पोखरा । पोखरामा आगामी असोज पहिलो साता पर्वतीय दौड प्रतियोगिता हुने छ । पोखरा क्लीकको आयोजनामा ४ असोजमा पोखरा–२२, पुम्दीभुम्दी दोस्रो पर्वतीय दौड प्रतियोगिता हुन लागेको हो ।
विभिन्न ६ इभेन्टमा हुने प्रतियोगितामा झण्डै साढे २ सय जना धावकले भाग लिने सोमबार पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक दीननाथ बरालले बताए ।
खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ हुने सो प्रतियोगिता ८ किमी दूरीमा हुनेछ । विश्वशान्ति स्तूपबाट सुरु हुने प्रतियोगिता पुम्दीकोटको विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा २२ वडा कार्यालय हुँदै निगालेडाँडास्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर समापन हुनेछ ।
खुला, वडास्तरीय, महिला, यू–१६, भेन्ट्रान्स र विदेशी इभेन्टमा हुने दौडमा भाग लिन चाहने धावकले सोमबार रातिदेखि २५ भदौसम्म अनलाइनमार्फत नाम दर्ता गराउन सक्ने छन् ।
आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशि दोब्बर बृद्धि गरेको छ । खुलातर्फ विजेताले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले ७ हजार, पाँचौले ३ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । छैटौंदेखि १० औं स्थानसम्म पर्नेलाई जनही १ हजार, मेडल र प्रमाणपत्र दिइनेछ ।
वडास्तरीय, महिला र यू–१६ का विजेताले जनही १५ हजार र उपविजेताले ७ हजार, मेडल र प्रमाणपत्र तथा ४० वर्षमाथि भेन्ट्रान्स र विदेशी धावकतर्फ विजेताले जनही १५ हजार प्राप्त गर्ने प्रतियोगिता संयोजक दीननाथ बरालले बताए । उनका अनुसार यसपालि कुल १८ जना पुरस्कृत हुनेमा नगद मात्रै २ लाख ६ हजार खर्च हुनेछ । गत वर्ष खुलातर्फ एपिएफ क्लबका निरोज भट्ट क्षत्री विजयी भएका थिए । उनले नगद २५ हजार प्राप्त गरेका थिए । गत वर्ष बेलायत र ब्राजिलका धावकसहित १०४ जनाले अनलाइन फाराम भरेकामा मौषम खराबीले ७९ जनामात्र दौडिएका थिए ।
विश्व पर्यटन दिवस अवसरमा हुने प्रतियोगितालाई बिस्तारै बृहत् बनाउँदै म्याराथनकै अवधारणामा अघि बढाउने बरालले बताए ।
पत्रकार सम्मेलनमा पोखरा–२२ का वडाध्यक्ष हिमलाल बराल, पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेल, अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, पोखरा २२ वडा युवा परिषद् अध्यक्ष दिनेश बराल, नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष माधव रेग्मी, प्राविधिक पक्ष’bout ओम गुरुङ, पत्रकार असफल गौतमलगायत बोलेका थिए ।






