मैले लेखेको, फलानाले लिइराखेको भत्ता दिलाइपाऊँ’ भनी प्रशासकीय अधिकृतलाई उजुरी गरेका थिए । तर, रचयिता प्रदीपले भने राज्यले पारदर्शी र वैधानिक किसिमले प्रतिस्पर्धा गरेर गीत छनोट गरेको बताएपछि प्रशासकीय अधिकृतले उजुरी लिन मानेनन् । पछि मिलनले नै प्रदीपविरुद्ध राष्ट्रपति कार्यालयमा उजुरी दिए ।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएपछि ७ फागुन २०७५ मा उनलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पत्र जारी गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई जारी गरेको पत्रअनुसार मिलनकुमार वान्तवा राईले प्रधानमन्त्रीलाई नै सम्बोधन गरेर सुविधा माग गरेका थिए । तर, मिलनलाई सम्झाउने, बुझाउने काम भने भएन । पुनः कपीराइटको कार्यालयमा उनैले उजुरी गरे ।

त्यसबेला वीरबहादुर राई प्रमुख थिए । वीरबहादुरलाई प्रदीपले भने, ‘यो मेरो निजी सिर्जना होइन, राष्ट्रले माग्यो, सौभाग्यले मेरो छानियो, राष्ट्रलाई योगदान हो, मेरो नाममा ठगी गर्दै हिँड्ने व्यक्तिलाई के कारबाही गर्ने हो, त्यो अधिकार राज्यलाई नै हुन्छ ।’

सो कार्यालयमा प्रदीप पुगे । ठगी गर्दै हिँड्ने मिलन पनि उपस्थित भए । ‘हामी कवि, लेखक सबै गएका थियौं, सबै कुरा केरकार ग¥यौं, मेरै अघि गीत मैले लेखेको भनेर कन्फिडेन्ससाथ भनेपछि हामी आश्चर्यमा प¥यौं,’ प्रदीपले भने, ‘एउटा कागज लेखेर अब उप्रान्त यस्तो काम नगर्ने भनिएपछि कानुनी कारबाही गरेर छाडिएको थियो ।’

पुनः ६ महिनाअघि सभामुख देवराज घिमिरेको सचिवालयबाट फोन आयो । ‘सभामुखको कार्यालयमा पनि भत्ताको माग गरेर उजुरी गरिएको रहेछ,’ उनले भने, ‘म कार्यालयमै पुगें, पुगेपछि भत्ता माग गरेको खुल्यो, एउटा व्यक्तिले आफ्नो मानमर्दन धान्न कति कुरा त्याग गरेको हुन्छ, यसरी अर्काको मानमर्दन गर्नु मात्रै होइन, राष्ट्रकै हुर्मत लिने काम भएको छ ।’

सरकारले नै राष्ट्रियगानको रचयिता भनेर सरकारी वेबसाइटमा आफ्नो परिचय राख्नुपर्ने उनले बताए । ‘यसअघि सरकारलाई वेबसाइटमा परिचय राख्न भनिए पनि राखिएको छैन,’ उनले थपे, ‘सरकारी कार्यालयको वेबसाइटमा परिचय राख्ने हो भने धेरै व्यक्तिले झुक्किएर ठगिनबाट बच्थे ।’

तपाइको प्रतिक्रिया
(Visited 5,241 times, 1 visits today)

epaper

ताजा समाचार

सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने तयारी