जुम्लाका स्याउसँगै फल्दै छ कर्णालीको भविष्य

जुम्ला । वारिपारिका ज्युलोमा मार्सीको बयली । बीचमा तिला नदीको उर्लंदो भेल । अनि डाँडापाखामा लोभलाग्दो गरी फलेका स्याउ बगैंचा । तिला नदीको सुसेलीसँगै खेतमा मार्सी धान हुर्किंदै छ । पाखाका स्याउ बगैंचामा भने किसानको हलचल बढिरहेको छ । यो जुम्लाको वर्तमान हो ।

जब मध्य वर्षायाम आउँछ, तब यसले चुपचाप किसानहरूमा एकाएक हलचल ल्याइदिन्छ । साउन महिनामा फुर्सदिला बनेका जुम्ली किसानलाई भदौ पहिलो साताबाट स्याउ टिप्ने चटारो हुन्छ । जुम्लामा स्याउ टिप्न सुरु भइसकेको छ । वर्षभरिको मिहिनेतबाट आम्दानीको जोडघटाउमा किसान जुटिसकेका छन् । स्याउ परिपक्व भइसकेकाले बेच्न सुरु गरिएको तातोपानी–७ सर्मीका मुनबहादुर कुँवरले बताए ।

‘स्याउ जुम्लाको परिचय बनिसकेको छ, नेपाली बजारमा जुम्लाको स्याउले छुट्टै पहिचान बनाएको छ,’ स्थानीय जनक रावतले भने, ‘जुम्लाको स्याउ विषादीरहित र अग्र्यानिक हुने भएकाले सबैको रोजाइ बनिरहेको छ ।’

जुम्ली स्याउको माग नेपालका ठूला सहर काठमाडौं, पोखरा, सुर्खेत, नेपालगन्ज, विराटनगरमा समेत हुने गरेको छ । जुम्लामा गोल्डेन, रेड, रोयल डेलिसियस जातका स्याउ फलिरहेका छन् ।

जुम्लामा स्याउ सिजनमा सानोतिनो आम्दानी नभएको घर कमै छन् । स्याउ रोपेका हरेक घरले न्यूनतम ५ हजारदेखि लाखौं आम्दानी गर्ने गरेका छन् । जुम्लामा स्याउ मात्रै होइन, कर्णालीको भविष्य पनि फलिरहेको छ । जुम्ला कर्णाली राजमार्गमा जोडिएपछि अभूतपूर्व रूपमा स्याउ खेती फस्टाएको हो ।

कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभर ४ हजार ४ सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । जसमध्ये २ हजार हेक्टरको स्याउ उत्पादनशील छ ।

गत वर्ष जुम्लाबाट १८ हजार ८ सय मेट्रिक टन उत्पादन भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । ‘गत वर्ष स्याउबाटै जुम्लामा ६१ करोड रुपैयाँ भित्रिएको थियो, यस वर्ष उत्पादन घटेको अनुमान छ,’ कृषि विकास कार्यालयका प्रमुख अधिकारीले भने, ‘रोग, कीरा, असिना र खडेरीले उत्पादनमा कमी ल्याएको छ तर उत्पादन कम भए तापनि स्याउको आकार र स्वाद निकै राम्रो छ ।’

भदौ पहिलो साताबाट स्याउ टिप्न दिने निर्णय गरिएको समेत उनले बताए । यसअघि यस वर्ष १५ भदौपछि मात्रै बिक्री वितरणको अनुमति दिने निर्णय गरिए तापनि स्याउ परिपक्व भइसकेकाले पुनः भदौ पहिलो साताबाट टिप्न दिने निर्णय गरिएको उनले जानकारी दिए ।

३८ हजार बिरुवाको एकीकृत बगैंचा
हजारौं एकनासे स्याउका बिरुवा, घना बगैंचामा लटरम्म फलेका स्याउ । यो दृश्य हो, जुम्ला गुठिचौर–५ जलजला स्याउ बगैंचाको । ३८ हजार बिरुवाको लोभ लाग्ने स्याउ बगैंचामा पुग्दा सबै मग्नमुग्ध हुन्छन् ।

जुम्ला खलंगा बजारबाट १५ मिनेट मोटर यात्रा गरेपछि पूर्वको गुठिचौर गाउँपालिकाको जलजलाको विशाल स्याउ बगैंचामा पुगिन्छ । नेपालकै ठूलो दाबी गरिएको यो स्याउ बगैंचामा एकनासका बिरुवामा फलेका स्याउ देख्दा लाग्छ, जुम्लामा केवल स्याउ मात्रै फलिरहेका छैनन्, कर्णालीको भविष्य पनि फलिरहेको छ ।

