काठमाडौं । अभिनेता तथा निर्देशक निखिल उप्रेती एक दशकपछि फेरी चलचित्र निर्देशनमा फर्किएका छन् । उनी आफ्नो नयाँ चलचित्र ‘आचार्य’बाट पुन निर्देशनमा फर्किएका हुन् । यसअघि निखिलले २०७२ सालमा चलचित्र ’भैरव’को निर्देशन गरेका थिए । त्यो उनको पहिलो निर्देशन थियो । यति बेला निखिल आफ्नो दोस्रो निर्देशनमा नयाँ चलचित्र ‘आचार्य’ बनाउँदै छन् ।
‘आचार्य’को छायांकनको लागि यो चलचित्रको युनिट मंगलवार भारत प्रस्थान गरेका छन् । अभिनेता एवम् निर्देशक निखिलसहितको निर्माण टिम काठमाडौँबाट पश्चिम बंगाल प्रस्थान गरेको हो ।
अभिनेता तथा निर्देशक निखिलसँगै निर्मात्री अभिनेत्रीद्धय सञ्चिता लुइँटेल, पूर्णिका सिंजापती, छायांकार मनु बिके र कलाकार समेत रहेका मुख्य सहायक निर्देशक सयनम अधिकारी भारत गएका हुन् । यही ६ भदौबाट चलचित्र ‘आचार्य’को छायांकन भारतको ‘डुअर्स’देखि सुरू गरिने भएको छ ।
यो चलचित्रमा निखिलसँगै पूर्णिका सिंजापति, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, विशाल पहारी, सञ्चिता लुइँटेल, उषा उप्रेती सहित बलिउड र दक्षिण भारतीय चलचित्रहरूमा काम गरिसकेका केही चर्चित कलाकारहरू पनि कलाकारको रूपमा रहने छन् ।
यो चलचित्रको डुअर्सबाट पहिलो चरणको छायांकन सुरू हुनेछ । त्यसपछि पश्चिम बंगालको बाग्डोरा, सिलिगुरी र ठाकुरगञ्जमा चलचित्रको छायांकन गरिने निखिलले जानकारी गराएका छन् ।
भारत जानु अघि चलचित्रको बाँकी छायांकन’bout निखिलले भने,’दोस्रो चरणमा मुम्बई, नासिक र झारखण्ड तथा तेस्रो चरणको छायांकन नेपालमा गरिने छ । ६० दिनमा चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।’
निखिलको भनाइमा ‘आचार्य’ एक्सन प्रधान जनरामा निर्माण भइरहेको छ । यही चलचित्रबाट अभिनेत्री सञ्चिताले कोरियोग्राफीमा डेब्यू गर्नेछिन् । नेपाली र हिन्दी भर्सनको एक गीतमा उनले कोरियोग्राफी गर्ने तय भएको छ ।