इटालियन फुजी स्याउको यस बगैंचाले गाउँघरमै सयौंलाई रोजगारी दिइरहेको छ । स्याउ बगैंचामा २२ जना नियमित काम गर्ने कर्मचारी छन् । सिजनमा २ सय जनासम्म स्याउको काममा जोडिन्छन् । परिवारको रेखदेख गर्दै आफ्नै ठाउँमा रोजगारी पाउँदा खुसी लागेको स्थानीय सोमन सार्कीले बताए ।

‘सँगैका साथीभाइ परिवार पाल्नका लागि कोही भारतमा छन्, कोही खाडी मुलुक पुगेका छन्, मैले गाउँघरमै बसेर परिवारलाई रेखदेख गर्दै काम गर्न पाएको छु, घरमा कोही बिरामी पर्दा, समस्या पर्दा आत्तिनुपर्ने स्थिति छैन,’ उनले भने ।

जलजलाको स्याउ बगैंचाले रोजगारीसँगै कृषि पर्यटनलाई समेत जोडेको छ । पर्यटकहरू फूल फुल्ने समय र स्याउ फलेका बेला बगैंचा अवलोकनका लागि पुग्ने गर्छन् । बगैंचाभित्रको देब्रे कुनामा पर्यटकका लागि क्यान्टिन सञ्चालनमा ल्याइएको छ । विभिन्न विद्यालयबाट विद्यार्थी शैक्षिक भ्रमणको सिलासिलामा समेत यहाँ पुग्छन् । पर्यटकहरू पुगेर स्याउ खाने, लैजाने र भिडियो बनाउने, तस्बिर खिच्ने गर्छन् । पुगेकाहरू रमाइरमाइ फर्कन्छन् ।

७० को दशकमा गाउँगाउँमा सानादेखि मझौला स्याउ बगैंचा मात्रै थिए, अहिले उच्च घनत्वका स्याउ बगैंचासमेत थपिएका छन् । जसले रोजगारी सिर्जना गर्नुका साथै कृषि पर्यटनमा नयाँ आयाम थपेको छ । २०७७ सालबाट बगैंचा विस्तारको काम सुरु भएको थियो । हालसम्म आइपुग्दा झन्डै २५ करोड रुपैयाँबराबरको लगानी भइसकेको व्यवस्थापक केसीबहादुर भण्डारीले बताए ।

१५ लाख किलो भण्डारण क्षमताको कोल्डस्टोर तयार
जुम्लामा १५ लाख किलो स्याउ भण्डारण गर्ने कोल्डस्टोर तयार भएको छ । पछिल्लो समय हिमाली जिल्ला जुम्लाले आफ्नो परिचय बदल्दै छ । कुनैबेला रोग, भोग र शोकको पर्याय भनेर चित्रित हुने जुम्लामा एकपछि अर्को चमत्कार भइरहेका छन् ।

अब कैलाश कोल्डस्टोरले १५ लाख किलो स्याउ भण्डारण गर्ने क्षमता विस्तार गरिसकेको छ । जुम्ली स्याउ अब केवल भदौ–असोजमा मात्र होइन, वर्षभरि नै स्वाद लिन पाइनेछ । विगतमा कोल्डस्टोरको अभावमा जुम्लाको स्याउ भदौ–असोजमै जिल्लामा रित्तिन्थ्यो । भण्डारण गर्न नसक्दा भदौ–असोजबाहेक अरू महिनामा खोजेर पनि जुम्लाको स्याउ पाउन सकिँदैनथ्यो ।

चुकेनी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि कोल्डस्टोर सञ्चालन सम्भव बनेको हो । जुम्लामा कैलाश कोल्डस्टोरले किसानको स्याउ भण्डारण गरेर अफ सिजनमा मूल्यवान बनाउनेगरी तयारी थालेको छ । जुम्ला बसपार्क क्षेत्रमा निर्माण भएको कोल्डस्टोरले किसानको आम्दानी बढाउन मद्दत गर्ने सञ्चालक देउऋषि चौलागाईंले बताए । ६ वर्ष लगाएर निर्माण भएको कोल्डस्टोरमा विकल्पका रूपमा सोलारसमेत जडान गरिएको छ ।

कोल्डस्टोरले किसानबाट स्याउ खरिदसमेत गर्ने सञ्चालक चौलागाईंले बताएका छन् । उनका अनुसार किसानले स्याउ भण्डारणसमेत गर्न सक्नेछन्, यसबापत स्याउ भण्डार गरेदेखि बेचुञ्जेलसम्म प्रतिकिलो ५ रुपैयाँ मात्र तिर्नुपर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

epaper

ताजा समाचार

सामुदायिक विद्यालयको जग्गा व्यवस्थापन कार्यलाई अभियानकै रूपमा अगाडि बढाउने तयारी